बाल्टिमोर – अमेरिकाकै इतिहासमा हाउस अफ डेलिगेटमा विजयी पहिलो नेपाली अमेरिकनको कीर्तिमान बनाएका ह्यारी भण्डारीले पदको सपथ लिएका छन् । उनले मेरिल्याण्ड राज्यको डिस्ट्रिक ८ को स्टेट डेलिगेटका रूपमा राजधानी एनापलिसस्थित स्टेट हाउसमा बुधबार अपरान्ह सपथ लिएका हुन्।
पहिलो नेपाली अमेरिकन स्टेट डेलिगेटको इतिहास बनाएका भण्डारीले हिन्दू धर्मावलम्वीको महान ग्रन्थ वेदलाई साक्षी राखेर सपथ खाएर अर्को इतिहास पनि बनाए।
उनले सपथ ग्रहण समारोहपछि ह्वाइट हिमालसँग कुरा गर्दै भने- ‘यो हाम्रो कर्मभूमी अमेरिकाको मूलधारको राजनीतिमा हाम्रो उपस्थितिको मिर्मिरे बिहानी हो।’ यो विहानी ल्याउन योगदान पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्दै उनले अगाडी भने- ‘म त निमित्त मात्र हुँ। म यसको श्रेय मेरो जन्मभूमी र कर्मभूमीसँग साइनो गाँसिएका र यो अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबैमा सरोबरी बाँढ्न चाहन्छु।’
उनले बेदलाई साक्षी राखेर सपथ गरेको सन्दर्भमा भने- ‘म आफू हिन्दू धर्मवालम्वी हुँ र यसमा मलाई गर्व छ। मैले जसरी मेरो पूजामा हिन्दू धर्मका ग्रन्थहरू पढ्छु, त्यसरी नै राजनीति मेरो पूजा भएकाले मैले सपथ लिँदा वेदलाई साक्षी राखेको हुँ। यो मेरो आस्था र विश्वासको कुरा हो। अमेरिका धर्मनिरपेक्ष राष्ट्र भएकाले यहाँ सबैलाई यो छुट छ। म अरू सबै धर्मको सम्मान गर्छु र मेरो धर्मलाई माया गर्छु। यो त्यसैको प्रतीक हो।’
‘म आफू हिन्दू धर्मवालम्वी हुँ र यसमा मलाई गर्व छ। मैले जसरी मेरो पूजामा हिन्दू धर्मका ग्रन्थहरू पढ्छु, त्यसरी नै राजनीति मेरो पूजा भएकाले मैले सपथ लिँदा वेदलाई साक्षी राखेको हुँ। यो मेरो आस्था र विश्वासको कुरा हो। अमेरिका धर्मनिरपेक्ष राष्ट्र भएकाले यहाँ सबैलाई यो छुट छ। म अरू सबै धर्मको सम्मान गर्छु र मेरो धर्मलाई माया गर्छु। यो त्यसैको प्रतीक हो।’
– ह्यारी भण्डारी, स्टेट डेलिगेट- मेरिल्याण्ड डिस्ट्रिक ८
चुनावमा उम्मेद्वार हुनु र विजयी हुनु एउटा चरण भएको बताउँदै स्टेट डेलिगेट भण्डारीले अगाडि भने- ‘त्यो चरणमा हामीलाई एैतिहासिक सफलता हात लागेको छ। त्यो सफलताले साँच्चै भन्ने हो भनेअहिलेलाई हामीसामु अजंगको चुनौतिको पहाड तेर्स्याइ दिएको छ।हामीले राम्रो काम गरेर त्यो चुनौतिको पहाडलाई अवसरको मैदान बनाउँनु छ। हामी सबै मिलेर सहकार्य गर्नुपर्ने हुन्छ । त्यसका लागि म सबैमा आव्हान गर्न चाहन्छु।
सपथ ग्रहण समारोहमा गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा. केशव पौड्याल, अमेरिकी नेपाली डायस्पोराका अग्रज व्यक्तित्व डा. श्याम कार्कीलगायतका प्रतिनिधि पात्रहरू सहभागी भएका थिए।