२०८१ वैशाख ६ गते | 18th of April 2024

नेजाद्धारा पत्रकार तारानाथ दाहालसंग अन्तरक्रिया सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १६ गते १५:०९

वाशिंगटन डिसी । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपाल पत्रकार महांसंघका पूर्व अध्यक्ष तथा फ्रिडम फोरम नेपालका अध्यक्ष तारानाथ दाहालसंग यहां एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अन्तरक्रियाको क्रममा पत्रकार दाहालले नेपालमा संवैधानिक रुपमा प्रेस स्वतन्त्रता र अभिव्यत्तिको स्वतन्त्रता सुनिश्चित गरिए पनि ब्यवहारिक रुपमा अझै पनि बेला बेला प्रेस स्वतन्त्रतामाथि अवरोध आउने गरेको र यसको लागि नेपाली पत्रकारहरुले संघर्षरत रहनु परेको विचार व्यक्त गर्नु भयो । संविधानको भावना अनुरुप कानूनहरु बनि नसकेका र अझै पनि धेरै ऐन कानूनको ड्राफ्ट समेत नभएकोले संचार माथि राजनीतिक, आर्थिक र आचारसंहिता पालनाका क्षेत्रमा धेरै समस्या उत्पन्न भइरहेको उहांको ठहर थियो ।
हाल अमेरिका भ्रमणमा रहनु भएका दाहालले नेजाले डायस्पोराका समुदायलाई सुसूचित गर्ने र नेपालसंग नेपालीहरुलाई जोड्ने पूलको रुपमा काम गर्नु पर्ने सुझाव दिंदै हाल नेपालमा नेपाली पत्रकारहरुको सुरक्षामा समस्या खडाहुंदै भएकोले पत्रकारहरुले पनि चनाखो हुनु पर्ने तर सही कुरा लेख्न र बोल्न छोड्न नहुने कुरा बताउनु भयो ।
अघोषित रुपमा राज्यले गर्ने सेन्सरशिपसंग लडिरहेका नेपाली पत्रकारहरु यदाकदा विज्ञापन, राजनीति र त्रासको प्रभावको कारणले आफैले आफ्नो सूचना प्रवाहमा सेन्सर गरिरहेकोले तर्फ इंगित गर्दै उहांले अव नेपाली समाज स्वतन्त्रताको अनुभव गर्न बानि परिसकेको हुंदा कसैले पनि प्रेस तथा नागरिक वाक स्वतन्त्रता कुण्ढित गर्न नसक्ने आशा ब्यक्त गरिदिनु भयो ।


नेपालमा च्याउउम्रे झैं संचार माध्यमहरु खुलेको, संसारै भरि अनेकथरि अनलाइन पत्रिकाहरु खुलेको र संचारले विश्वसनीयता गुमाउदै गएको भन्ने सवालमा प्रतिक्रिया दिैदै दाहालले धेरै संचार माध्यम हुनु समाज विकासको लागि राम्रो कुरा भएको तर कस्ता सामग्री पढ्ने र कस्ता नपढ्ने भन्ने निर्णय अव स्वयं पाठक, उपभोक्ताहरुले गर्नु पर्ने समय आएको धारणा ब्यक्त गर्नु भयो ।
सो अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार तथा नेजाका सल्लाहकार योगेश उपाध्यायले प्रवासको संचारले नेपाली भाषा र संस्कृतिको विकास र विस्तारमा सहभागी हुनु पर्ने विचार व्यक्त गर्नु भयो ।
नेजा उपाध्यक्ष गुणराज लुइटेलले मोडरेट गर्नु भएको सो कार्यक्रममा नेजा अध्यक्ष भोला आचार्यले पत्रकार तारानाथ दाहालको पत्रकारिता र पत्रकारका संस्था संचालनका अनुभवले नेजालाई सिक्न र विस्तारित हुन अझ मद्धत मिलेको कुरा बताउदै डायस्पोरा र स्वदेश दुवैलाई जोड्न नेजाले काम गरिरहेको धारणा ब्यक्त गुर्न भयो ।
सो कार्यक्रममा अमेरिका भ्रमणमा रहनु भएका राससका पत्रकार कृष्ण सापकोटा, नेजाका संस्थापक गिरिश पोखरेल, पत्रकारहरु तरण पौडेल, अंकुश नेपाल, शतिश चापागाई, निदेश अधिकारी, केशर कार्की, सुनिलमणि दाहाल, श्रृजना उप्रेती, कृष्ण धराबासी, शारदा सिलवाल, विष्णु शर्मा, बाबुराम खरेल लगायत नेजा सदस्य तथा स्थानीय नेपाली समुदायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नव स्थापित संचार संस्था ग्लोवल नेपाल मिडिया तथा यसका पार्टनरहरु इनास र आवर इजी सलुसनले अन्तरक्रियाको लागि नेजालाई स्थान उपलव्ध गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *