२०८१ वैशाख ७ गते | 19th of April 2024

पाँच विद्यालयलाई सेवा दलको अनुमति

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ १७ गते २:४५

झापा, १७ भदौ । यहाँका पाँच सामुदायिक तथा निजी विद्यालयले राष्ट्रिय सेवा दलको अनुमति पाएपछि कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीलाई तालीम दिन थालेका छन् ।

काँकडभिट्टा मावि, बलभद्र जनता मावि, लिटल फ्लावर्स बोर्डिङ स्कुल, वीरेन्द्र नमूना मावि र शहीद धर्मभक्त मावि केर्खाले अनुमति पाएपछि ७९ दिने तालीम सञ्चालन गर्न लागिएको हो ।

नेपाल सरकारको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष विद्यार्थीको व्यक्तित्व विकास गराउँदै युवामा नेतृत्व विकास गराउने लक्ष्यका साथ तालीम आयोजना गरिँदै आएको छ जसमा शिक्षा मन्त्रालयले विद्यालयसँग सहकार्य गर्ने गरेको छ भने रक्षा मन्त्रालयको मातहतमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको छ ।

गत साउन २२ गतेदेखि अनुमति पाएका विद्यालयमा औपचारिक रुपमा शुरु गरिएको तालीममा प्रत्येक विद्यालयका कक्षा ८ र ९ का १८– १८ छात्रा सहभागी छन् । तालीममा प्राविधिक सहयोग कालीबहादुर गण चारआलीबाट प्राप्त भएको छ ।

तालीमबाट विद्यार्थीलाई अनुशासन, राष्ट्रिय एकताको भावनाको जागृति तथा सामाजिक क्षेत्रमा काम गर्न सक्ने सक्षम नागरिक निर्माण गर्न सकिने काँकडभिट्टा माविका प्रअ तुलसीप्रसाद निरौलाले बताए ।
तालीम लिएपछि उनीहरुलाई २१ दिनका लागि शिविरमा सहभागी गराइने प्रशिक्षक श्याम कर्माचार्यले बताए । शिविरमा हरेक जिल्लाका विद्यार्थीले नृत्य, गायन, कवाज, पिटी, दौडलगायतमा प्रतिस्पर्धा गर्नेछन् । यसैगरी देशभरबाट उत्कृष्ट हुने विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *