२०८१ वैशाख १२ गते | 24th of April 2024

डालासमा एनआरएन र नेजाबिच ‘संचार र समुदाय’ बिषयमा अन्तर्कृया

खुल्लामन्च
 प्रकाशित: २०७५ भदौ ५ गते २:३३

 डालास – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले प्रवासमा रहेका नेपाली समुदायका मुद्धाहरु संबोधनका लागि मिडियासँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेकोमा जोड दिएको छ ।

प्रवासमा रहेका नेपालीहरुका समस्याहरु, समाधानका लागि गर्नुपर्ने पहल, जनचेतनाका कार्यक्रमहरु सदस्यहरु माझ पु¥याउन मिडियानै सहज र सशक्त माध्यम भएकोले त्यसका लागि नेपाल अमेरिका पत्रकार संघ (नेजा) सँगको सहकार्यमा एनआरएनले जोड दिएको छ । ‘नेजा र एनआरएन अमेरिका सँगसँगै जानुपर्छ, तबमात्र यहाँ रहेका नेपालीहरुलाई के गर्न आवश्यक छ भन्ने विषयमा इस्युहरु पहिल्याउन सहयोग पुग्छ,’ एनआरएन अमेरिकाका कार्यवाहक अध्यक्ष सुनिल शाहले भने ।

आइतबार नेजाको नवनिर्वाचित टीम, एनआरएन र स्थानीय सामुदायिक संस्थाहरुबीच ड्यालसको युलेसमा आयोजित अन्तरकृया कार्यक्रममा कावा अध्यक्ष शाहले एनआरएनले पाउने भनिएको नेपाली नागरिकता लगायत सवालमा मिडियाले खेलेको भूमिका असाध्यै सहयोगी भएकोले सहकार्य अझै प्रगाढ रुपमा हुनुपर्नेमा जोड दिए।


‘हामी अमेरिकामा रहेका नेपाली पत्रकारको संस्था नेजासँग सहकार्यका लागि लालायीत छौँ,’ शाहले भने ।

त्यस अवसरमा नेजाका नवनिर्वाचित अध्यक्ष सुदीप पन्तले अमेरिकामा रहेर सञ्चारकर्म गर्दै आएका सबै पत्रकारहरु एनआरएन भएकाले समुदायलाई जोड्ने काममा तनमनले सबै लागिरहेको प्रष्ट्याए । ‘यहाँ रहेका भत्किएका नेपालीमनलाई जोड्न नेजा तयार छ । त्यसका लागि नेजाका सबै सदस्यहरु तत्पर छन्,’ पन्तले भने ।

अध्यक्ष पन्तले नेजा पनि अमेरिकामा एउटा सामाजीक संस्था रहेकोले समुदायका गतिविधिलाई संसारभर फैलाउने काम गरेर, समुदायलाई चेतनामुलक सामाग्रीहरु दिएर निस्वार्थ रुपमा सहयोग गरिरहेकोले त्यो तथ्यलाई नभुल्न आग्रह गरेका थिए । ‘हामी आचार संहिता बनाएर यहाँ रहेका पत्रकाहरुलाई यसो लेख, उसो लेख भनेर बाँध्न सक्दैनौँ, त्यो हाम्रो दायराभित्र पनि पर्दैन । तर समुदायले को पत्रकारले कस्तो सहयोग गरिरहेको छ भन्ने बारेमा मूल्यांकन भने गर्नैपर्छ,’ उनले भने ।

एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकार हरिबोल भण्डारी, गोबिन्दकुमार श्रेष्ठ, उपाध्यक्षद्वय महिला उमा थापा र रामकुमार सुवेदी, सचिव होमनाथ गौतम, महिला संयोजक इन्दिरा त्रिपाठी, प्रवक्ता विनोद तिवारी, बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने, डा. अर्जुन बञ्जाडे लगायतले नेजा र सञ्चारकर्मीसँग राखिएको अपेक्षाका बारेमा धारणा राखेका थिए ।

त्यस अवसरमा स्थानीय सामुदायिक संघसंस्थाका प्रतिनिधिहरुले पनि नेपाली मिडिया र सञ्चारकर्मीहरुले खेल्नुपर्ने भूमिकाका बारेमा सुझाव दिएका थिए । त्यस क्रममा एएनएका महसचिव विजयराज भट्टराई, जनसम्पर्क समिति ड्यालस फोर्टवर्थका सभापति ज्ञानेन्द्र कार्की, ड्यालस एभरेष्ट लायन्स क्लबका बिएन पन्त, नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष मनोज सिग्देल, प्रवासी मञ्चकी उपाध्यक्ष यमुना भट्टराई, थलराज पन्त लगायतले मिडियाबाट राखिएको अपेक्षाका बारेमा धारणा व्यक्त गरे । सिग्देलले अमेरिकामा रहेका नेपालीभाषी मिडियाहरुले राजनीतिक समाचारलाई मात्र प्राथमिकता दिँदै आएकोले आर्थिक–सामाजीक समाचारलाई अझै बढी स्थान दिन आग्रह गरेका थिए ।

एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीद्वारा सञ्चालित कार्यक्रममा नेजाका उपाध्यक्ष विकासराज न्यौपाने, महासचिव किरण मरहट्ठा, क्षेत्रीय संयोजक रामचन्द्र भट्ट, सचिव सुरज भण्डारी, स्पेसखबर अनलाइनका प्रतिनिधि सुरेशचन्द्र पोखरेल लगायतले अमेरिका रहेर गरेको पत्रकारितालाई सामुदायिक सेवाको एउटा पाटोका रुपमा लिइदिन आग्रह गरे । नेजाले अमेरिकाका नेपाली समुदायलाई परेको पीडामा एकाकार भएर दुःख मनाएको र उपलव्धीमा खुशी हुँदै आएको समेत उनीहरुको धारणा थियो ।

कार्यक्रममा नेजाका सल्लाहकार तारा बराल ,पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकाल र सदस्य शेर के सीको पनि उपस्थिती थियो ।

त्यस अवसरमा नेपालबाट आएका पूर्ब सिंचाईमन्त्री दीपक गिरी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, तरुण दलका नेता प्रगतिमान रञ्जित, नेपाली कांग्रेस सिन्धुलीका सभापति तथा पूर्ब पत्रकार उज्वल बराल लगायतले पनि सभ्य समाज निर्माणका लागि मिडियाको भूमिका सकारात्मक हुनुपर्नेमा जोड दिएका थिए ।

पत्रकारहरुले आर्थिक लेनदेनका आधारमा समाचार लेख्ने, लुकाउने जस्ता घटना अमेरिकामा पनि हुन लागेको भन्दै केही सहभागीहरुले गुनासो गरेका थिए ।

थापा फर्किए नेजामा : 
यसैबीच विगत दुई वर्षयता नेजासँग पूर्ण रुपमा संबन्ध बिच्छेद गरेका पूर्ब प्रवक्ता सूर्य थापाले अब नेजामै सकृय हुने बताएका छन् ।

‘विगतमा नेतृत्वमा रहेका साथीहरुको गतिविधि, चुनावी दौरानमा देखिएका घृणित कार्यले गर्दा म लगायत धेरै साथीहरुले नेजा परित्याग गरेका थियौँ,’ थापाले भने । नेजाको नयाँ नेतृत्वबाट अमेरिकामा रहेको नेपाली समाजका लागि रचनात्मक कार्य हुने संकेत देखेर आफु फर्किएको थापाले घोषणा गरे ।

‘नेजाबाट ठूलो अपेक्षा कसैले नराखौँ, समुदायको लागि सुसम्बन्ध कायम गर्दै आपसी मित्रता, सद्भाव अभिवृद्धि यसले गर्ने हो,’ थापाले भने । उनको नेजामा पुन सकृयताले अमेरिकामा नेजा अझै दह्रो हुनेछ ।

दुई वर्ष अघि लसएन्जलसमा भएको सम्मेलनपछि थापाले सदस्यता समेत नवीकरण गरेका थिएनन् । विगतमा न्यूयोर्कबाट ह्वाइट हिमाल टिभी, अनलाइन सञ्चालन गरेर नेपाली सञ्चारकर्मीबीच बेग्लै छवी बनाएका थापा विगत डेढ वर्षदेखि टेक्ससमा बस्दै आएका छन् । उनले दुई महिना अघिबाट टेलिभिजन कार्यक्रम ‘यू स्टार्ट अगेन’ सञ्चालन गरिरहेका छन् । जुन नेपाल टेलिभिजनबाट पाक्षिक रुपमा प्रशारण हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *