1

खुल्ला हामी, संकुचित हामी

206 पटक पढिएको

– सुदर्शन ओली

“एउटा सानो आर्टिकल पाउन सकिएला सर ?” खुल्लामञ्च डट कमका सुप्रिमो मेरा अनन्य मित्र गोकुल ढकालजीको अनुरोध मेरो फेसबुक मेसेन्जरमा हाजिर भयो । ‘कनेक्टिङ कम्युनिटी थ्रु मीडिया’ नाराका साथ सञ्चालनमा छ, खुल्लामन्च डट कम । ग्रेटर लस एन्जलस एरियाको ग्रेटर नेपाली कम्युनिटीमा लोकप्रिय न्यूज पोर्टलले ८ बर्ष पुरा गरेको छ । खुल्लामञ्च डट कम टीम र कमाण्डर गोकुलजीलाई हर्शबढाईका साथ बधाई तथा शुभकामना ।

नेपाली पत्रकारिताको सामान्य बिद्यार्थी (भुपु भन्न रुचाउछु ) मेरा मनमा केही बर्ष यता लेखेर के हुन्छ र ? भन्ने प्रश्न जेलिरहन्छ । नलेखेर झन केही हुदैन भन्नेमा पनि स्पष्ट छु म । यस्तो विरोधाभासमा म जेलिएको छु । मलाई लाग्छ आज मेरो पुस्ताका धेरै नेपाली यस्तै यस्तै अनेक विरोधाभासमा जेलिएका छौं ।

नेपालका विख्यात बनस्पतिशास्त्री, साहित्य, समाज र संस्कृतिमा अदभुत ज्ञान राख्ने विद्वान डा. तीर्थ बहादुर श्रेष्ठको एउटा पुरानो भाषणको भिडियोमा रोकिन्छु । भन्छन्, “सबै नेपाली नेपालमा छैनन् । कोही प्रवासमा छन् । कोही गैरआवासीय नेपाली भनेर बिदेशमा छन् । कोही श्रमिक बनेर गुलामी गर्दैछन् ।” कुरो ठिकै सुनिन्छ । जसरी सबै अमेरिकी अमेरिकामा छैनन्, सबै भारतीय भारतमा छैनन् वा सबै जापानी जापानमा छैनन्, त्यसरी नै सबै नेपाली नेपालमा छैनन् । तर श्रम गर्नु र गुलामी गर्नु एउटै हो भन्ने डा. श्रेष्ठको दृष्टिदोष टीठलाग्दो छ । उनको निचोड छ, “नेपाल कसैको गुलाम बनेको छैन । नेपालीहरु भने गुलामी गर्न लाहोरदेखि संसारभर पुगिसकेका छन् ।” बिद्वान बनस्पतीशास्त्री डा.श्रेष्ठको गैरआवासीय नेपालीप्रतिको दृष्टिदोषले समकालीन नेपाली समाजको एउटा तह र तप्काको प्रतिनिधित्व गर्दछ ।

हामी नेपालीहरु बढी भावनात्मक भएर पनि होला, नेपाली सभा, समारोह र सार्वजनिक कार्यक्रमहरुमा यस्तै अभिव्यक्ती बिकाउ हुन्छन् । हैन भने, गुलामी र श्रम तथा अवसरको खोजीमा हुने आप्रवासन बिचको विभेद छुटयाउने सामर्थ्य डा. श्रेष्ठ जस्ता विद्वानले राख्दैनन भन्ने मलाई किमार्थ लाग्दैन । “नेपाल किन बनेन ?” भन्ने खालका वहस बेला बेला चर्चामा आईरहेका हुन्छन् । श्रमलाई सम्मान नगर्ने, गुलामी सम्झने संकुचित नेपाली सोच नै नेपाल र नेपाली बन्न नसक्ने मुल कारण हो भन्ने यो भुईमान्छेको ठम्याई छ ।

२०४८ सालतिर तेह्रथुमबाट भर्खर भर्खर झापा झरेका बेला अग्रजहरुले ठूला ट्रकका ड्राईभर देखाएर ‘पन्जावीहरु विश्वभर पुगेका छन्’ भन्थे । अहिले त्यस्तै नेपालीहरु नपुगेको ठाउँ नहोला । ग्रेटर लस एन्जलस एरियामा हामी लगभग १२ हजार नेपाली छौं भन्छौ । चर्च किनेर पशुपतिनाथ मन्दिर र बौद्व स्तुपा बनाउने गौरव रचिसकेका हामी र हाम्रो समुदाय गर्व गर्न लायक छ ।

हामीजस्तै कहीं कतै बिदेशमा रहेका केही साथीहरु कहिलेकाहीं सामाजिक सन्जालमा सार्है मन छुने स्टाटस लेख्छन्’ देश जोडेर । उता केही अजासु (अति जान्ने सुन्ने ) मित्रहरुले जवाफ फर्काइहाल्छन् “देशबाट पलायन भएर तिमी अर्ति दिने ?”

फेसवुकमा स्टाटस अर्कैले लेख्या हुन् । गाली पनि तिनैले खाएका हुन् । तर मलाई पो कता कता दुख्छ । पछिल्लो समय नेपाली मनोविज्ञान धेरै असहिष्णु बनेको छ भन्ने बुझाईका कारण पनि म सोसल मिडियामा सार्वजनिक चासोका बिषयमा “ओपिनियन” राख्ने धेरै साहस गर्दिन । किनकि मलाई ‘तं पलायन भईस’ भनेको सह्य हुदैन ।

म आफुजस्ता “पलायनवादी” धेरै मान्छेहरुलाई चिहाइरहेको हुन्छु । कृष्ण धरावासी पनि अमेरिका आए, बसे । एउटा अन्तर्वार्तामा प्रश्न यस्तो थियो, “धरावासी पलायन भएकै हो त ?” उनले जवाफ फर्काएका थिए, “पलायनको शाव्दिक अर्थ कुनै ठाउंमा नहुनु पनि हो । अहिले म नेपालमा छैन । म त्यहां नभएको अवस्थासम्मलाई पलायन नै मान्नुपर्छ । जुन दिन म नेपाल फर्कन्छु त्यो दिन म अमेरिकाबाट पलायन भएको हुनेछु।” अहिले उनी अमेरिकाबाट नेपाल पलायन भएको समाचार छ ।

नेपाली भाषाका जादूगर धरावासीले पलायन शव्दको शाव्दिक व्याख्या गरेर आफ्नो अमेरिका बसाईको सटिक “डिफेन्स” गरेका थिए । तर पनि मलाई चित्त बुझेको थिएन । मलाई म पलायन भएं भन्ने नै स्वीकार्य छैन । मलाई हामी पलायन हौं भन्ने पनि स्वीकार्य छैन । मलाई त बिदेश पुगेका नेपाली नेपालसंग झन बढी जोडिएका छन्, टांसिएका छन् जस्तो लाग्छ । देशप्रेम उसले बुझेको छ, भोगेको छ, अनूभूत गरेको छ जस्तो लाग्छ । उसले जति देशका बारेमा अरुले सोच्छ जस्तो लाग्दैन । अनि उसले जस्तो देशको भलो अरुले चिताउंछ जस्तो पनि लाग्दैन ।

हामी देशको भूगोलबाट टाढा भएका हौं । देश भनेको भूगोल मात्र हैन । देश भनेको त्यो भन्दा धेरै धेरै हो । हामी देशप्रतिको कर्तव्यबाट पलायन भएका हैनौं । भागेका हैनौं । हाम्रा प्रियजनहरुले भनेजस्तो हामी देश मन नपरेर, माया मारेर बिदेशिएका पक्कै हैनौं । देशलाई दुख्दा हामीलाई पनि दुखिरहेको हुन्छ । मरुभूमिमा पानीको महत्व थाहा भएजस्तो देश र देशप्रेम परदेशमा अझ बढी अनुभुति हुदोरहेछ ।

र अन्त्यमा,
कोही परदेश बसेकै कारण तैले देशको चिन्ता गर्न पाउदैनस् भन्नेहरुप्रति मेरो कूनै गुनासो छैन । भगवान, थोरै विवेक थपिदेऊ भन्ने प्रार्थना मात्रै हो ।
sudarshan.olee@gmail.com

तपाईको प्रतिक्रिया

टेक्सास - चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम.. ...

क्यालिफोर्निया - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय.. ...

अमेरिका - श्रीमती सिता दाहालको उपचारार्थ अमेरिका आईपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...