२०८१ वैशाख ११ गते | 23rd of April 2024

नेजाद्दारा न्यूयोर्कमा अमेरिकी जनप्रतिनिधिसँग अन्तरक्रिया

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक १८ गते २:५७

न्यूयोर्क – नेपाली समुदायले अमेरिकामा छोटो अवधिमा समेत उल्लेखनीय उपस्थिति जनाउन सकेको भन्दैं अमेरिकी जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका छन् ।  अमेरिकामा नेपाली समुदायको विकासको इतिहास लामो नभएपनि पछिल्ला केही वर्षयता धेरैं क्षेत्रमा नेपालीले महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको भन्दैं अमेरिकाका जनप्रतिनिधिहरुले त्यसको प्रशंसा गरेका हुन् ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले शुक्रबार न्यूयोर्कमा आयोजना गरेको अमेरिकामा दक्षिण एसियाली समुदायको अवसर र चुनौती बिषयक अन्तरक्रियामा सहभागी अमेरिकी सरकारका विभिन्न अंगका जनप्रतिनिधिहरुले आप्रवासीहरुका लागि अवसरको देश अमेरिकामा नेपाली समुदायले समेत त्यसवाट लाभ लिन सक्नेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दैं न्यूयोर्क सिटि काउन्सिलका सदस्य रोरी ल्यान्सम्यानले अन्य आप्रवासीहरुको तुलनामा नेपाली समुदायले छोटो समयमै लोभलाग्दो प्रगति गरेको भन्दैं प्रशंसा गरे । उनले नेपाली समुदायले सदैंव इमान्दारिता र लगनशिलताको परिचय बनाएको बताउँदैं त्यसलाई जोगाएर भविष्यमा धेरैं उपलब्धी हासिल गर्न सक्ने दिशामा नेपाली समुदाय अगाडि बढ्नेमा आफु विश्वस्त रहेको जनाए ।

अर्का काउन्सिल सदस्य कोष्टा कन्सटेन्टिनीडेसले अमेरिका सबैको निम्ति अवसरको भूमि भएको बताउँदै एक आप्रवासिको रुपमा आफ्ना पुर्खाहरुले गरेको संघर्ष सुनाउँदैं समय लागेपनि अमेरिकामा सबैंले अवसरको उपयोग गर्न सक्ने बताए । उनले नेपाली र समग्र दक्षिण एसियाली समुदायले भाषिक र सांस्कृतिक चुनौतीहरुका बावजुत प्रशस्त सफलताका कथाहरु कोर्न सफल भएको बताए । यहाँ अवसरहरु यत्रतत्र छन्, तर हामीले चुनौतीलाइ मात्र देख्ने हो भने केही गर्न सक्दैनौ । ”उनले भने । कोष्टाले आफ्नो चुनावी क्षेत्र, डिष्ट्रिक २२, मा १ सय १९ भाषा भाषी बोल्नेहरु रहेको जानकारी दिदैं भने –यो अमेरिकामै सबैभन्दा धेरैं विविधता युक्त डिष्ट्रिक हो ।” कोष्टाले नेपाली सामुदायीक भवन निर्माण अभियानमा आफुले सक्दो सहयोग गर्ने समेत प्रतिवद्धता जनाए ।

ज्याक्सन हाइट्सको बेम्बो हाउस एण्ड बारको सभाहलमा सम्पन्न कार्यक्रममा एनआरएनए अमेरिकाका महासचिव बाबुराम लामाले नेपाली समुदायले अमेरिकन मुलधारमा आफ्नो पहिचान स्थापित गर्न संघर्ष गरिरहेको उल्लेख गर्दै फरक भाषा र संस्कृतिको कारण धेरै चुनौति व्यहोर्नु परेको बताए ।

उनले स्थानिय प्रशासन र सामाजिक संयन्त्रहरुमा पहुँच कमजोर हुँदा धेरै अवसरहरुबाट बन्चित हुनु परेको बताए । क्विन्स कम्युनिटी बोर्ड सदस्य तथा हिमालयन डेमोक्रेटिक क्लबका अध्यक्ष मोहन ज्ञवालीले स्थानीय राजनीतिक गतिविधि र सामाजीक कार्यक्रमहरुमा सक्रिय सहभागी नभएसम्म समुदायका सरोकारहरु सम्बन्धित निकायमा पुग्नै नसक्ने बताए ।  उनले राजनीतिक सहभागीतामा विशेष जोड दिदैं यसले हाम्रो समस्या र सरोकार बारे यहाको अमेरिकी समुदायले समेत जान्ने मौका पाउने जनाए ।

अर्का कम्युनीटि बोर्ड सदस्य नवराज केसीले सामुदायीक एकता नै अवसरको पहिलो शर्त भएको बताए । कार्यक्रममा अर्का सहभागी, बंगाली समुदायका अगुवा जोय चौधरीले ट्याक्सी चालकदेखी अमेरिकन आर्मी भेट्रान्ससम्मको आफ्नो कथा सुनाएका थिए । नेपाल विद्यार्थी संघ अमेरिकाका अध्यक्ष प्रभात सापकोटाले नेपाली विद्यार्थीहरुले भोग्नु परेका विबिध समस्याहरुका बारे प्रकाश पारेका थिए । सो अवसरमा गैर आवासीय नेपाली संघ ( एनआरएनए ) न्यूयोर्क च्याप्टर सभापति रामहरि अधिकारीले नेपाली मौलिक पहिचान स्थापित गर्न एनआएनएले गरेका विबिध प्रयासका बारेमा जानकारी दिएका थिए । नेजाका महासचिव किरण मरहठ्ठाले सहजीकरण गरेको कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासाहरुको सिटि काउन्सिल सदस्य रोरी र कोष्टाले सहभागीहरुले जवाफ दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *