२०८१ वैशाख १२ गते | 24th of April 2024

सालको पात टपरी हुनी ! हे बरै, हामी एनआरएन सदस्य किन नहुनी ?

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २० गते २:२५

-गोकुल ढकाल

नेपाली लोक संगीतका चर्चित गायक कुलेन्द्र बिक गतसाल अमेरिका भ्रमणमा आए । यात्राको क्रममा बोस्टन पुगे । आफ्ना साथी नवराज पन्तसंगको भेटमा पन्तद्दारा लेखिएको एउटा गीत लिएर स्वदेश फर्किए  । समयको अन्तरालमा पन्तद्दारा लिखित, बिकद्दारा गाईएको लोकगीत ‘सालको पात टपरी हुनी’ भनेर रिलिज भयो । कुटुमा कुटु सुपारी दानाको हाराहारीमा नेपाली संगीतमा सर्वाधिक सुनिएको वा हेरिएको गीतको रुपमा सालको पात टपरी दर्ज भएको छ ।

साधारण भिडियो, साधारण छायांकन समेटिएको गीतमा नायिका प्रियंका कार्कीलाई अभिनायको लागि आग्रह गर्दा अस्विकार गरिन रे । सालको पात टपरी यति हिट हुन्छ भन्ने बिचरीले थाहा पाएकी भए, कार्की किन खेल्ने थिईनन र टपरीको भिडियो ! भनिन्छ, खेल्न अस्विकार भन्दा नि गीत चर्चित नहुने र आफु त्यसमा फिट नहुने प्रतिकृया दिएकी थिईन, नायिका कार्कीले । तर अहिले बिबाहको मौसम या कार्तिक महिना, जताततै सालको पात टपरीकै चर्चा छ । हे बरै, खेलन पाको भए, अझै हिट भईन्थ्यो भन्ने लागेको होला, नायिका कार्कीलाई । गीतले सगरमाथाको टुप्पो छोएपछी ।

हिजोआज धुर्मुस सुन्तलीले केपी ओली र प्रचन्डलाई पिठ्यु पछाडी पारेर रेणुसंग गरेको रंगाशाले हस्ताक्षर, सालको पातको टपरी र डा. केसीको अनसन यस्ता चर्चाहरु हुन, जसले निर्मला हत्याकाण्ड, ३३ किलो सुनका बोरा र अर्बौ घोटला भनिएको वाइडबडी प्रकरणहरुलाई ‘न्यार्रो’ बनाईदिए । घटनाहरु घट्दै जाने तर शक्तीका भरमा ठुला ठुला कान्डहरु ओझेलिने चलन भाको दुनियाँंको एउटा देश कुन हो ? भनेर सोध्न नपर्ला !

यो सिजनमा आएको सालको पात टपरीभन्दा हरेक सिजनमा नेपालीमाझ चर्चा हुने अर्को शिर्षक हो, एनआरएन । त्यसो त तीन लाख नेपाली रहेका भनिएको अमेरिकामा दुई बर्ष पहिले करिब १६ हजार सदस्य बनाएर सबैभन्दा ठुलो एनआरएन एनसीसी बनेको एनआरएन अमेरिका अबको १ बर्ष अमेरिकामा नेपालीहरुले सबैभन्दा बढी सुनिने बिषय हुनेछ । अबको एक बर्ष ह्यारी भन्डारीहरुले चुनाव जितेका जस्ता ईतिहासहरु, लस एन्जलस र डलासमा स्थापित मन्दिरहरु वा बाना, न्यान्स, रिजवूड र एनसटीका सामुदायिक शक्ती बिभाजनका कथाहरुलाई पनि छांयांमा  पार्न सक्ने ताकत कसैमा छ भने, त्यो एनआरएन अमेरिकामा छ । 

एनआरएन भन्दा पहिले जन्मेको अनि ‘प्रजातान्त्रिक’ भनेर अमेरिकामा हैसियत जमाएको नेपाली जनसंपर्क समितिको शक्ती तहस नहस भएपछी अमेरिकी नेपाली समुदायलाई सधैंं यताउती पारीरहने शक्ती अब एनआरएन बनेको छ । जनसम्पर्क, प्रवासी मन्च वा कुनै शक्तिशाली सामुदायिक संस्थाहरुको नजर र साथ पनि अहिले गएर ठोक्किने थाम (ठाउं) भएको छ, एनआरएन । त्यसैले त सधैंं घोचिरहने, यो बाटो हिंड एनआरएन भनेर आलोचनात्मक टिप्पणी गर्ने पत्रकार शैलेश श्रेष्ठ पनि अहिले एनआरएन सिध्याउन होईन सुध्याउन पर्छ भनेर संस्थासंग जोडीएका छन ।

जनसंपर्क समिती आफ्नो अधिबेशन ताक मिलेजस्तो गर्छ, जब एनआरएनको चुनाव आउंछ, सबैका आ-आफ्ना उम्मेद्वार हुन्छन । उम्मेद्वार र समर्थनको कारणले जिन्दगीभर आँफैमा पानी बाराबारको स्थिती हुन्छ, संस्थाकै पदाधिकारीहरुबिच । गत चुनावताका समर्थनको हिसाबले प्रवासी मन्चमा पनि एकमत थिएन भन्ने सुनिन्थ्यो । अमेरिकामा रहेका स्थानिय सामुदायिक संस्थाहरु पनि ‘भोट दिने बचन एउटालाई दिए पनि समर्थन अरुलाई नै गर्ने’ खेल खेल्छन । चुनावले बल्ने एनआरएनको राप ताप्न मात्रै होईन, एनआरएनका उम्मेद्वारहरुले सामुदायिक केन्द्र बनाउन चन्दा दिने आकांक्षामा हरेक समुदाय एनआरएनसंग नजिक हुन पुगेको छ, आजकाल ।

धांधलीरहित चुनाव गर्न फरक ढंगले गरिन लागिएको भनिएको एनआरएन अमेरिकाको सदस्यता नविकरणको बहस र कार्यक्रमहरु असारे मासमा खेतहरुमा हुने रोपाईंसरी धामाधम चलिरहेका छन । खेतालारुपी नयाँ सदस्यहरु बन्लान, बढ्लान र पून: एनआरएन अमेरिका आईसिसीको सबैभन्दा ठुलो एनसीसी बन्ला या नबन्ला अबका १२ दिनले बताउला । तर बिशेषत: अध्यक्ष पदका आकांक्षीहरुको ‘सदस्य बनाउन राज्य-राज्य चाहरेको’ चुनावी अभियानले सदस्य संख्या केही बढ्ला ?!? भन्ने आशा चाहीं गरौं ।

बर्तमान कार्यसमितिको यो दुई बर्षको एनआरएन कार्यकालले सिन्को नै नभांचेको चांही भन्न मिल्दैन । कसैले केही काम गरे कि अहिले त आधिकारिक बक्तब्य भन्दा सामाजिक संजालमा तिनले फत्ते गरेका सामाजिक कामका फेहरिस्त १०० जनालाई ट्याग हुन्छन । भनुम, कामप्रतिको त्यागभन्दा ट्याग बढी हुन्छन । एनआरएनका पदाधिकारीहरुका सामाजिक संजालमा उल्लेखित कार्यहरुले उनीहरुले समापन गरेका मुद्दाहरु छर्लङ्ग हुन्छन । सामाजिक रुपमा धेरै काम सम्पन्न गरेको छ, एनआरएनले । कसैको धुपौरे बन्नु पर्ने आबश्यक मान्दिन । सामुदायिक संस्थाहरुसंगको सम्बन्ध, सहयोग, हेल्प डेस्क, कार्यक्रमहरुको संयोजन र उत्साह लगायत खुशी हुने कामहरु त छदैछन् । यो कार्यकाल अगाडी एनआरएनलाई ‘बिपक्षी धारमा’ राख्ने सम्भवत: आगामी कार्यकालका सभापतीका एक प्रत्यासी संजय थापाहरुको एनआरएन अमेरिकासंगको सन्तुलन यो कार्यकालको एउटा सुख सफलता हो ।

सालको पात टपरी भन्ने गीतमा जसरी सर्जक नवराज पन्त र चर्चित गायिका बिष्णु माझी अचर्चित छिन्, तर गीतका शक्ती ती दुई पनि हुन । त्यस्तै एनआरएन भित्रका आजीवन सदस्यहरु बिष्णु माझी हुन । पदाधिकारीहरु कुलेन्द्र बिक हुन भने नवराज पन्त बनेका र भोली बन्ने सदस्यहरु हुन । राजनैतीक चेतना, आस्था र संलग्नता आ-आफ्ना हुन्छन । प्रत्यक सदस्यहरुका रगतमा कांग्रेस, नेकपा, मधेश र रा.प्र.पा छन । म स्वतन्त्र हुँं भन्नेले अब १० बर्ष एनआरएन अमेरिकाको चुनाव जित्दैन । बिशेषत: पदाधिकारीहरुमा चुनाव लड्ने उम्मेद्वारको राजनैतीक संलग्नता प्रस्ट छैन भने त्यो उम्मेद्वार गौरीराज जोशी जसरी अध्यक्षमा लडेर अर्कै पदमा पुग्छन । यो कुरा एनआरएनको स्वस्थानीमा राजनीतिको चक्र चलाऊने ब्रम्हाहरुलाई राम्रोसंग थाहा छ । हजार जिब्रा भएका शेषनागहरुले त तिनका बयान गर्न सक्दैन भने म बबुरोले के सकुंला । यस्ता तपाईंलाई कोटी-कोटी जयनेपाल/अभिवादन छ ।

राजनैतीक प्रसंग किन जोडेको भने, सदस्य बन्न हामी अब सुस्त नबनौं । नेपाल सरकारले मान्यता दिएको संस्थालाई परिचय-पत्र उपलब्ध गराउंदा हाम्रो गोपनियता लिक हुंदैन । जागिरका लागि भारतीय मालिकलाई परिचय पत्र दिन अांट्ने हाम्रो मन एनआरएनसंग नडराऔं । यो संस्थामा एउटा मात्रै पात्र छैन, जसले सदस्य बनाउंदा तपाईं हाम्रो गोपनियता चोरोस् । स्वास्थ्य, शिक्षा, ब्यापार, प्रविधी, जागिर, राजनिती, पत्रकारीता र सेवा लगायत बिभिन्न पेशा र बर्गमा समावेश रहेका अभियान्ताहरुको समुह एनआरएन अमेरिकाको कार्यसमितिले हाम्रो गोपनियता चोर्न शपथ खाएको होईन । एनआरएन बिशाल संस्था हो । उसको आफ्नो नियम हुन्छ । त्यो नियमलाई अल्टाई-पल्टाई व्याख्या गर्न सकिन्छ । तर बाहना बनाएर यत्रो संस्थाको सदस्य बन्नबाट पछी नहटौं । जन्ती गएर गर्हाको डिलमा बसेर सालको पातको टपरीमा भतेर खाएपछी मात्र स्वाद थाहा हुन्छ । जन्त नगई अर्काको विवाहको कसार र दाईजोको कुरा काट्न सकिंदैन । आउनुस्, सबै जन्ती जाम । दाईजो-भतेरको हिसाब किताब अर्को साल गरौंला ।

नेपाल अमेरिका पत्र्कार संघ (नेजा) ले त आफ्नो औपचारिक बैठकबाट एनआरएन सदस्य अभियानलाई सघाउने अधिकारिक घोषणा गरेको छ । अझै समय छ । सामाजिक संजालमा हो-हल्लाका जात्राहरुका फोटा र वाहियातका ट्यागहरु गर्न छाडेर एक हप्ता एनआरएनको सदस्य बनौं, बनाउन सहयोग गरौं । एनआरएनभित्रै संगित, राजनीति, बिकास, सेवा, आग्रह, पत्रकारिता र लान्छनाहरु छन । सबै संस्थाहरु सदस्य बन्न-बनाउन लागौं ।

हामी त सालको पात हौं । हाम्रा सहयोग बिना यिनका टपरी चल्ने वाला छैनन । हामी सातु अट्ने दुनो होईन, प्रसाद अट्ने टपरी हौं । गरेर प्रचार नगरिएका बिष्णु माझी र लेखेर नदेखाईएका नवराज पन्तहरु हौं हामी । गीत सालको पात टपरी एनआरएन हो । रचनाकार र गायक हामी । यसलाई कुटुमा कुटु सुपारी दाना मात्र नबनाएर सालको पात टपरीहरु बनाऔं । एनआरएन सदस्य बन्न हामीलाई के ले छेकेको छ र हामी किन रोक्किनु छ ?

सालको पात टपरी हुनी ! हे बरै हामी किन एनआरएन सदस्य नहुनी ?
अस्तु !
[email protected]

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *