२०८१ वैशाख ७ गते | 19th of April 2024

स्थानीय सहरका मेयर सँग विशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७४ असार १२ गते २१:४२

डालस, जुन २५ / टेक्सस राज्य स्थित अर्भिंग सहरका मेयर रिक स्टोफरसंग डालसको स्थानीय समुदायले एक विशेष अन्तरक्रिया गरेको छ। नेपाली मन्दिरको सभा कक्षमा हिजो जुन २४ का दिन संम्पन सो अन्तरक्रियात्मक कार्यक्रममा स्थानीय नेपाली समुदाय, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि तथा पत्रकारहरुले नवनिर्बाचित मेयर स्टोफर सँग विभिन्न विषयमा अन्तरक्रिया गरेका थिए।

स्थानीय नेपाली ब्यबसायीहरुको सङ्गठन यति च्याम्बर अफ कमर्शको आयोजना तथा नेपाली समाज टेक्सस ( एनएसटि ) र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र ( एनसीएससी) को विशेष संयोजनमा संम्पन सो अन्तरक्रियात्मक कार्यक्रममा यति च्याम्बरका कार्यसमिति सदस्य हरिबोल भण्डारीले मेयर स्टोफर र उनकी पत्नी मेलिना स्टोफर सहित समस्त उपस्थित अतिथिहरुलाई मन्तव्य मार्फत स्वागत गर्नुका साथै नेपालको गोकर्णेश्वर नगरपालिका र अमेरिकाको अर्भिंग सहरका बिच ‘सिस्टर सिटी’ को सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेका थिए।
यति च्याम्बरका अर्का कार्य समिति सदस्य मनोज सिग्देलले डालसको नेपाली समुदायको समस्त तस्बिर झल्किने गरी एक विशेष प्रस्तुति पेस गरेका थिए। नेपाली समुदायले दिनहु सामना गर्ने चुनौती र यो समुदायले गर्न सक्ने योगदानको समेत उल्लेख गरिएको सो प्रस्तुतिलाई कार्यक्रमको एक विशेष आकर्षणका रूपमा बुझिएको थियो।

मेयर तथा समस्त उपस्थितहरुलाई स्वागत गर्दै नेपाली समाज टेक्सासका सभापति तथा यति च्याम्बरका कार्यसमिति सदस्य कृष्ण लामिछानेले नेपाली समाज टेक्सासको इतिहास मै पहिलो पटक स्थानीय प्रशासन सँग बसेर अन्तरक्रिया गर्ने यो अवसरले आफू थप उत्साही भएको बताए। सभापति लामिछानेले मेयर रिक स्टोफर र उनकी पत्नी मेलिना स्टोफरलाई संस्थाको तर्फ बाट लोगो प्रदान गरेका थिए। यसका साथै सभापति लामिछानेले अर्भिंगको कुनै पार्कमा भगवान् गौतम बुद्ध र महामानव विशेश्वर प्रसाद कोइरालाको प्रतिमा स्थापना गर्नका जमिन उपलब्ध गराउन अनुरोध गरेका थिए।

यति च्याम्बरका सभापति वासुदेव भण्डारीले स्थानीय प्रशासन र नेपाली समुदायको सम्बन्ध आगामी दिनमा अंझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्दै यो कार्यक्रमले सम्बन्धको धोका खुलेको बताए। डालस फोर्ट वोर्थ क्षेत्रका समस्त व्यापारी तथा समुदायको तर्फ बाट सभापति भण्डारीले मेयर स्टोफरलाई नेपाली टोपी र खुकुरी उपहार स्वरूप प्रदान गरेका थिए भने मेयर पत्नी मेलिना स्टोफरलाई पस्मिनाको सल उपहार दिएका थिए।

कार्यक्रम अवधिभर रुचिका साथ बसेका मेयर रिक स्टोफरले आफ्नो मन्तव्यका क्रममा नेपाली समुदायको यो सम्मान र आतिथ्यताका लागि आफू अत्यन्त अनुग्रहित भएको बताउँदै विभिन्न व्यक्त्तिहरुले उठाउनु भएका समस्या तथा मागलाई आफूले अत्यन्त गम्भीरता पूर्वक लिएको र मागहरुको सम्बोधनका लागि सक्दो प्रयास गर्ने बताए। स्थानीय ठुला ब्यपारिक फर्म हरू सँग सम्नवय गरी नेपाली समुदायका लागि रोजगारीको वातावरण सृजना गर्न, बुद्ध र बिपी कोइरालाको प्रतिमा स्थापनाका लागि पहल गर्न, कम आम्दानीका नेपालीहरूलाई सहुलिएत दरमा अपार्टमेन्टको व्यवस्था मिलाउन र स्थानीय कलेज र विश्व बिध्यलायमा अध्यन गर्ने नेपाली बिधार्थीलाई सहुलियत दरमा अध्यनको व्यवस्था गर्न आफू र आफ्नो प्रशासनले सक्दो प्रयास गर्ने मेयर स्टोफरले बताए।

कार्यक्रमको अन्त्यमा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको बोर्ड अफ ट्रष्टीका साभापति बिनय अर्यालले सबैलाई धन्याबाद ज्ञापन गर्नुका साथै स्थानीय प्रशासन सँग आगमी दिनमा सहकार्य गर्न सकिने कुरामा जोड दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *