काठमाडौं – ‘मिस नेपाल–२०१८’ श्रृंखला खतिवडा ‘मिस वर्ल्ड–२०१८’को भोटिङमा एक नम्बरमा कायम छिन् । भोटिङका लागि दिएको समय सकिनै लाग्दा श्रृंखला प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।
‘मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते चीनको सान्यामा हुनेछ । प्रतियोगिका विभिन्न चरणमध्ये अहिले भोटिङ भइरहेको छ । भोटिङमा अहिलेसम्म श्रृंखला ३७.०४ प्रतिशत भोट ल्याएर सबैभन्दा अगाडि छिन् ।
मंगोलियाकी सुन्दरीले १०.७६, भारतीकी सुन्दरीले ६.९४, काजकिस्तानकी सुन्दरीले ६.०१ प्रतिशत मत प्राप्त गरेका छन् । श्रंखलाले अन्तिम समयसम्म पनि आफ्नो अग्रता कायम राखिन् भने उनले मल्टिमिडया अवार्ड भने पाउने छिन् । त्यसपछि उनी आफैँले प्रतिस्पर्धीलाई पछि पार्नुपर्नेछ ।
सामाजिक सञ्जाल ‘मोभस्टार’मा गएर श्रृंखलाको तस्बिर तथा भिडियोमा लाइक, सेयर तथा कमेन्ट गरेका आधारमा उनको भोट काउन्ट भइरहेको छ । यस्तै फेसबुकमा गएर लाइक, कमेन्ट र सेयर गरेको खण्डमा पनि भोट काउन्ट हुन्छ । भोटिङका लागि खुला गरिएको समय भोलि (बुधबार) सकिँदैछ ।
विश्वका १२१ देशका सुन्दरीहरु प्रतियोगितामा सहभागी छन् । श्रृंखलाले सामाजिक सञ्जालबाट आफूलाई भोट गर्न आग्रह गरेकी छन्। जतिसक्दो धेरै आफ्ना तस्बिरमा लाइक, कमेन्ट र सेयर गर्न उनले आग्रह गरेकी छन् ।
उनले प्रतिस्पर्धी विभिन्न देशका सुन्दरीहरुलाई नेपाली भाषा बोल्न र गीत गाउन आग्रह गर्दै भिडियो पोस्ट गरेकी थिइन् । उनले आफ्नो भिडियोमा आफूलाई भन्दा पनि नेपालको सुन्दरतालाई देखाएकी छन् । उनले बौद्ध स्तुपदेखि सगरमाथासम्मलाई भिडियोमा समावेश गरेकी छन् ।