२०८१ वैशाख ७ गते | 19th of April 2024

समुद्रको छालमा परेर टेक्सासमा नेपालीको निधन

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १५ गते २०:५७

ड्यालस (अमेरिका) – अमेरिकाको दक्षिणी राज्य टेक्ससको समुद्रमा डुबेर एक नेपालीको निधन भएको छ ।
काठमाडौं घर भइ हाल टेक्ससको अस्टिनमा बस्दै आएका सुवोध तण्डुकारको कर्पस क्रिस्टीस्थित सामुद्रिक किनारमा छालले बगाएर निधन भएको हो । साथीहरुसँग बिदा मनाउन गल्फ अफ मेक्सिकोको सामुद्रिक किनारमा गएर पौडी खेल्ने क्रममा छालले तानेको बताइएको छ ।
कर्पस क्रिस्टी टेक्ससको प्रमुख सामुद्रिक पर्यटकीय स्थल हो । यो ठाउँ टेक्ससको ड्यालसबाट चारसय २५ माइल टाढा रहेको छ ।
‘सबै विवरण मैले पनि पाएको छैन, अहिले लाशलाई स्थानीय अस्पतालमा राखिएको खबर मैले पाएको छु,’ मृतकका मामा राजेन्द्र श्रेष्ठले टेलिफोनमा हिमालय खबरसँग भने । श्रेष्ठ न्यूयोर्कमा बस्दै आएका छन् । उनी टेक्सस आउने तयारीमा छन् ।
३५ वर्षिय सुवोधले गत वर्षमात्र नेपाल गएर बिहे गरेका थिए । उनले पत्नीलाई समेत अमेरिका ल्याउनका लागि आवश्यक प्रकृया अघि बढाइसकेका थिए । सूचना प्रविधि (आइटी) मा कार्यरत उनले तीन महिना अघिमात्र अस्टिनमा घर किनेका मामा राजेन्द्रले जानकारी दिए ।
‘अब नेपालबाट सुवोधका बा–आमालाई ल्याउनका लागि प्रकृया सुरु गरिएको छ,’ राजेन्द्रले भने । सुवोधको शवलाई स्थानीय कर्पस क्रिस्टी मेडिकल सेन्टरमा राखिएको छ ।
मृतक तण्डुकारकी उनकी एक बहिनीमात्र छिन् । उनका पिता शिक्षक छन् भने आमा बैंकबाट रिटायर्ड कर्मचारी हुन् ।
उक्त घटनाको खबर पाएपछि गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले आवश्यक सहयोगको लागि परिवारसँग समन्वय गरिरहेको छ । ‘असाध्यै दुखद् घटना हुनपुगेको छ, हामीले पीडित परिवार र आफन्तहरुसँग नजिकमा रहेर के सहयोग आवश्यक पर्छ त्यही अनुसार काम गरिरहेका छौँ,’ एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेलले भने ।
विशेषगरि समरको समयमा धेरै नेपालीहरु बिदा मनाउन सामुद्रिक किनारमा जाने भएकोले विशेष सचेतता अपनाउन पोखरेलको आग्रह छ । ‘समुद्रको छालले मानिसलाई तानेर लैजाने भएकोले त्यस्तो समयमा पौडी खेल्न नजानु उपयुक्त हो,’ पोखरेलले भने ।

– Source : HimalayaKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *