कस्को पोखरा, कस्तो पोखरा–विश्व सिग्देल पोखरा परिकल्पना

4189 पटक पढिएको

प्रश्तुती–प्रकाश ढकाल
विश्व सिग्देल, समाजशास्त्री । समाजशास्त्र र राजनीति विज्ञानका विद्यार्थी सिग्देल खुल्ला समाज र खुल्ला अर्थतन्त्रको पक्षधर हुन् । उनी नेपाल विद्यार्थी संघ कास्कीका संस्थापक सदस्य हुन् । २०२८ सालमा कास्कीमा पहिलो पटक नेविसंघ गठन भएको थियो । २०५५ सालमा काँग्रेसबाट महाधिबेशन प्रतिनिधी बनेका सिग्देल काँग्रेसको विभाजन पछि प्रजातान्त्रीक काँग्रेसको कास्की सचिव बने ।
पार्टी एकीकरणपछि विस्तारै उनी राजनीतिबाट टाढा भए । त्यसपछि उनको सदस्यता समेत नवीकरण भएको छैन । विस्तारै सिग्देल सामाजिक संघ संस्थामा जोडिन थाले र भद्रकाली बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष बने । अरु विभिन्न संघ संस्थामा पनि उनको आवद्धता छ ।


पोखरा एउटा गाउँ हो । अहिले आर्वा, पुम्दीमा जस्तो गाउँ छ, उस्तै थियो पोखरा । उवेला पोखरामा बस्नेहरु गरिव परिवारका हुन् । धनीहरु आर्वा, पुम्दी, निर्मलपोखरीतिर बस्थे । मुस्कीलले ६÷७ हजार जनसंख्या थियो । मान्छेको त कुरै भएन । उनीहरुको गोठमा भएका गाई बस्तु पनि सजिलै चिनिन्थ्यो । कुनैबेला बैदामदेखि नै गाई गोरु बरालिएर आए भने चौतारीमा बसेकाहरुले फलानोको बस्तु आएछ भनेर खवर पठाउँथे । २०÷२१ सालमा हामीले देखेको विकास गोरुले तान्ने गाडा हो । ढुंगा बोक्थ्यो । एयरपोर्ट बनिसकेको थियो । एयरपोर्टबाट सामान ब्यापारीकोमा पु¥याउँथ्यो । गाडा चलाउने मान्छेलाई फकाएर गाडा चढ्न पायौं भने निकै भाग्यमानी ठान्थ्यौं, भुईँ छोड्न पाए बापत । बिजुली थिएन । सडक यातायात गाडीहरु हामीले देखेकै थिएनौं । हवाईजहाज देखियो आकाशमा उडेको ।
मैले थाहा पाउँदा गुरुङका घर तीनवटा थियो । गोतबहादुर गुरुङ थिए, आर्मीका कर्नेल भएर आएका । अर्मलाबाट आएका नेपाल सरकारका बडा हाकिम र नेता एकजना थिए, श्री प्रसाद गुरुङ । ८ नम्बर वडामा बस्थे । विस्तारै सेनाका लाहुरेहरु सुविधाको खोजीमा बसाइ सरे । गुरुङहरु पोखरा झरेका लाहुर गएपछि नै हो । भारतीय पेन्सन क्याम्प र ब्रिटिश क्याम्प बनेपछि पोखरामा गुरुङको बस्ती झनै बाक्लियो । नेवारहरुको बसाई ब्यापारले बढायो । सुरुमा सिद्धिनारायण शाहले शहर बसाउन भक्तपुरबाट केही नेवारहरुलाई ल्याएका हुन् । अर्काथरी चाहीँ पेरीफेरीबाट झरेका नेवार हुन् । पोखरामा ब्यापारको सम्भावना भएकाले उनीहरु पर्वत, स्याङजा, बागलुङ, तनहुँतिरबाट आएका थिए । अहिले उनीहरु नै जमेका छन्, पोखरामा ।
बाहुन क्षेत्रीहरु चाहीँ कर्मचारी भएर आए । सरकारी कर्मचारी भएपछि ठूला तहका काठमाण्डौं गए । अलि तल्लो तहका कम पैसा कमाउनेहरु पोखरामा बसे । पोखरा सस्तो थियो । सानै पैसामा राम्रै जमिन चर्चिन पाईन्थ्यो । विस्तारै पोखराको माग बढ्दै गयो । पोखरा पर्यटकीय शहर भएकाले अरु मान्छेहरुलाई पर्यटनले पनि तान्यो । पुर्वदेखि पश्चिमसम्मकै मान्छे विभिन्न बाहानामा पोखरा छिरेका छन् । चर्नका लागि पोखरा आएकाहरु फर्किन चाहेनन्, यतै रमाउन थाले । यो पोखरा उनीहरुको पनि हो । म केटाकेटी हुँदा घर अगाडी बट्टाईहरु हुन्थे । जंगली खरायो छोपेर खान्थ्यौं । कुना कप्चेरामा स्यालका गुँड हुँथ्यो । तित्रा कति खाईयो–खाईयो । घरका खापाहरुमा डांग्रे र भँगेराका गुँड थिए । अहिले छैन । यो पोखरा उनीहरुको हो कि हैन ? लण्डनजस्ता देशमा २ सय बर्षदेखि मानिससँगै हिडेका छन् जीवजन्तु । यो वातावरण पोखरामा पनि बन्नुपर्छ । हामी भन्दा हजारौं बर्षपहिले जिबजन्तु बस्न थालेका हुन् । हाम्रो कारणले उनीहरु बसाई सर्ने वातावरण सिर्जना हुनुहुँदैन । वातावरणमैत्री शहर बनाउनुपर्छ । एयरपोर्ट बनाउन पैसा चाहिन्छ । कलकारखाना बनाउन पैसा चाहिन्छ । ठूला रेल राख्न पैसा चाहिन्छ । तर जंगल जोगाउन र वातावरण सुरक्षित राख्न पैसा चाहिँदैन । स्मार्ट सिटी भनेको त्यो हो ।
हरेक शहरको आफ्नै मौलिकता हुन्छ । हाम्रो मौलिकता पनि छुट्टै छ । हाम्रो चरित्र–यो पर्यटकीय शहर हो । निजगढमा एयरपोर्ट बनाउने हो । विरगञ्जमा उद्योग खोल्ने हो । पोखरामा त्यो आवश्यक छैन । पोखरामा विकास गर्ने पर्यटन हो । यहाँ कति मान्छे राख्ने पहिले नै स्पष्ट हुनुपर्छ । स्मार्ट सिटी बनाउनु अघि नै निर्णय हुनुपर्छ । एक जना मान्छेले दामासायीमा पाउने खेलमैदान, पार्क, जंगल, चराचुरुंगी, हिडडुल गर्ने ठाउँ, सागपात लाउने र फुलबुटा सार्ने ठाउँ मुल्याकंन गरेर पोखराको जमिन चिर्नुपर्छ । पोखरालाई केही आवादी क्षेत्र बनाएपनि ओहोरदोहोरका लागि बढी प्रयोग गर्नुपर्ने उनको सुझाव छ । पोखराका स्थायी वासिन्दा भन्दा बढी मोवाईल जनसंख्या हुने भएकाले पर्यटक र मोवाईल जनसंख्यालाई ब्यवस्थापन गर्ने भिजन स्पष्ट हुनुपर्छ ।
भूउपयोग नीति सही नभएका कारण पोखराको आवादी अब्यवस्थित भैसकेको छ । पोखराको अहिलेको आवादी पनि पोखराले थेग्न सक्ने होईन । यसलाई अझै ब्यवस्थापन गर्न जरुरी छ । किनकी हाम्रो सडक सानो र साँघुरो छ । अहिले हेर्ने भने कुनैपनि वडामा खेल मैदान छैन । जंगल छैन । पार्क छैन । मनोरञ्जन थलो छैन । सांस्कृतिक केन्द्रहरु छैनन् । पोखरामा बनाउनुपर्ने धेरै छ । तर विडम्बना अहिलेसम्मका प्रधानपञ्च र मेयरहरुले यो बिषय सोच्दै सोचेनन् । उनीहरुको धन्दा नै आफ्ना भोटरलाई सुरक्षित गर्नेतर्फ केन्द्रित भयो । आसेपासेलाई ल्याएर केटाकेटी खेल्ने चउरमा राख्ने, खुल्ला मैदानमा राख्ने, तालको छेउमा राख्ने, खोला र नदी किनारमा राख्ने काम भयो । नगरपालिकामा कार्यालयले धान्न नसक्ने कर्मचारी हुले । आफ्ना मान्छेहरुलाई मापदण्ड विपरित काम गर्न सुविधा दिने काम उनीहरुले नै गरेका हुन् । गलत अभ्यास जनप्रतिनिधीबाटै भएको हो । चाहे नगरपालिकामा आएका हुन्, चाहे नगर योजनामा आएका आएका हुन् । चाहे निर्वाचनबाट आएका हुन् चाहे मनोनित भएर आएका हुन् । चाहे पञ्चायत अगाडीका हुन्, चाहे पञ्चायत पछाडीका हुन् । कसैले पनि पोखरालाई माया गरेनन् ।
कि दलिय स्वार्थमा गयो, कि निजी स्वार्थमा गयो । कि जानेर गयो, कि नजानेर गयो । तर भिजन नभएका कारण गयो । भिजन नभएकै कारण पोखराले अपराध खेप्नुपरेको छ । अब जनताले भिजन खोज्छन् । मलाई ताल, खोला, नदी किनारमा बस्न दिईस् कि दिईनस् भनेर सोध्दैन । मापदण्ड विपरित संरचना बनाउन दिईस् कि दिईनस् भनेर पनि सोध्दैन । भिजन नभएका मान्छे अव जनताको प्रतिनिधी हुन सक्दैन । अरु देशमा नपढेका मान्छेका कारण समस्या भएको हो । हाम्रो देश पढेका मान्छेका कारण विग्रिएको छ । नपढेका मान्छे कानुनसँग सचेत छन् । राज्यलाई अबरोध गरेको छैन । अभद्र त नेता, कार्यकर्ता हुन् । सचिव, पुलिसका प्रमुख, एनजिओका कर्मचारी, प्राध्यापक, न्यायधिशले बदमासी गरेका छन् । घरमा आगो लाग्यो भने नदीको पानी ल्याएर निभाउने हो, नदीमै आगो लाग्यो भने के गर्ने ? यो हेर्दा सन्तानलाई पढाउन पनि डराउनुपर्ने अवस्था आयो ।
महानगर र नगरपालिका भनेको के हो भन्ने नै सरकारले अहिलेसम्म स्पष्ट गर्न सकेको छैन । ३० बर्ष अघि घोषणा गरिएका महानगर र नगरपालिकाको काम कर्तब्य र अधिकारमा कुनै पनि फरक भएन । सामान्य पानी पँधेरालाई पैसा बाँड्ने, नागरिकताको सिफारिस गर्ने र सभा सम्मेलनमा भाषण गर्ने काम मात्रै मेयरको हुन्थ्यो । अहिले पनि स्थानीय चुनावको रन्को पसिसकेको छ । हामी नगरपालिकाबाट महानगरमा प्रबेश गरिसक्यौं । हाम्रो सोचमा महानगर भएपछि क्षेत्रफल बढ्यो तर दायरा बढेन । हामीले फराकिलो सोचले महानगरलाई हेर्न सकेनौं ।
सरकारले सामान्य तयारी पनि नगरी महानगरको चुनाव गर्ने तयारी गरेको छ । त्यसैले स्थानीय नेतृत्वमा महानगरप्रति फरक र विकसित धारणा विकास हुनै सकेको छैन । महानगरको छुट्टै ऐन बनाउनुपर्छ । महानगरपालिकामा नेपाल सरकारको जिल्ला तहको समकक्षी अदालत हुनुपर्छ । जिल्ला प्रहरी कार्यालयको समकक्षी प्रहरी हुनुपर्छ । सोही अनुसारका स्वायत्त सरकारी निकायहरु हुन्छन् । सय भन्दा बढी रोपनीमा फैलिएको कार्यालय भवन हुन्छ । महानगरका मेयरहरु अन्तराष्ट्रिय रुपमै छुट्टै पहिचानका हुन्छन् । लण्डनको मेयरलाई नेपाल सरकारले जुन सम्मान दिएको थियो । पोखराको मेयरले पनि सोही हैसियत राख्नुपर्छ । कानुनी रुपमा केही तह कमजोर भएपनि जनताले निकै ठूलो रेस्पोन्स गरेका हुन्छन् मेयरलाई । बरु मन्त्री चिन्दैनन् मेयरहरु मज्जासँग चिनिएका हुन्छन् ।
हामीले सोचेको महानगरपालिका पूरानै शैलिको छ । छुट्टै कानुन नबनाएसम्म महानगरको चुनाव हुन सक्दैन । राज्यको नीति निर्माण गर्ने काममा दलिय चुनाव हुनुपर्छ । तर महानगरले राज्यको नीति बनाउने होईन । दलगत रुपमा चुनाव हुँदा स्थानीय तहमा कटुता बढाउँछ । विकास निर्माणमा अवरोध गर्छ । सानातिना पानी पँधेराका झगडामा राग बढाउँछ । यसले अरु केही गर्न सक्दैन । अहिले आवाज आईरहेको छ । यो जायज हो । तर नेपालमा यो मान्ने सम्भावना कम छ ।
दलले उम्मेदवार उठाएपनि जनताले पोखराका एजेण्डामा चुनाव लड्ने उम्मेदवारलाई न्याय गर्नेछन् । पार्टीको घोषणापत्रमा होईन पोखराको घोषणापत्रमा चुनाव लड्नुपर्छ । यसलाई प्रधानपञ्च र सामान्य मेयरको रुपमा लिईनु कमजोरी हो । महानगरको प्रशासनिक टेरिटोरी एउटा हुन्छ र प्रभाव क्षेत्रको टेरीटोरी फरक हुन्छ । अहिलेको महानगर ३३ वडा मात्रै छैन, बागलुङ, स्याङजा, मुस्ताङ, पर्वत, तनहुँ पनि पोखरा हो, यहाँको मेयरले यि ठाउँहरुको पनि भिजन बनाउनुपर्छ । क्याचमेण्ट एरियाको विकास गर्न सके पोखराको आवादी अझै घटाउन सकिने अवस्था बन्न सक्छ । क्याचमेण्ट एरियाको विकास गर्न सके त्यहाँका नानगरिकरुह पोखरा नझर्ने भन्दै पोखरालाई जोगाउनका लागि भएपनि आसपासका बजार ब्यवस्थित र सुविधायुक्त बनाउन पहल गर्नुपर्छ ।
हाम्रो दैनिकी सँग जोडिएका उच्चतम प्रविधिसहितको नगर स्मार्ट सिटी हो । मैले धेरै स्मार्ट सिटी देखेको छु । उनीहरु हत्केला, अनुहार र आँखाको छाप दिन मात्रै कार्यालय जान्छन् । जनताले आफ्ना मागहरु उच्चतम प्रविधी मार्फत घरबाटै लिन सक्ने वातावरण छ । पोखराका जनताले पनि घरबाटै सेवा पाए भने बल्ल स्मार्ट सिटी बन्छ । भौतिक पूर्वाधार बाहेक सामाजिक र सांस्कृतिक समुन्नतीलाई पनि विकाससँग जोडियो भने स्मार्ट सिटीको अवधारणा बन्न थाल्छ ।
हाम्रा मान्छेहरु साक्षर भएनन् । कख लेख्ने मात्रै साक्षर होईन । कम्प्युटर साक्षरता हुनुपर्छ । सरसफाईप्रति उत्तिकै सचेत हुनुपर्छ । पर्यावरणसँग सचेत हुनुपर्छ । डिमाण्डअनुसार सडक निर्माण हुन्छ । सडकको आकार अनुसार फुटपाथ हुन्छ । गाडी चल्ने मात्रै सडक पोखरालाई चाहिएको होईन । अपागंमैत्री हुनुपर्छ । साईकल लेन बनाईनुपर्छ । निजी भन्दा सार्वजनिक यातायात छिटो पुग्ने ब्यवस्था मिलाउनुपर्छ । पोखराको एजेण्डामा चुनाव लड्ने भने दलका कार्यकर्ताबाट प्रभावित हुनुनपर्ने र दलप्रति भन्दा जनताप्रति बढी जवाफदेही हुनेछन् ।
तीन करोड मान्छे पोखरामै बस्नुपर्छ भन्ने छैन । तर पोखरा भन्दा बाहिर बस्नेलाई पोखराकै जस्तो सुविधा दिनुपर्छ । बाहिरका मान्छे सुविधा नभएर आएका हुन् । सकेसम्म थातथलो छोड्न मान्छे चाहाँदैनन् । पोखराको भन्दा केही कम सुविधा भएपनि उतै बस्छन् । अवको पोखरा पुस्तौंसम्म चिन्ता गर्न नपर्ने खालको बनाउनुपर्छ  । र त्यो सम्भव पनि छ । मात्र कमजोरी भिजनको हो ।

तपाईको प्रतिक्रिया

महोत्तरीका १५ वटै तहको मतगणना सम्पन्न, एमालेले खाता खोल्न सकेन

  काठमाडौं ८ असोज । महोत्तरीको १५ वटै तहको मतगणना सकिएको छ । १५ वटा स्थानीय तह मध्ये राजपा.. ...

आईसिसी सदस्य दिल श्रेष्ठद्दारा अमेरिकाज क्षेत्रको डिआरसी पदमा उम्मेद्वारी घोषणा

लस एन्जलस, अमेरिका । काठमन्डौंमा आगामी अक्टोबर महिनामा हुने एनआरएन ग्लोबल सम्मेलनमा हुने.. ...

भ्रममा नपर्न एनआरएन अमेरिकाका महासचिव लामाको अनुरोध

अमेरिका (टेक्सास)-  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका महासचिव बि.आर. लामाले एक विज्ञप्ति.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ.. ...

Today Exchange Rate