२०८१ वैशाख १४ गते | 26th of April 2024

विश्व रेकर्ड राख्न केसीको अभियान आम नेपालीको पहिचानका लागि महत्वपूर्ण – डा. रामशरण महत

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन २९ गते १०:२०

काठमान्डौं – नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले सबैभन्दा लामो समय सम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा रहनु भएका अनन्तराम केसीको अभियान आम नेपालीको पहिचानका लागि महत्वपूर्ण हुने बताउनु भएको छ । केसीको अभियानका विषयमा राजधानीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै डाक्टर महतले केसीको अभियानलाई मूर्त रुप दिन आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो । पूर्व मन्त्री समेत रहनु भएका डाक्टर महतले आफ्नो तर्फबाट पनि केसीलाई सबै खाले सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले राष्ट्रको शीर उचो पार्ने अन्तिम तयारीमा रहनु भएका केसीलाई सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा केसीले नुवाकोट कांग्रेसको तर्फबाट अभियान सफलताको लागि ७५ हजार रुपैया सहयोग गर्नुभयो । काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले नेपालीको सान बढाउन जो कसैलाई सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस नुवाकोटका सचिव रमेश महतले केसीलाई सबैले तन, मन, धनले सहयोग गर्नुपर्ने भन्दै व्यक्तिगत रुपमा ३० हजार सहयोगको घोषणा गर्नुभयो । टोखा नगरपालिकाका प्रमुख प्रकाशकुमार अधिकारीले नगरपालिकाको तर्फबाट छिट्टै आर्थिक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा अन्य विविध पेशा तथा व्यवसायमा आबद्धहरुले पनि केसीलाई आर्थिक सहयोग गर्नु भएको थियो भने अन्यले सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो । अभियानको संयोजन गरिरहेको संस्था न्यू माइन्ड्स एकेडेमीका अध्यक्ष समेत रहनु भएका सामाजिक अभियन्ता कुमारराज सुवेदीले आफ्नो संस्थाले केसी जस्ता अन्य प्रतिभाशाली व्यक्तिहरुको प्रतिभालाई उजागर गर्ने बताउनुभयो । 

अभियानका आर्थिक संयोजक रविन थपलियाले देशको इज्जत प्रतिष्ठासँग जोडिएको केसीको अभियानलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । केसीको विश्व कीर्तिमानको अभियान आगामी भदौ ११ गतेबाट राजधानीमा शुरु हुनेछ । अध्यात्मको खोज र अनुसन्धानबाट मनोशक्तिको अभ्यासमा लाग्नुभएका केसीले अघिल्लो वर्ष ८० घण्टासम्म बोलेको भए पनि प्राविधिक कारणले गिनिज बुक्स अफ वल्र्ड रेकर्डले प्रमाणिकरण नगरेपछि यस वर्ष विगतको गल्तीबाट सिकेर नयाँ कीर्तिमानको तयारी थालिएको छ । शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक विश्वले चिन्ने छ नेपालीलाई भन्ने नाराका साथ नयाँ विश्व कीर्तिमान कायम गर्न लाग्नुभएको हो । केसीले न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने बताउनु भएको छ । 

उहाँले आफूले बोल्ने विषय केवल बोल्नका लागि नभएर त्यसले समाजलाई केही सन्देश दिने खालको पनि हुने बताउँदै विभिन्न्न विधाहरु समेत छनोट गरिसकेको जानकारी दिनुभएको छ । नुवाकोट जिल्ला चिसापानीमा जन्मेर काठमाडौंको जोरपाटीलाई कर्मथलो बनाउनु भएका केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनु भए पनि त्यसलाई प्रमाणिकरण गरिएको थिएन । अहिले भारतका अश्विन सुडानीको नाममा लगातार ७५ घण्टा ३२ मिनेट बोलेको रेकर्ड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *