२०८१ वैशाख ७ गते | 19th of April 2024

लेनदेनको विवादमा एक दम्पतीको हत्या

खुल्लामन्च
 प्रकाशित: २०७४ असोज ३० गते १६:५७

दैलेख, ३० असोज । भगवतीमाई गाउँपालिका(७ का एक दम्पतीको आइतबार राति हत्या गरिएको छ ।
सामान्य लेनदेनको विषयमा विवाद हुँदा ४० वर्षका जयबहादुर सिंह र उनकी पत्नी ३९ वर्षकी कमलाको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । बाबुआमाको झगडामा अनाहकमै जयबहादुरका १६ वर्षका छोरा दीपकलाई समेत धारिलो हतियारले काटिएकाले थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा लगिएको छ ।
दम्पती हत्यामा भगवतीमाई गाउँपालिकाकै छिमेकी २१ वर्षका मोहन खड्का संलग्न रहेको आरोप जिल्ला प्रहरी कार्यालयले लगाएको छ । उनलाई पक्राउ गरिएको छ । छिमेकी घर जोडिएको सिंह दम्पतीलाई लेनदेनको विषयलाई लिएर आइतबार राति धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखमा अभियुक्त खड्काले बयान दिएको प्रहरी प्रमुख सरोज पौडेलले बताउनुभयो ।
जयबहादुरले विभिन्न स्थानमा लगेर काममा लगाउने र पैसा माग्न जाँदा उल्टो गाली गर्ने गरेपछि विवादको शुरुआत भएको थियो । बयानका क्रमममा छोरी बिरामी भएपछि श्रीमतीलाई पैसा माग्न पठाएका बेला श्रीमतीलाई उल्टो गाली गरेपछि आफू आक्रोशमा आएको र पहिला जयबहादुरले आफ्नो हातमा हतियारले हानेपछि आफूले पनि हँसियाले हानेको खड्काले स्वीकार गरेको प्रहरी निरीक्षक एकेन्द्र खड्काले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *