२०८१ वैशाख ६ गते | 18th of April 2024

लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक कार्यक्रम विस्तार

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १५ गते १४:५७

रुपन्देही, १५ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले आफ्ना शैक्षिक कार्यक्रम विस्तार गरेको छ ।

तेह्रौँ विश्वविद्यालय दिवसका अवसरमा बिहीबार बुटवलमा ब्याचलर अफ बुद्धिज्म, ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट विषयको कक्षारम्भ गर्दै उपकुलपति प्रा डा नरेशमान बज्राचार्यले देवदह, तौलिहवा र रामग्राममा विषयगत विभाग स्थापना गर्ने योजना अघि बढेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नगरपालिकाले शैक्षिक गुरुयोजना निर्माणको काम गरिरहेको र समाजमा खपत हुने जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक संस्था सञ्चालनमा जोड दिइने बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले विश्वविद्यालयले चाहेमा बिबिटिटिएम कार्यक्रम सञ्चालन गर्न जमिन उपलब्ध गराउन सकिने आश्वासन दिँदै नगरलाई शैक्षिक नगरीका रुपमा परिचित बनाउने योजना रहेको जानकारी दिए ।

प्रा डा कृष्णचन्द्र शर्माले विश्वविद्यालयलाई ५ नं प्रदेशको विकाससँग जोडेर अघि बढाउनुपर्ने बताए । विश्वविद्यालयका रजिष्ट्रार तिलक आचार्यले विश्वविद्यालयका न्यूनतम पूर्वाधार निर्माण भइसकेको र शैक्षिक कार्यक्रम विस्तारको प्रक्रिया शुरु भएको जानकारी दिए ।

डीन डा भद्ररत्न बज्राचार्यले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण हुने शैक्षिक कार्यक्रम बिबिटिटिएम बुटवलमा सञ्चालन गरिएकाले यसले सक्षम जनशक्ति तयार गर्ने विश्वास व्यक्त गरे । सो अवसरमा विश्वविद्यालय सभाका सदस्य विमलबहादुर शाक्य, पब्लिक क्याम्पस प्राध्यापक संघका अध्यक्ष गोपाल पाण्डे, प्रगतिशील प्राध्यापक संघका महासचिव डा खगराज शर्मा, बिबिटिटिएमा प्रोग्राम कोर्डिनेटर पावेल गौतमलगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *