२०८१ वैशाख १४ गते | 26th of April 2024

निर्मला प्रकरणमा निलम्बित एसपी विष्टसहित २० प्रहरीको पोलिग्राफ टेस्ट

खुल्लामन्च
 प्रकाशित: २०७५ असोज ९ गते ९:०१

कन्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणबारे २० जना निलम्बित प्रहरीको पोलिग्राफ परीक्षणको तयारी थालेको छ । एआईजी धीरु बस्नेतको नेतृत्वमा बनेको नयाँ छानविन समितिले निलम्बित प्रहरी अधिकारीहरू एसपी डिल्लीराज विष्ट, डीएसपी अंकुर जीसी, ज्ञानबहादुर सेठीलगायत २० जना प्रहरीको पोलिग्राफ परीक्षण गर्ने तयारी गरेको हो । घटनास्थलमा निर्मलाको सुरुवाल पखाल्ने प्रहरी जवान चाँदनी साउदको भने पोलिग्राफ परीक्षण भइसकेको छ । तर, रिपोर्ट आएको छैन ।

अनुसन्धान समितिले कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिका प्रमुखका भतिजा आयुष विष्टको डीएनए परीक्षण गरिरहेको छ । उनीहरुको डीएनए परीक्षण शुरु गरेको दुई हप्ता हुन लागे पनि रिपोर्ट अझै आउन सकेको छैन । यसअघि समितिले अनुसन्धानमा सुरुदेखि खटिएका जिल्लादेखि केन्द्रसम्मका १९ जना प्रहरी अधिकृतले प्रयोग गरेका सिमकार्डसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । अध्ययनपछि समितिले शुक्रबार साँझ सिम फिर्ता दिएको छ । समितिले सेनामाथि समेत अनुसन्धान गरिरहेको छ ।

प्रहरी प्रधान कार्यालयले बलात्कार र हत्याकाण्डमा लापरवाही गरेको भन्दै एसपी डिल्लीराज विष्टसहित केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसी, कंचनपुर प्रहरीका तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश भट्ट, कंचनपुर प्रहरीका अनुसन्धान अधिकृत इन्स्पेक्टर एकेन्द्र खड्का र अस्थायी प्रहरी चौकी सालघारीका प्रहरी नायव निरीक्षक (सई) रामसिंह धामी निलम्बनमा परिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *