२०८१ वैशाख १४ गते | 26th of April 2024

काङ्ग्रेसमा पदाधिकारी विवाद टुङ्गियो

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ३ गते १६:१९

काठमान्डौं – नेपाली काङ्ग्रेसले लामो रस्साकस्सीपछि विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाबारे विवाद टुङ्गो लगाएको छ । आज साँझ पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले सो विवादको टुङ्गो लगाएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो। यसअघि विधान मस्यौदा प्रतिवेदनमा सहमति हुन नसक्दा उक्त प्रतिवेदन महासमिति बैठकमा पेश हुन सकेको थिएन । काङ्ग्रेसको महासमिति बैठक चार दिनदेखि यहाँ जारी छ ।

पदाधिकारी बैठकले विधानमा कूल १६१ केन्द्रीय समिति रहने र त्यसमा ३३ केन्द्रीय सदस्य समावेशिताका आधारमा सभापतिबाट मनोनीत हुने निर्णय गरेको छ । काङ्ग्रेसमा अब एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुई सहमहामन्त्री र एक कोषाध्यक्षसहित आठ पदाधिकारी रहनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्ने निर्णय भएको छ ।

पदाधिकारी बैठकले गरेको निर्णयअनुसारको विधान मस्यौदा प्रतिवेदन पार्टीको केन्द्रीय समितिले पारित गरी भोलिको महासमिति बैठकमा पेश हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

गत मङ्सिर २९ गतेदेखि शुरु महासमिति बैठकमा यसअघि नै राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन पेश भई छलफल जारी छ । काङ्ग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।

हाल काङ्ग्रेसको विधानमा कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *