२०८१ वैशाख १३ गते | 25th of April 2024

नेपाली कलाकारहरु जाे अमेरिकाकाे बसार्इ त्यागेर स्वदेश फर्किए

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ३ गते ११:२३

धेरै कलाकारहरु  आफू देशका निम्ति कलाकारिता क्षेत्रमा लागेको बताउने गर्छन् । तर नेपाली कलाकारिता क्षेत्र विदेशिनका निम्ति एउटा अवसर खोजी गर्ने माध्यमका रुपमा विकास भइरहेकोे छ । सबैमा यो कुरा लागू नहुन सक्छ । तर धेरै कलाकार कलाकारिता क्षेत्रलार्इ माध्यम बनाएर देशबाट पलायन हुने गरेका छन् । नेपाली सिने बजारमा यस्ता प्रशस्तै उदाहरणहरु भेट्न सकिन्छ।

यी हुन् लामो समय अमेरिका जस्तो सम्पन्न देशको बसाइपछि आफ्नै मातृभूमि फर्किएर कलाकारिता क्षेत्रलाई नै निरन्तरता दिइरहेका केही चर्चित कलाकारहरु :

प्रियंका कार्की :

लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएकी नायिका हुन प्रियंका कार्की ।

उनले अमेरिकामै बसेर स्नातकसम्मको अध्ययन गरेकी थिइन् । उनले अमेरिकाको बसाइमै विवाह समेत गरिन् । उनी उतै सेटल भैसकेकी थिइन् । तर पछि आफ्ना श्रीमानसँग सम्बन्धविच्छेद गरेर नेपाल फर्किइन् । नेपाल फर्किए प्रछि उनले अभिनय यात्रालाई नै निरन्तरता दिइन् ।

उनी अभिनयसँगै गायनमा पनि उत्ति नै रुची राख्छिन् । प्रियंका नृत्यमासमेत निकै माहिर मानिन्छिन् । हाल प्रियंका नेपाली सिने क्षेत्रको सर्वाधिक व्यस्त नायिकाका रुपमा स्थापित भएकी छिन् । उनले कलाकार आयुष्मान देशराज जोशीसँग टिकोटालो गरिसकेकी छिन् ।

करिष्मा मानन्धर :

करिष्मा मानन्धर पनि अमेरिकाको लामो बसाइपछि नेपाल फर्किएकी हुन् । उनी नेपाल फर्किएपछि अभिनयसँगै राजनीतिमा समेत सकृय भएकी छिन् ।

त्यस समय निकै व्यस्त नायिकाका रुपमा स्थापित मानन्धरलाई सुन्दर नायिकाका रुपमा समेत चिनिन्छ ।उनले अभिनय गरेको पहिलो चलचित्र सन्तान हो । सन्तानमा उनले बालकलाकारको भूमिका निर्वाह गरेकी थिइन् । नेपाली कथानक चलचित्र कस्तुरीमा काम गरेपछि उनले त्यस समयका निकै चर्चित चलचित्र निर्देशक बिनोद मानन्धरसँग विवाह गरिन् । विवाहपछि उनी चर्चाको शिखरमा पुगिन् ।

यसै कारण उनलाई करिश्मा केसी भन्दा करिश्मा मानन्धरकै नामले चिनिन्छ । उनको एउटी छोरी (कविता मानन्धर) पनि छिन् । अमेरिकाबाट फर्किएपछि करिष्मा आफैं पनि चलचित्र निर्माणमा सकृय भएकी छिन् ।

सरोज खनाल :

कलाकार सरोज खनाल पनि अमेरिकाको लामो बसाइपछि नेपाल फर्किने कलाकार हुन् ।

नेपालफर्किए लगत्तै उनी पुन कलाकारिता क्षेत्रमा सकृय भएका छन् । सरोज खनालले अभिनय गरेको पहिलो चलचित्र विजय पराजय हो । यो चलचित्रपछि उनले चोट, अरुणिमा,चोखो माया, तपस्यालगायत २ दर्जनभन्दा धेरै चलचित्रमा अभिनय गरिसकेका छन् ।

यमन श्रेष्ठ :

यमन श्रेष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठका छोरा हुन् । उनी अध्ययनका निम्ति अमेरिकामा बस्दै आएका थिए । उनले विवाह समेत अमेरिकामै गरेका थिए ।

यमन अमेरिकामा रहँदासम्म कलाकारिता क्षेत्रबाट टाढा थिए । तर संगीत र कलाकारिता क्षेत्रमा उनी अत्यन्तै रुचि राख्ने गर्थे । उनलाई अमेरिकामा बस्न फिटिक्कै मन थिएन । तर छोरीको भविष्यले उनलाई घरी घरी झस्काउने गथ्र्यो । नेपालमा यमनकी आमालाई क्यान्सर रोगले च्यापेपछि यमन आफ्ना श्रीमती तथा छोरी समेतलाई लिएर नेपाल फर्किएका थिए, त्यो पनि अब अमेरिका नफर्किने गरी । उनी नेपाल फर्किएपछि भने गीत संगीत तथा अभिनयमा नै रमाउन थालेका छन् ।

उनी नेपाल फर्किएपछि उनलाई फेरि आफ्नै भविष्यका कुराले घरी घरी पीडा दिन थाल्यो । उनले एमबिएसम्मको अध्ययन गरेका थिए । तर कतै गएर जागीर खाने मन पटक्कै थिएन । उनी कलाकरिता तथा संगीतका क्षेत्रमा नै रमाउन चाहन्थे । त्यसपछि उनले केदार घिमिरे माग्ने बुढासँगको सहकार्यमा टेलिचलचित्र खासखुसमा कथा लेखन तथा अभिनय गर्न थाले ।

राजाराम पौडेल :

राजाराम पौडेल पछिल्लो समयका निकै व्यस्त हास्यकलाकारका रुपमा चिनिन्छन् । उनी पनि अमेरिकाको करिब ७ वर्षको बसाइपछि नेपाल फर्किएर आएका हुन् । त्यो समय नेपालमा द्वन्द्वकाल चलिरहेको थियो ।

देशमा भएको राजनैतिक गतिविधिले आफ्नो छोराको भविष्यलाई लिएर निकै चिन्तित हुने गर्थे राजाराम । अन्तत छोराको भविस्यलाई लिएर उनले अमेरिका जाने निर्णय गरे । उनी पनि अमेरिकामा छोराको साथमै रहन थाले । छोराले अध्ययन पूरा गरेपछि उनले छोरालाई अष्टेलिया पठाए । उनी अमेरिका रहरले बसेका थिएनन् ।

जब छोरा त्यहाँबाट अष्टेलियातिर लागे । उनले पनि आफू नेपाल नै फर्कने निर्णय गरे । अन्तत राजाराम अमेरिकाबाट नेपाल फर्किए र कलाकारिता क्षेत्रमा नै आफुलाई सुम्पिए । नेपाली टेलिचलचित्र जीरे खुर्सानीबाट उनी दर्शकको प्यारो बने । हाल राजाराम विभिन्न ठूला तथा साना पर्दाका चलचित्रहरुमा निकै व्यस्त रहेका छन् ।

गौरी मल्ल :

नेपाली चलचित्र क्षेत्रकी एक चर्चित अभिनेत्री हुन् गौरी मल्ल । उनी पनि लामो समयको अमेरिका बसाइपछि नेपाल फर्किएकी हुन् ।

उनले धेरै नेपाली र केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन् । अभिनेत्री गौरी मल्लले सन् २००२ मा नेपालको ‘मोसन पिक्चर अवार्ड’ प्राप्त गरेकी थिइन् । त्यस्तै नेपालमा २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले ‘उत्कृष्ट सहायक अभिनेत्री’को अवार्ड पनि प्राप्त गरेकी थिइन् । अमेरिकाबाट नेपाल फर्किएपछि उनी पुन कलाकारिता क्षेत्रमै सकृय भएर लागिरहेकी छिन् ।

रमेश उप्रेती :

रमेश उप्रेती कलाकार गणेश उप्रेती र तुलसा उप्रेतीका सन्तान हुन् । उनी पनि अमेरिकाको बसाइलाई त्याग्दै नेपाल फर्किएर अभिनयमै रमाएका कलाकार हुन् ।

चलचित्र क्षेत्रमा त्यति जम्न नसकेका कलाकार हुन रमेश । तर पनि रमेश चलचित्र क्षेत्रमै संघर्ष गरिरहेका छन् । रमेश आफैंले पनि ऐश्वर्य नामक चलचित्र निर्माण गरिसकेका छन् । रमेशले अभिनय गरेको पहिलो चलचित्र रगत हो । नेपाली कथानक चलचित्र रगतमा उनले भिलेनको रोल निर्वाह गरेका छन् ।

त्यसपछि बनेको चलचित्र पराइ घर मा भने उनले नायकको भूमिका नै निर्वाह गरेका थिए । उनी आफैंले निर्माण गरेको चलचित्र ऐश्वर्याबाट उनी उत्कृष्ट अभिनेताका रुपमा सम्मानितसमेत भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *