२०८१ वैशाख ७ गते | 19th of April 2024

बोल्नै छाडे डा.केसी, आइसियुमा उपचार गर्न मानेनन्

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १५ गते १८:३०

काठमाडौं – सरकारले विगतको सहमति विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराएपछि अनशनरत डा.गोविन्द केसीले आइसियुमा उपचार गराउन अस्वीकार गरेका छन् । २० दिनदेखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । रगतमा ग्लुकोज र पोटासियमको मात्रा घट्दै गएको छ । ६३ वर्षीय डा.केसीको यो सोह्रौं अनशन हो ।

डा.केसीको अवस्था जटिल हुँदै गएपछि इन्टेन्सिभ केयर युनिट (आइसियु) सार्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन् । डा. केसीले आइसियुमा भर्ना हुन नमानेको शिक्षण अस्पतालका आइसियु विशेषज्ञ डा.प्रमेश श्रेष्ठले जानकारी दिएका छन् । दुई पटक मुटुको एन्जियोग्राम गरेका डा.केसीलाई छाती दुख्ने समस्या बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।

डा.केसी आँखा चिम्लेर पल्टिरहन्छन् । कोही भेट्न आउँदा पुलुक्क हेर्छन् । गल्दै गएपछि फेरि आँखा बन्द गर्छन् । आगन्तुकहरू हेरेरै फर्किन्छन् । अनशनरत डा.केसीको मुटुमा समस्या बढ्दै गएको छ । उनको शरीर कमजोर बन्दै गएको छ । डा.केसीको बोली समेत निस्किँदैन । मुस्किलले साउती गर्छन् । परेला पाट्टिएका छन् । डा.केसीले औषधी खान मानेका छैनन् ।

नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन् । डा.केसीको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ । सुत्न अप्ठेरो भएको छ । मुटुको धड्कनमा उतारचढाव आइरहेको छ । गणेशमानसिंह भवनको साधारण बेडमा डा.केसी छन् । पुस २५ गतेदेखि डा.केसीले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए । स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट डा.केसीलाई शिक्षण अस्पताल ल्याएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *