२०८१ वैशाख ८ गते | 20th of April 2024

गोकर्णेश्वरको महांकाल मन्दिरमा माघ ११ देखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २८ गते १३:१७

काठमान्डौं – राजधानीको गोकर्णेश्वर नगरपालिका–८ अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको महांकाल मन्दिर परिसरमा आगामी माघ ११ गतेदेखि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । महांकाल मन्दिरको जीर्णोद्धार र मन्दिर परिसरमा रहेको खाली जमीनमा विविध प्रयोजनका लागि सामुदायिक कक्षहरुको निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो । मुख्य मन्दिरको जीर्णोद्धारसँगै मन्दिर परिसरमा मूर्ति स्थापना, नियमित पूजा, पूजारीको व्यवस्था, मन्दिर प्रवेशद्धार निर्माण, भजनकीर्तन तथा प्रवचनकक्ष, यज्ञमण्डप आदिको पवित्र लक्ष्य सहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको स्थानीय सामाजिक कार्यकर्ता राजेश दाहालले जानकारी दिनुभयो ।

दाहालका अनुसार प्रख्यात पण्डित शिवप्रसाद सापकोटाले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ वाचन गर्नु हुनेछ । सप्ताह ज्ञान महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्न श्रीचन्द्र नगरकोटीको संयोजकत्वमा ११ सदस्यीय श्रीमद्भागवत ज्ञान महायज्ञ सञ्चालन मूल आयोजक समिति समेत गठन गरिएको छ । प्राचीन राजा मानदेवको कार्यकालमा उनकै निर्देशनमा राजधानीको पूर्वी क्षेत्रमा महांकाल सहित श्री गणेश, श्री चामुण्डादेवी र अर्घौतेश्वर महादेवको स्थापना गरिएको संस्कृतिविद् समेत रहनु भएका वरिष्ठ साहित्यकार गोविन्दप्रसाद घिमिरे बेदमणिले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *