२०८१ वैशाख १३ गते | 25th of April 2024

इन्जिनियर्स एसोसिएशनमा प्रधान नेतृत्वको लोकतान्त्रिक प्यानल बलियो

खुल्लामन्च
 प्रकाशित: २०७५ मंसिर १५ गते २:१७
काठमान्डौं – इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समितिको निर्वाचनका लागि लोकतान्त्रिक समूहको तर्फबाट इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा गरिएको छ ।
घोषित प्यानल अनुसार उपाध्यक्षमा डाक्टर चण्डिका प्रसाद भट्ट, महासचिवमा अभिमन्यू लाल सिंह, उपमहासचिवमा अशोक कुमार शाह, कोषाध्यक्षमा अपील केसी र सहकोषाध्यक्षमा जानुका थापा रहनु भएको छ । त्यस्तै सदस्यहरुमा सागर श्रेष्ठ, सुजन भट्ट, प्रकाश बुढा, अनिल मानन्धर, सूर्य बहादुर पाण्डे, राजेन्द्र दुलाल, एभरेस्ट केसी, ज्योति मणि भट्टरार्ई, भेषराम पोख्रेल, उमेश प्रसाद चौधरी, सुदर्शन भण्डारी र दिनेश अर्याल रहनु भएको छ । नेपालको समग्र इन्जिनियरिङ क्षेत्रलाई अत्यन्त सुक्ष्म ढंगले बुझेका प्रधानको नेतृत्वमा प्यानल घोषणा भएपछि देशभरका इन्जिनियरहरु निकै उत्साहित भएका छन् ।
आ–आफ्नो क्षेत्रका विज्ञहरु आबद्ध प्रधानको समावेशी प्यानल उत्कृष्ट रहेको उनीहरु बताउँछन् ।  भारतबाट सिभिल इन्जिनियरिङमा बिई तथा प्राविधिक शिक्षामा अमेरिकाको ओक्लोहोमा स्टेट यूनिभर्सिटीबाट स्नातकोत्तर तह पूरा गर्नु भएका प्रधान राष्ट्रिय योजना आयोगका पूर्व सदस्य समेत रहिसक्नु भएको छ । योजना अयोगको सदस्यको रुपमा मुलुकको भौतिक पूर्वाधारको विकासमा प्रधानले निर्वाह गर्नु भएको भूमिका अत्यन्त प्रशंसनीय मानिन्छ । मुलुकमा निजी तहमा इन्जिनियरिङ शिक्षा प्रवेश गराई त्यसलाई स्थापित गराउने वरिष्ठ शिक्षासेवी प्रधान मुलुककै प्रतिष्ठित काठमाडौं इन्जिनियरिङ कलेजका संस्थापक प्रमुख हुनुहुन्छ ।
अन्य उम्मेदवारको पृष्ठभूमि :
प्रधानको प्यानलमा रहनु भएका अन्य सबै इन्जिनियरहरु पनि आ–आफ्नो क्षेत्रमा स्थापित हुनुहुन्छ । उपाध्यक्षका उम्मेदवार डाक्टर भट्ट आयल निगमका पूर्व कार्यकारी अध्यक्ष रहिसक्नु भएको छ । महासचिवका उम्मेदवार सिंह पुल्चोक इन्जिनियरिङ कलेजका सहप्राध्यापक हुनुहुन्छ । उमहासचिवका उम्मेदवार शाह कुशल परामर्शदाता हुनुहुन्छ भने कोषाध्यक्षका उम्मेदवार केसी पनि अन्तर्राष्ट्रिय परामर्शदाताका रुपमा स्थापित भइसक्नु भएको छ । सहकोषाध्यक्षका उम्मेदवार थापा समेत अन्तर्राष्ट्रिय संघ संस्थामा परामर्शदाताका रुपमा सक्रिय हुनुहुन्छ ।
सदस्यका उम्मेदवारहरु मध्ये सहसचिवको रुपमा खानेपानी तथा सरसफाई मन्त्रालयबाट निवृत्त सुदर्शन भण्डारी अत्यन्त बौद्धिक, मृदुभाषी तथा शालिन व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । सुजन भट्ट, अनिल मानन्धर, भेषराम पोख्रेल, उमेशप्रसाद चौधरी, सूर्यबहादुर पाण्डे परामर्शदाताको रुपमा स्थापित हुनुहुन्छ ।
प्रकाश बुढा नेपाल विद्युत प्राधिकरणमा आबद्ध हुनुहुन्छ भने राजेन्द्र दुलाल नेपाल टेलिकममा कार्यरत हुनुहुन्छ । त्यस्तै दिनेश अर्याल सडक विभागमा आबद्ध हुनुहुन्छ भने सागर श्रेष्ठ अध्यापनमा संलग्न हुनुहुन्छ । एभरेष्ट केसी सफ्टवेर डेभलोपर हुनुहुन्छ । यसैबीच प्रदेश ३ मा हाइड्रो इन्जिनियर सुवास चन्द्र बराल सभापति रहनु भएको प्यानल बलियो देखिएको छ ।
प्रधान प्यानलको मान्यता तथा चुनावी एजेण्डा :
लोकतन्त्रविना पेशागत स्वतन्त्रता रहँदैन र स्वतन्त्रताविना कुनै पनि पेशाको विकास हुँदैन भन्ने मान्यतामा आफूहरु अडिग रहेको अध्यक्षका प्रत्यासी  इन्जिनियर प्राध्यापक हिरेन्द्रमान प्रधान बताउनुहुन्छ । प्रधानका अनुसार इन्जिनियरिङ तथा प्राविधिक ज्ञान, सीप, अनुभव र दक्षताको मानवीय मूल्यसँग रहेको अन्तरनिहित सम्बन्धलाई उच्च प्राथमिकता दिई राष्ट्र विकासको गतिलाई तिव्र पार्दै नेपाली जनताको स्तर उकास्नु नै इन्जिनियरिङ आदर्श तथा पेशागत संकल्प हो । विगतमा लोकतान्त्रिक समूहले नेतृत्व प्रदान गर्दा एसोसिएनले उत्कृष्ट ढंगले कार्य सम्पादन गरेको विविध दृष्टान्त दिँदै प्रधानले आफ्नो नेतृत्वको प्यानल पनि स्पष्ट भिजन सहित चुनावी मैदानमा ओर्लिएको बताउनुभयो ।
गुणस्तरीय इन्जिनियरिङ शिक्षालाई आफ्नो प्यानलले उच्च प्राथमिकता दिने जानकारी दिँदै प्रधानले पढाई पूरा गरेकाहरुको रोजगारी तथा सेवारतहरुको सेवा सुविधा वृद्धि र क्षमता अभिवृद्धिलाई पनि विशेष महत्व दिइने स्पष्ट पार्नुभयो । इन्जिनियरहरुको हक हितको संरक्षण साथै इन्जिनियरिङ सम्बद्ध निजी क्षेत्रको विकासमा पनि आफूहरु प्रतिबद्ध रहने प्रधान बताउनुहुन्छ । नेपाल इन्जिनियर्स एसोसिएसनको ३२ औं कार्यकारिणी समिति तथा सातवटै प्रदेश कार्यकारिणी समितिको निर्वाचनका लागि यही मंसिर २८ गते मतदान हुँदैछ । निर्वाचनमा १७ हजारभन्दा बढीले आफ्नो मताधिकार प्रयोग गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *