२०८१ वैशाख १४ गते | 26th of April 2024

महालक्ष्मीको धुमधाम पूजा, आज

खुल्लामन्च
 प्रकाशित: २०७५ कार्तिक २१ गते ५:१३

यमपञ्चकको तेस्रो दिन आज घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज दिनभरी ब्रत बसी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरी घरघरमा दीपावली गर्ने चलन छ । आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी भर्‍याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गर्नाले त्यस घरमा लक्ष्मीको बास हुने र सम्पन्नता छाउने धार्मिक विश्वास छ ।

आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवं अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्ला वा माटोको दियोमा बत्ती बाल्ने गरिन्छ । आज साँझमा दीपावली गरिसकेपछि गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्ने चलन छ ।

सत्ययुगमा भगवान विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बलीले भगवानलाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण दिएको भन्दै आज बलिराजाको पनि बिशेष पूजा गर्ने गरिन्छ । आजदेखी विभिन्न समुह बनाएर घरघरमा गई देउसी भैलो खेल्ने गरिन्छ । आजै लक्ष्मीको अवतारको रुपमा गाईको श्रद्धापूर्वक पूजा गर्ने चलन छ । वैदिक सनातन धर्ममा गाईको स्थान उच्च छ । हिन्दु धर्ममा आमाको रुपमा हेर्ने गाईका हरेक कुराहरु पूजनीय मानिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *