२०८१ वैशाख ७ गते | 19th of April 2024

महानगरमा माओबादीको घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते २:२१

प्रकाश ढकाल
पोखरा, २५ बैशाख ।
नेकपा माओबादी केन्द्रले आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरी पोखरा लेखनाथ महानगरपालिका स्तरीय घोषणापत्र जारी गरेको छ । जारी घोषणापत्रमा महानगरभित्रै स्याटलाईट सिटी देखि केवुलकार निर्माणसम्मका महत्वकांक्षी योजना अघि सारिएको छ । विकेन्द्रित शहर निर्माण गर्ने गरी बागमारा, जनताको चौतारा, मोहरिया, कसेरी, पुरुञ्चौर, हेमजा र विरौटा गरी ७ ठाउँलाई स्याटलाईट सिटीको रुपमा स्थापित गर्ने योजना बनाइएको छ । यी सहरहरुमा सम्भाब्यता अध्ययन गरेर कृषि, पशुपालन, तरकारी, पहाडी तथा हिमाली जडिबुटी, फलफुल खेती सम्बन्धि प्रशोधन, प्याकेजिङ तथा उत्पादन उद्योग स्थापना गर्ने तयारी छ । यस्तै अर्चले, पुम्दीभुम्दी, सराङकोट, निर्मलपोखरी र पूरानो राखीलाई सुविधासम्पन्न पर्यटकीय नगरका रुपमा विकास गर्ने घोषणापत्रमा उल्लेख छ । स्याटलाईट सिटीहरुलाई चक्रपथ मार्फत जोडेर मुख्य शहरी केन्द्रसम्म दु्रत सडकसँग पहुँच स्थापित गरिने माओबादीले जनाएको छ ।
‘उच्चस्तरीय पोखरा लेखनाथ महानगर शहरी विकास आयोग गठन गरेर बृहत गुरुयोजना निर्माण हाम्रो पहिलो प्राथमिकता हो । त्यसपछि बैज्ञानिक भू उपयोग नीति मार्फत बिशिष्ट ठाउँ पहिचान गरी विकास गरिनेछ, घोषणापत्रमा भनिएको छ–पोखरा पर्यटकीय शहरसँगै प्रदेशको राजधानी पनि हो । त्यसका लागि संरचना निर्माण अहिलेदेखि नै थालिने छ ।’ पोखरा जोड्ने पृथ्वी राजमार्ग, भूपी शेरचन राजमार्ग र सिद्धार्थ राजमार्गलाई चार लेनको सडक विस्तार गर्ने, महानगरबाट प्रभावित कास्की तथा नजिकका जिल्लाहरुलाई तीन लेनको सडक सञ्जालले जोड्ने, आकाशे पुल निर्माण, तिब्बत–काठमाण्डौं–पोखरा रेलमार्ग निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएको छ । महानगरले सुविधायुक्त बस सञ्चालन गर्ने, अन्तराष्ट्रिय विमानस्थल तीन बर्षभित्र निर्माण सक्नेगरी सम्बन्धित निकायमा पहल गर्ने, अन्तराष्ट्रिय स्तरको सभाहल निर्माण र पहाडी पर्यटन केन्द्रलाई जोड्ने गरी केबुलकार निर्माण गर्ने योजना पनि घोषणापत्रमा उल्लेख छ ।
सौर्य उर्जालाई प्रोत्साहन गर्ने नीति पनि माओबादीले प्रमुखताका साथ उठाएको छ । माध्यमिक स्तरसम्मको निशुल्क शिक्षा, पोखरा विश्वविद्यालयलाई केन्द्रिय विश्वविद्यालय बनाउने, पृथ्वीनारायण क्याम्पसलाई विश्वविद्यालयको अवधारणामा विकास गर्ने, प्रदेश स्तरको प्राविधिक विश्वविद्यालय निर्माण गर्ने, खेलकुद, ट्राभल र टुरिजम सम्बन्धि आंगिक कलेज स्थापना गर्ने, अपाङ्गता भएकालाई विशेष शिक्षाको ब्यवस्था गर्ने, आधारभुत विद्यालयमा मातृभाषा मार्फत अध्ययन अध्यापनको ब्यवस्था मिलाउने घोषणा माओबादीले गरेको छ । विज्ञ सहितको उपस्थितीमा निर्माण भएको घोषणापत्रले प्रत्येक स्वास्थ्य चौकीमा जनस्वास्थ्य विज्ञको ब्यवस्था गर्ने, आयुर्बेदिक तथा प्राकृतिक अस्पताल स्थापना, सार्वजनिक शौचालय निर्माण र ब्यवस्थापनका बिषयलाई उल्लेख गरेको छ । राजश्व परिचालनलाई पनि प्रमुखताका साथ उठाईएको छ । ब्यापक आधार र दायरा समेट्ने गरी एकीकृत कर संहिता मार्फत एकद्धार प्रणालीमा कर संकलन गर्ने योजना राखिएको घोषणापत्र निर्माण समितिका संयोजक झलकपाणी तिवारीले जानकारी दिए ।
राजेगारमुलक उत्पादनशिल क्षेत्रमा लगानी प्रोत्साहन गर्ने, शिक्षित बेरोजगार युवालाई तालिमको ब्यवस्था गरेर रोजगारी प्रदान गर्न पनि माओबादीको चिन्ता छ । पोखरामा हुने प्रदुषण नियन्त्रण र बैकल्पिक ल्याण्डफिल्ड साईट ब्यवस्थापनलाई जोड दिईएको छ । सूचना प्रविधीलाइ बढवा दिँदै प्रत्येक गाउँमा निशुल्क इन्टरनेटको ब्यवस्था गर्ने, महानगरमा रेडियो, टेलिभिजन र पत्रपत्रिकाको प्रकाशन र प्रशारणमा जोड दिने नीति माओबादीले ल्याएको छ । पोखरालाई नमूना विज्ञान शहरको रुपमा परिकल्पना गरिएको छ । जैविक विविधतालाई मध्येनजर गरेर अनुसन्धान केन्द्र तथा पोखरा प्रविधि केन्द्र निर्माणमा बिशेष ब्यवस्था गरिएको छ । महानगरभित्र सांस्कृतिक संग्राहलय निर्माण, प्रत्येक वडामा सामुदायिक अध्ययन केन्द्र, सिनेमा तथा नाट्य बिषयमा अध्यापन गर्ने महाबिद्यालय, आधुनिक रंगशाला, अन्तराष्ट्रिय क्रिकेट मैदान, प्रत्येक वडामा खेल मैदान, वन्यजन्तु संरक्षण केन्द्र (चिडियाखाना), बालमैत्री मनोरञ्जन केन्द्रका बिषय पनि घोषणापत्रमा समेटिएका छन् ।
महत्वपूर्ण योजनाहरु
महानगरका ७ ठाउँ स्याटलाईट सिटी
५ ठाउँ पर्यटकीय नगर
वातावरणमैत्री पोखरा चक्रपथ
तिब्बतदेखि काठमाण्डौं हुँदै पोखरा रेलमार्ग
पर्यटकीय डाँडामा केबुलकार
गाउँ र विद्यालयमा फ्रि इन्टरनेट
तीन बर्षमा अन्तराष्ट्रिय विमानस्थल
प्रदेश स्तरीय प्राविधिक विद्यालय
पञ्चासेमा पर्यटन उद्योग, माझठानामा आधुनिक कृषि उत्पादन केन्द्र
कृषक पेन्सन र नगरभरी विशेष कृषि उत्पादन क्षेत्र
सांस्कृति संग्राहलय, आधुनिक रंगशाला, अन्तराष्ट्रिय क्रिकेट मैदान, चिडियाखाना र सुविधायुक्त नाट्यशाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *