1

‘मालती’ – कथा

31 पटक पढिएको

– लक्ष्मण सिटौला

सङ्लो नदी तर्दा जतिको आनन्द मैले कहिँ पाइन । भर्खरै उदाएको घामको कोमल किरण जति खुसी अरु कोहि देखिन ।
रुख पात बनबुट्टा र सल्लाघारीलाइ स्पर्श गर्दै महकिदै आएको  शीतल बतासमा जति शान्ति मैले अन्त भेटिन । चराहरु जति नजिकका साथी मेरा अरु कोहि भएनन । पहाडी उकालोमा गहिरो श्वास फेर्दै हिड्नुमा जति आनन्द मलाई कहि मिलेन। नीलो आकाशमा अपलक हेरेर एक्छिन एक्लै टोलाउनु जतिको  प्रसन्नता अरु केमा पाइन्छ होला र ! शरदको शीतल जुन जस्तै पर पर पल्लो गाउँतिर बज्दै गरेको मालाश्री धुनमा जति रमाइलो अरु कुनै गीतमा पनि मिलेन ।

यो शरदको शारदीय बिहान कहिले नअस्ताय हुने । घामले चुमेको पहाडहरु माथी कहिले रात नपरे पनि हुने । हिमालबाट बग्दै हेलिदै आएकी त्रीसुली किनारमा बसि जिन्दगीका खुशीका अमृतमय आँसु अलिकति मिसाय मैले पनि । यो उल्लास उमंग , यो चपल चन्चल,यो निशब्द नीनाद, यो घनघटा यो साउती तिमीसग गरिरहन पाँउ प्रकृति । रुदामा पनि तिमी हासिरहे जस्ती । नयाँ दुलही जस्ती हरियो बनको घुम्टाे ओढेर लुकि लुकि हेर्छ्यौ मलाई । मानिस दुखी र सुखी त आ आफ्नै सोच र सस्कारबाट नै प्राप्त हुने त होला । म देख्छु कति गरिब परिवार कति धेरै रमाएर जिन्दगीको उकाली ओराली खुसी र आनन्दले पार गर्दै छन ।

मैले देखेको छु एउटा गरिब तर सुखी परिवार हाम्री गाउँकि पाकु दिदीको ।

तपाईहरु कसैले पत्याउनुहुन्न होला है ! कि पाकु दिदीले लेकमा घाँस जादा बच्चा जन्माएर डोकोमा हालेर ल्याउथीन भन्ने !

बिश्वका महानतम गरिब मान्छे मध्य पाकु दिदी पनि एक थिइन ।
अस्पताल र ओखति केहो था छैन पाकु दिदीलाई । सुत्केरी भनेको के हो ? सुतक भनेको के हो? सुत्केरीले मीठो मसिनो ज्वानाको झोल घ्यू खानुपर्छ भन्ने थाहा छैन पाकु दिदीलाइ । तिन्को लोग्ने ( लोकते दाइ) पाकु दिदीमाथी केवल उक्लिन्थे मात्रै उक्लेपछी बच्चा भैहाल्ने कुन श्राप परेको हो कुन्नी यी दुई जोइपोइलाइ भन्थे गाउँलेहरुले । तर ! ती चै भने सधैं मुस्कुराएको देखिन्थे ।

अचम्म त त्यो थियो कि हरेक छाक पिठो वा चामल उनीहरू पैचो लगेरै पकाउथे । अनि जुन घरबाट खाने अन्न लिएर जान्थे त्यही घरको खेतबारीमा काम गर्न हाजिर हुन्थे । जुन श्रमलाई तिन्ले पुजा गर्थे त्यही श्रमलाइ गाउँका ठुलोठालो पल्टनेहरु भन्ने गर्थे “यिनीहरूलाइ कस्को श्राप परेको होला” ?

एउटा गज्जबको बानी थियो लोकते दाइमा ।

पाकु दिदी बर्सौटे थिइन । मेरो मतलब बर्षपिछे बच्चा जन्माइरहने । दिन्भर मजदुरी गर्थे बुढाबुढि । बेलुकी अलिकति झुम्म लाग्ने तिनपाने लगाउथे । गाउँमा बेलुकीको खाना ६ बजे तयार हुन्छ । खाना खायसि जाडो महिना छ भने अगेनामा आगो ताप्ने , गर्मी महिना छ भने लामखुट्टे धपाउने गुइठा सल्काउने अनि सुत्ने । दिन्भरको थकाइले निन्द्रा पनि कहाँ राम्रो आउँछ र अनि तीन पाने पियो एक्छिन मात्तियो, एक्छिन तात्तियो सुत्यो ।

यसैगरी गरि पाकु दिदीले चार छोरी जन्माइ सकेकी थिइन ।मेलापात घाँस दाउरा जादा अरु लोग्नेमान्छे सग पनि जिस्किन्थिन तिनी । उन्ले सोचेकी थिइन पुरुष भनेका त्यही बच्चा जन्माउने गुलेलि लिएर मात्रै जन्मेका बज्रस्वाठ हुन । उनी लोकते दाइलाइ त्यस्तै ब्यवहार गर्थिन र भन्ने गर्थिन “मेरा पोइलाइ राम्रो पनि चाहिन्न , मीठो पनि चाहिन्न , सफासुघर पनि चाहिन्न , नुहाउन पनि पर्दैन ,रोपाइमा होस कि कोदो रोप्दा वा मङ्सिरको धान भित्र्याउदा होस , दिउँसो जे लायो राती पनि त्यही लायो सुत्यो “।

लोग्नेस्वास्नी भएर बेलुकी आधामाना कोदाको झोल पिए मस्त! अगालो मारे निदाए । सबैको ओछ्यान एउटै अगेना वरिपरि । चार छोरी र दुई जोइपोइ मझेरीमा सोत्रान । कहिलेकाही म बिहानै पुग्थे लोकते दाइकोमा मेला डाक्न । पुग्दा लोकते मस्तले घुर्दै हुन्थे । पाकु दिदी चै गाई बस्तुको भकारो सोहोर्दै हुन्थिन बिचरी । भत्किएको पिढि भएनि लिपपोत गर्थिन । तिन्को जागर देख्दा चै
अचम्म लाग्थ्यो । 

ठुली छोरी मालती १४ बर्षको भैसकी । गाउँमा स्कुल त छ नि। तर पढ्न जान मान्दिन । अर्कि माइली मुना १३ बर्षकि भै छ । उ पनि केहि दिन स्कुल गएर छोडेकि । बरु साइली सुकु चै जान्छे । तीन दिदीबैनी उल्का राम्रा छन । मिजासका छन । जेठी अगेनामा भात पकाउछे । माइली बन गएर घास दाउरा गर्छे । साइली सुकु घर धन्दा गर्छे । पानी लिन सिम्लाको पखेरो धाउनुपर्छ । पाकु दिदी र लोकते अहोरात्र अरुको मेला नगए यिन्लाइ खान पुग्दैन ।

गज्जब छ जिन्दगी ! जस्लाइ हामी गरिब भन्छौ ती हामी भन्दा धेरै सुखी छन । खुसी छन। इमान्दार छन ।प्रसन्न छन । प्रेमिल छन । लोकते दाइ भन्थे “तीन बीस दुई भए भाइ अहिलेसम्म टाउको समेत दुखेको छैन ” । लोकते दाइ एउटा सोझा किसान । किसानहरु प्रायः सबै सोझा हुन्छन । एउटा सानो पराले झुपडी । त्यही पनि बर्खामा चै अलि अलि पिढिमा पानी चुहिन्थ्यो । पानीको धारले रातो माटाेले लिपपोत गरेको पिढि खोपिल्टाे पार्दा समेत छाउने जागर नचलाउने तिनै हुन लोकते दाइ । अरुका हराभरा पार्छन तिनी तर आफ्नै भने चै छानो चुहिन्छ ।

पाचौं बच्चालाई पनि पाकु दिदीले पुड्कन्चीको छागामा पाइन ।
त्यो छागा वरिपरि धेरै हरियो घाँस पाइन्छ । म सधैं देख्थे पाकु दिदीको ठुलो पेट । जुन दिन पेट घटेको देख्थे अनि सोच्थे ल यिन्ले बच्चा जन्माइछन । के पायौ पाकु दिदी यो पाली चै भन्थे म । अनि उत्तर आउथ्यो “उही त होनि ! पोहोर जे पाको यो पाली पनि त्यै” । छोरी छोरी मात्रै पाएर तिम्लाइ अब बच्चा नपाउ भन्ने लाग्दैन” ? म सोद्थे तिन्लाइ । अनि उत्तर जहिले नि रेडिमेट आउथ्यो “खै र तिम्रा लोकते दाइले मानेका ? तिन्पाने घिचेसी चल्न आउछन अनि बर्सेनि जन्मिन्छन राडहरु । मैले चाहेर के हुन्छ र मनु भाइ ?”

कुरो सहि हो पाकु दिदीको । आइमाईले चाहेर पनि के होस बरा ।
निरिहता बोकेर बाचे पनि हास्छिन तिनी । घासको भारिमाथी कति बोकेर ल्याइन तिन्ले रगत र सालनाल सहितको शिशु । रगत मिसिएको घाँस कति खाए होलान् तिन्का गाइबस्तुले । खोइ कसरी पाउछिन होला तिन्ले एक्लै लेकमा बच्चा ? कसोरि सहन्छिन होला सुत्केरी ब्यथा । तिनी रगत लत्पतिएको फाटेको फरिया लगाउदै शिशु लाई भारी माथी पटुकिले बेरेर ल्याउथिन ।

ठाँउ ठाँउमा टालेको फरियाको रङ्ग पनि भिन्नभिन्न देखिन्थ्यो ।
घरमा आएसी घ्याम्पोमा पीठाे हेर्थिन रे । अनि मलखाडिमा लहलह भएको साग मिसाएर खोले पकाउथिन र मज्जाले खान्थिन । लोकते बेलुका मेला बाट फर्केर आउदा ” फेरि पनि छोरी नै पाइछ ” बस यति मात्रै भन्थे रे उनी । जेठी माइली साइली सम्मको न्वारान गरे तिन्ले पछि त झन्झट लाग्न थालेछ न न्वारन न पास्नी न सुतक । बर्ष पिछे बैनी थपिएको देखेर ठुली छोरी मालतीलाइ पनि दिक्क लाग्न थालेछ ।

” हाम्रा बा आमा सुत्केरी भाको दुई महिना पुगेको हुदैन तिनपाने पिएर चल्न थाल्छन” ठुलीले मेला जादा कुरा काटेको लोकते दाइले था पाएछन । एक दिन अगेनोमा झोक्राएर बसेको बेलामा भएन हैट अब त लाजै भो भनेर परिवार नियोजन पो गर्न परो भनेर पाके दिदी सग सल्लाह मागेछन

” होइन ओइ पाकु ? छोरीले त गाउँभरी हल्ला गरिछ नि”
” के भनी छ र “?
” खै के के भनी रे हाम्रा बा आमालाई कति चाहिया हो बच्चा रे”
“ठुली ले भनिकी रे “?
” हो के। अब पुगो हौ । म भोलि बिहानै भद्रुटार हस्पिटल जान्छु ”
” किन र “?
” परिवार नियोजन गर्न नि अब किन हुनु ”
” पैसा लाग्च होला नि फेरि को सग दारा ङिच्याउनु र ? ”
” लाग्दैन होला “?
” अ तिम्लाइ भनेर सित्तैमा गर्दिन्चन होलान् नि नियोजन। साच्चै
ए बुढा यो नियोजन भनेको क्या हो ह ?
” खसी पार्नी हो क्या ”
” के भन्नू हुन्छ हौ अहिले चै तपाईं बोका हो र ! छि के भन्दा हुन ”
” लौ हेर थाहै रैन्च यल्लाइ ?
” अनि के हुन्छ त भन्नुन खसी भएपछि बच्चा हुन्नन र “?
” हुन्नन क्या हुन्नन ”
” हो र पक्कै हो? फेरि भयो भने त पैसा फिर्ता माग्न पर्च नि ?
” के त उसो भ जाम्त पर्सि ? कसैको नि मेला छैन त्यो दिन “?
” अर्को पाली चै छोरा पो हुन्थ्यो कि के था ? कतै भगवान दायिना
पो हुन्छन कि बुढा । कि एक बर्ष रोकि ने हो ?”
” हैट के भन्छे राड , यहाँ बेजत भैसको आफ्नो”
” ल ल भो जानो पर्सि । खसी भएपछि चै म भाठा चल्न नआउनु
अहिले भन्देछु । तिनपाने पिएसी तिम्लै सकसक लाग्छ
मलाई त के ! आफ्नो बिचार ”

पर्सिपल्ट कसैको मेला थिएन । अलिकति पैसा सापट लिगे गोकर्ण सग र चले बिहानै लोकते दाइ भद्रटार हस्पिटल । हस्पिटल पुगेसी तिन्ले भने “म खसी बन्न आएको” भनेर डाक्टरलालाइ । डाक्टरले कुरा बुझे र भने श्रीमतीको अनुमति लिनुभाछ? लिएछु क्यारे ” भनेछन । नभन्दै आधा घन्टा अगाडि सम्म लोकते दाइ बोका थिए । आधा घन्टा पछाडि तिनी खसी भए । अघि फटाफट हिडेर आएको त्यही बाटो अहिले गाह्रो पो लागेछ तिन्लाइ । घर पुगे । पाकु पनि बुढा कतिबेला आउने हुन खसी भएर भन्दै पिढिमा झोक्राएर बसिरहेकि थिइन । लोकते दाइ पुगे । फ्यात्त भैमा बसे । १५ दिन अगाडि लेकमा जन्मेकी शिशु
चिसो भैमा लडिरहेकि थिइ ।

” खसी बन्नु भो ”
” बनेनी ”
” कति पैसा लाग्यो त ?”
” एक पैसा नि लेनन । अझै डाक्टर भन्दैथे गाउँमा अरु पनि धेरै
बच्चा जन्माएर बसेकालाइ बोकाहरुलाइ सम्झाएर खसी बन्न
हस्पिटल जानू भन्दिनुन भलो हुन्छ भन्दै जुस पो ख्वाएर पठाए
” आम्मै जुस पनि खौदा रैचन म नि जान्थेनी ”

धाप्पिएर घर पुगेका थिए तिनी । अस्ति पारेको बासी महि थियो ठेकिमा सारेर ल्याइ पाकुले । एक कचौरो महि पिएसी अमिलो डकार्दै लागे सिम्लाको पखेरामा एक डाेको घाँस ल्याउछु भन्दै । सरल मान्छेको सरल जिन्दगी जस्तो त्यही घर मुनि बगिरहेको स्याल्पिङ्गे खोला झै बगिरहेको थियो । स्याल्पिङ्गे आफ्नै गतिमा बग्न थालेको सदियौ भयो एकतमासले बगिरहेको छ मैले देखे देखि त्यो त्य्स्स्तै छ । त्यो कहिले रोकियन । मैले थापाए देखि ती लोकते दाइको जिन्दगी पनि त्यतिकै एकनासले बगिरहेछ । परिवार नियोजन लाई खसी पार्ने भन्थे गाउँमा । गाउँले एक आर्कालाइ सबलाइ थाहा छ को को खसी भएको छ भनेर । गाउँमा सबको हिसाबकिताब एकले आर्काको राखेको हुन्छ ।
लोकते खसी बनेर आएको पनि गाउँमा एकाएक हल्ला फैलियो ।

स्वारथोकको जगमान बुढा भन्दै थिए – “अलिक दिन लोकतेलाइ काममा नलगाउनु खसी भएर आएपछि एक हप्ता सम्म आराम गर्न दिनुपर्छ ” । बासकोटेको रामबहादुर भन्दै थिए ” बिचरो घरमा खाने अन्न त छैन के खाएर तङ्ग्रोस” । पारथोकका पाठक कान्छा ले पनि था पाएछन र बोल्दै थिए ” एक माना घ्यु खानुपर्छ लोकते अब पहिलाको जस्तै हुनलाई ” । खोप्राबारी जेठा बा पनि बोल्दै थिए ” मैले पनि अप्रेसन गरेपछि दुई हप्ता आराम गरेको। मीठो चोखो नखति कुरा खानुपर्छ अब अलिक दिन लोकतेले ” ।

हरेक दिन मेलामा यहि कुरा सुनिन्थ्यो ।

मलाई अचम्म चै यस्मा लागिरहेको थियो कि हरेक बर्ष पाकु दिदीले लेकमा घाँस जादा बच्चा पाएर ल्याउथिन कसैले भन्दैनथे यिनी सुत्केरीबा, यिन्ले आराम गर्नुपर्छ । यिनी कमजोरी छिन यिन्ले केही हप्ता ताकतिलो कुरा खाएर घरमा बस्नुपर्छ भनेर तर अहिले एउटा सामान्य परिवार नियोजन गरेर आएको लोकतेलाइ चै यत्रो ख्याल राख्छन गाउँलेले । यो विभेद किन ? स्त्रीको चै ज्यान होइन र ? मलाई अचम्म लाग्थ्यो किन नारी र पुरुषमा यो विभेद !

सुत्केरी हुँदा कति रात अलौटा मकै खाएर सुतिन पाकु दिदी ।
सालनाल र शिशु पटुकिमा पोको पारेर फेदिगाउ बाट झर्थिन घाँस बोक्तै पाकु दिदी। कसैले सोद्दैनथे तिन्लाइ एक माना चामल लगेर पेटभरी भात पकाएर खाउ भनेर। तर आज लोकते खसी भएर आउदा चै यत्रो सोधिनिधी !

गाउँलेको करकापले लोकते दाइ केही दिन मेला गएनन ।

छोरिहरु पनि खुसी भए कि अब आमाले अर्को बैनी पाउदिनन भनेर । तिन्ले भाइको आशा कहिले राखेनन । जेठी मालतीले सोच्दै थिइ कि मैले बाउको कुरा काटेर ठिक गरिछु । कमसे कम बुढाले परिवार नियोजन त गरेर आए । छोरीहरुले देखेका थिए हरेक रात आमाको सुत्केरी कन्तबिजोग । तिनीहरूले भोगेका थिए तिनपाने पिएपछि बाउ र आमाको हर्कत । अब त अप्रेसन भो तिनपाने पिए पनि बाउले त्यस्तो हरकत नगर्लान र फेरि फेरि आमा सुत्केरी नहोलिन ।

एउटा सुखी परिवार दुखी परिवारमा परिवर्तन हुँदै गैरहेको ती छोरीहरूले महसुस गर्न थालिसकेका थिए । जेठी मालती पन्ध्र पूरा पुगेर सोर्ह बर्ष लागिसकेकी थिइ । गरीब नै भए पनि ज्याला गरेर लोकतेले छोरीहरूलाइ भोकै चै कहिले राखेका थिएनन् । खोले नै खाए पनि पुस्ट थिए नानीहरू । भात खाने साहुका छोरीहरु भन्दा ज्याला गरेर खोले खाने लोकतेका छोरीहरु असाध्य रसिला भरिला थिए । यहि भन्थे गाउँले पनि । मेला गाका ठाउमा गाउँका अल्लारे ठिटाहरुले जिस्क्याउन सुरु गरिसकेका थिए मालतीलाइ । लोकते र पाकुको जिम्मेवारी दिन प्रतिदिन थपिरहेको थियो ।

सबैभन्दा दुखको कुरो त भन्नै बाकी छ मैले । पाकु दिदी फेरि दुई जिउकी भइन । छोरीहरूमा निराशा छाउन थाल्यो । गाउँलेले मेलापातमा हल्लिखल्ली मच्चाउन थाले ” लोकतेले अप्रेसन गरेको छ पाकुले फेरि भुडी बोकि” । भुडी त बोकि तर कस्को भुडी बोकि । भुडी त यसै बोकिदैन । बोकाइदिने अरु कोहि बोका हुनुपर्छ । त्यो बोकाको खोजी हुनुपर्छ भन्ने मान्यता राख्यो गाउँलेले । पाकुको श्रम ,मजदुरी ,पसिना ,ज्याला ,भोक, रोग इमान्दारीता र अहिलेसम्मकै सोझोपनको कसैले मुल्यांकन गरेन। तर जव लोकतेले अप्रेसन गरिसकेपछि पाकुले पेट बोकि गाउँलेको निद हराम भो । छोरीहरू लाई छेड्ने काम हुन थाल्यो । ” मालती तेरी आमाले कस्को पाप बोकि थाहा होला भन्न ” ?। मेलामा मालतीलाइ यसरी गाउँले हरेक दिन केरकार गर्न थाले । मालती रुन मात्रै सकेकी छैन । उ घरमा आमा सग पनि बोल्दिन।बाउ सग पनि बोल्दिन । बैनीहरु सग पनि बोल्दिन । आमाको मुख पनि हेर्न छोडेर गाई गोठमा गएर एक्लै सुत्न थाली ।

मङ्सिरको धान काट्ने बेला थ्यो । बाउ मेला गएको ठाँउमा मालती जान्नथी । उ अर्कैकोमा जान्थी । लोकतेलाइ गाउँलेले फ्याउ फ्याउथी पार्न थालेका थिए ” लोकु तेरी बुढीले फेरि पेट बोकि रहस्य के हो ” ? । गाउँलेले सिधै भन्न सकेका थिएनन् । घुमाउरो पाराले कुरा धुत्न खोज्थे । पाकु र लोकते अब सगै मेला हिंड्न् छोडे । दुवै अलग अलग । आलोचना सहनु भन्दा बरु बेग्लाबेग्लै मेला गयो भने कचकच त सुन्न पर्दैन भन्ने कुरो तिन्का मनमा आयो कि खै के हो ।

पाँचौ बच्चा जन्माइ सकेकी पाकु सग अझै हिम्मत छ । एउटा बच्चा नाफामा फेरि पेटमा आयो । उ चुपचाप छे । पुरुषले भन्दानी महिलाले सोधपुछ गर्थे र उसलाई यो अनावश्यक तर्क बजानले गर्दा मेला पनि नजाउ जस्तो लाग्न थालिसकेको थियो उस्लाइ तर नगएर पनि के गर्नुर सात जना जाहानको पेट त पाल्नै पर्यो नि फेरि ।

एकदिन मालती निहुरेर धान काटि रहेको बेलामा सुनखानी गाउँको समर सिहको नातीले जिस्क्यायो ।

” ओइ मालती मसग बिहे गर्छेस”!
” के थात मलाई !”

मालती लजाइ। हुन्छ पनि भनिन । हुन्न पनि भनिन। बिहे उस्को बसको कुरो पनि थिएन । मालती जता जता मेला जान्थी उतै उतै धाउन थाल्यो समर सिहको नाति लालसिङ पनि । केटो खाइलाग्दो थ्यो । लरक्क परेको । जात चै नमिल्ने । मालतीलाइ चार दिन पछ्यायो लालसिङले । अन्तत पगाल्यो ।
मेला सकियपछी उनीहरू अधेरी दोभानको पाटिमा बसेर गफ गर्थे । जोडी चै मिल्थ्यो लालसिङ्ग र मालतीको। सलक्क बढेको । घोर्ले बोको जस्तो थियो तामाङको छोरो । हामी जिस्काउदा चै लालसिङ्गे भन्थ्यौ उस्लाइ । सुनखानी बछला प्राबिमा सगै पढेको । मालती पनि सानोमा बछला प्राबिमा दुई चार महिना पढ्न गकि रैछ ।

केही दिन देखि मालतीलाइ निन्द्रा आएको छैन । घरमा था छैन कसैलाई पनि । एक दुइ चोटि माइली बैनीले सोधेकी थिइ उस्को उदासीपन तर केही बोलेकी थिन मालती । उ बेग्लै सुत्छे गाई गोठमा । आमा प्रती नकारात्मक छे । बाउले परिवार नियोजन गर्नु अनि आमाले पेट बोक्नु , यो कुराले उस्को मन खाइरहेको थियो । झन मेलामा दिनदिन दुनियाँलाई जवाफ दिदैमा थाकेकि थिइ उ । गज्जव छन गाउँले पनि । कुरा काट्न नम्बर एक ।

अरुको दुखमा हास्ने । खिल्ली उडाउने र खुचिङ्ग भन्ने । गाउँका हुर्केका चेलीबेटी जिस्काउने । धारोमा गाग्री राखेर घन्टाै बिताउने । तर्कारी पकाएको देखि जोइपोइ सुतेका , कोपरा देखि थाल सम्मका गफ गर्छन पधेर्नीहरु ।  लालसिङले फकाएछ तर मालतीलाइ भने एउटा चिन्ता थ्यो । आमाले इज्जत फालेकी नै भए पनि भाइबहिनीको भविस्य के होला भन्ने । लालसिङ्गसग भागेर जाने निधो त गरि तर यस्ती आमा कि छोरी पोइल नगए के गर्छे त ! भनेर फेरि तिनै गाउँलेले कुरा काट्न थाल्छन भोलि मेलापातमा । के गर्नु के नगर्नु दोधारमा परि मालती । १६ बर्षको बैशालु यो उमेरमा उसलाई पनि लाउलाउ खाउखाउ रमाइलो गरु भन्ने चाह हुन्छ नै। एउटा आफ्नो कोहि केटा साथी होइदेओस भन्न चाह हुन्छ सोर्ह सत्र लागेका बैशालु युवतीहरुलाइ । उ चाहन्थी आफ्नो परिवारको आर्थिक अवस्था सुधार होस । उ चाहन्थी बुढो भैसकेका बाबू त्यहाँ माथी पनि अप्रेसन गरिसकेकालाइ कति ज्याला मजदुरि गर्न पठाउनु ।

एक्दिन पाकु अगेनामा सानी बैनीलाई तातो पार्दिदै झोक्राएर बसिरहेकी थिइ । यो दृश्यले मालतीको आमा प्रतिको स्नेह उर्लियो। उस्ले मनमनै सोची । ह्या म पनि किन बेफ्वाकमा  आफ्नै आमा प्रती पाप चिताउ । न बा बाले अप्रेसन गरि भनेर यतिकै ढाटेका पो हुन कि के था लोग्नेमान्छेको जात हो नि ? आमा प्रती न कतै घोर अन्याय पो भा छ कि के था ? म त अलिकति बुझेकी दुइचार अक्षर पढेकी छोरी पो त । आमा नजिक गएर बसि भैमा थुचुक्क । छोरी नजिक आएर बसेकीले पाकुले पनि हेरि पुलुक्क । आमा छोरीको लामो गन्थन भो । अब भने आमा प्रतिको उस्को बिश्वास बढ्यो । भरे बेलुकी बाउ मेलाबाट आएपछि सोधपुछ गर्ने निधो गरि मालतीले । 

बेलुकी भो । बा मेलाबाट आए । थाकेर आएका लोकते दाइ परालको पुरानो चकटि ओछ्याएर अगेनो छेउमा बसे । सिल्बरको कसौंडीमा भात छढ्किदै थ्यो ।

” हैन बा तपाईंले अप्रेसन त गर्नुभएको हो ?”
” हो नि किन सोधेकि “?
” अनि आमाको यो हालत किन त फेरि “?
” छोरी मान्छे भएर तलाइ यस्ता कुरा सोध्न लाज लागेन “?
” यहाँ गरीबीको कारण प्रतिदिन अरुसग मागी खान लाज भएन
अनि मैले आमाको यो हालबारे सोधपुछ गर्न केको लाज बा “?
” सोध्न तेरि आमालाई मलाई मात्रै के सोध्छेस ”
” सोधेत मैले आमालाई पनि “?
” के भन्छे त “?
” बिचरी आमाको केही दोष छैन”

चुरो कुरो पत्ता लागेन । आमाको पनि गल्ती छैन । बाको पनि गल्ती छैन । आखिर दोष कस्को थियो त ? मालती अवाक भैरहेकी थिइ । समस्या सुल्झाउन सकिएको थिएन । गरिबीका कारण काम छोडेर कतै हिड्ने कुरा पनि भएन । एकदिन लालसिङ पाकुको घरमा आयो र मालतीको हात माग्यो । लोकते लाई केही पैसा दिएर भए पनि फकाउने निर्णय गर्यो उस्ले। पाकु र लोकते एकै भए । जात मिल्दैन । “कसरी सरासर थापाकी छोरी तामाङ्गलाइ दिनु यो कुरा गर्न मिल्दैन” भनी पाकुले । लालसिङ्गले फकाउदै भन्यो ” यो घरको समस्या मेरो समस्या हो । भन्नुन बरु म हजुरहरुलाइ ऋण तिर्न मद्धत गर्छु र बिहे गर्दा खर्च पनि गर्न लगाउदिन। मालती मलाई मन पर्यो अनि उ पनि मलाई मन पराउछे ” पाकुलाइ पनि आशा लाग्यो कि गजमाने साहुको ऋण तिर्न पाए त मुक्ति मिल्ने थ्यो भनेर । मालतीलाइ एक्दिन एकान्तमा बोलाएर सोधपुछ गरि पाकुले कि उसलाई लालसिङ मन परेको छ त? मालतीले भनी “आमा लालसिङ कस्तो मनकारी छ तपाईंहरुला के थाहा ? त्यतिको केटा भए मलाई हुन्छ र अनि कुरो रह्यो जातको । माथी आघेटारको सरु पनि त पुडि गाउँको श्याम सुन्दर परियार सग पोइल गएकी हो नि खै अहिले सरु घर माइति गरिराकी छे त !” झन लालसिङ्गले हाम्रो ब्यवहार पनि मिलाइदिन्छु भनेका छन नि ।

के कति लेनदेनको कुरा भो कुन्नी अब लालसिङ्ग सग मालती बिहे गर्ने भै । पैसाकै कारण पाकु र लोकते मिले । बिहे त खास के हो र एक्दिन आफ्नो लुगाफाटो बोकेर मालती लालसिङ्गको घर गै । बैनीहरुले धेरै दुख माने कि दिदी बिहे नै नगरी लालसिङ्ग सग गै भनेर । केही दिन घरमा शुन्यता छायो । “टीकाटालो सम्म भनेनी गर्नुपर्थ्यो नि बिचरीको । त्यतिकै पैसा लिएर लालसिङलाइ जिम्मा लाएछन लोकतेका बुढाबुढिले आफ्नी छोरी “

आखिर फेरि गाउँलेले भन्नी कुरा पाए ।

सबैभन्दा ज्ञानी छोरी , आफुलाइ सघाउने छोरी , हुर्केकी छोरी मालती अब पराइ घरमा गइ । गच्छे अनुसारको बिहे त गर्नुपर्ने थ्यो तर त्यसो हुन नसके पनि नारायण पुजा मात्रै भए पनि पुजेर दिनुपर्ने थियो । यो कुराले पाकुको दिल बहुतै दुखित थियो । गरीबी भनेको मान्छेको बिवशताको घाउ रहेछ यहि कुराको बोध भो उसलाई ।

 

तपाईको प्रतिक्रिया

मुम्बई - नायिका दीपिका पादुकोण र नायक रणवीर सिंह बिहे गनृका लागी इटाली पुगेका छन् ।उनीहरुले.. ...

न्यूयोर्क - विश्वभर छरिएर रहेका नेपालीहरुलाई एउटै मालामा गांस्ने अभियान शुरु भएको छ । सबैको.. ...

- लक्ष्मण सिटाैला तिमी एक्लो हुनुलाइ अभिशाप भन्छ्यौ तर म भन्छु एक्लो हुनु सिर्जनात्मक हुनु.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...