२०८१ वैशाख ११ गते | 23rd of April 2024

‘अनसन तोड्नुस्, अबको आन्दोलन तपाईँकै नेतृत्वमा लडौंला’ – देउवा

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १७ गते १२:३१

काठमाडौं – २३ दिनदेखि आमरण अनसन बसेका सत्याग्रही डा गोविन्द केसीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनसनस्थल पुगेका छन् । बिहीबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रँदै गएको भन्दै अनसन तोडेर माफियाहरुको विरुद्ध लड्नको लागि आग्रह गरेका हुन् । सभापति देउवाले ज्यान फालेर भन्दा पनि ज्यान जोगाएर नै माफिया विरुद्ध लड्न सकिने भन्दै मेडिकल माफिया विरुद्धको अबको लडाईको नेतृत्व लिनको लागि समेत डा. केसीलाई आग्रह गरेका छन् ।

सभापति देउवासँगै नेता गगन थापा पनि डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका थिए । सभापति देउवा बिहिबार दिउँसो ४ बजे डा केसीलाई भेट्न टिचिङ अस्पताल पुगेका थिए । केसी पुस २५ देखि आमरण अनसनमा छन् । सरकारले अहिलेसम्म अनसनबारे बोलेकै छैन । डा केसीको मागमा नागरिक समाजले ऐक्यवद्धता जनाउने क्रम जारी छ । बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गइन् । उनले डा केसीका सबै माग जायज भएकाले पूरा गर्न सरकारलाई आग्रह गरेकी थिइन् ।

उनले डा केसीका माग तीन करोड जनताका भएकाले डा केसीलाई तलमाथि केही हुनासाथ तीन करोड नेपाली नै आन्दोलित हुने बताइन् । राजनीतिक जे भए पनि कोही पनि डा केसीलाई गलत भन्न नसक्ने पूर्वप्रधानन्यायाधीश कार्कीको दाबी छ । मंगलबार पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ डा केसीलाई भेट्न अनसनस्थल गएका थिए । उनले मन्तब्यमा डा केसीलाई बचाउनु पर्ने र उनका माग पूरा गर्नुपर्नेमा जोड दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिहिबार पनि संसद नै अवरोध गरेको छ । त्यस्तै काँग्रेसका भ्रातृ संगठनहरु निरन्तर सडकमा छन्, हाम्राकुराले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *