२०८१ वैशाख ७ गते | 19th of April 2024

गोरखामा एमाले कार्यकर्ताको कुटाईबाट यदु लामिछाने सख्त घाईते

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २७ गते १८:२२

गोरखा, २७ बैशाख । गोरखाको भिमसेन गाउँपालिकास्थित तान्द्राङमा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका यदुप्रसाद लामिछानेलाई निर्घात कुटपिट गरेका छन् । गाउँपालिकाको वडा नं ५ बगुवामा आयोजना गरिएको कांग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रममा सहभागी भएर फर्कदा एमालेका कार्यकर्ताहरुले लामिछानेमाथि तान्द्राङको सिमलफेदमा कुटपिट गरेका हुन् ।

प्रत्यक्षदर्शी लामिछानेकी छोरी विपना लामिछानेका अनुसार बगुवाको कार्यक्रम सकेर रिजर्भ बसमा चढेर घर फर्कने बेलामा बुबालाई एमालेका कार्यकर्ताहरुले कुटेका हुन् । “हामी चढेको बस नारा जुलुस लगाउँदै आएका एमालेका कार्यकर्ताहरुले रोकेर नारा जुलुस नलगाइकन जान भन्दै हामीलाई अबरोध गरे ।” उनले भनिन्, “हामी चढेको बसबाट झरेका केहीले अबरोध नगर्न भनेपछि एमालेका कार्यकर्ताहरुले भाँटा, लठ्ठी निकालेर मेरो बाबाको टाउकामा प्रहार गरे ।” मेरो बुबाले केही पनि भन्नुभएको थिएन् । बुबा झगडा मिलाउन जाँदा कुटपिट गरेका हुन्, छोरी विपनाले भन्नुभयो ।

शिक्षक संघका सदस्य समेत रहनुभएका लामिछानेको टाउको र टाउको अगाडीको भागमा गम्भिर चोट लागेको र अहिलेसम्म होस नआएको उहाँका छोरा विद्युत लामिछानेले जानकारी दिनुभयो । घाइते लामिछानेलाई उहाँका परिवार र आफन्तहरुले आरुघाटस्थित अस्पतालमा उपचार गराइरहेका छन् ।

उता, गण्डकी गाउँपालिका–८ घ्याल्चोकमा पनि कांग्रेस र माओवादी कार्यकर्ता बिच झडप भएको प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिनको प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ ।

माओवादी कार्यकर्ताले आफ्नो कार्यकर्तालाई आक्रमण गरेको कांग्रेसले जनाएको छ । प्रहरीका अनुसार माओवादीले आक्रमण गर्दा कांग्रेस कार्यकर्ता चढेको बा १४ च ६८५१ नम्बरको जिपमा समेत क्षति पुगेको छ भने केहि कांग्रेस कार्यकर्ता सामान्य घाइते भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *