२०८१ वैशाख १३ गते | 25th of April 2024

राम्रो पक्ष जब अहम बन्छ : एक दिदीको सम्झनामा

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २७ गते १६:११

-मणी भट्टराई

“म असल छु | म इमान्दार छु | ममा कुनै लत/कुलत छैन |”
– यस्तो प्रकारको कुरा धेरै मनमा भयो भने, यो ईमान्दारीताको डकारले मान्छे राम्रो हुँदा हुँदै पनि नराम्रो प्रतित हुन थाल्दोरहेछ । जब उसका राम्रा कुराहरूले अहम्को रुप धारण गर्छन् र त्यसको ब्यबहारिक असर देखापर्न थाल्छ, त्यसपछि त्यो नै उसको सबभन्दा कुरुप पक्ष बन्दै जाँदोरहेछ !

“म जाँडरक्सी पिउँदिन, चुरोट तान्दिन, खैनी च्याप्दिन, तासजुवा खेल्दिन, म सम्बन्धमा लपनछपन जान्दिन, म ढाँट्दिन । म इमान्दार छु ।” र अन्तमा उहाँ भन्नुहुन्छ:- “अचेल मान्छे कस्ता कस्ता छन् तँलाई थाहा छ ? म जस्तो लोग्ने पाउनु तेरो भाग्य हो ।”

हो उहाँ त्यस्तै पनि हुनुहुन्छ, तर उहाँले आफ्नो असल चरित्रको दैनिक जसो रिपिटिसन गरेर मलाई आब्युज गरिरहनु भएको छ । मलाई पिडा दिइरहनु भएको छ । कैले कहीं त लाग्छ – बरू लोग्ने यदाकदा जाँड खाएरै आओस्, २-४ पैसा तास जुवा नै खेलोस्, १-२ अरू गडबडी नै सही तर आफ्ना राम्राकुराहरू सबै भेला गरेर अहम्को तरबारले यसरी मेरो मर्ममा सँधै टुक्टुक्याइ नरहोस् । यस्तो पीडा सहन झन् गाह्रो हुँदो रहेछ भाइ ।

मलाई यसको सही जवाफ कसरी दिनु हो केही थाहा छैन । कति चोटी त मैले पनि उहाँलाई भनिसकें – “अनि मैले पनि त त्यस्तै ठान्छु नि हजुरलाई । मलाई पनि त त्यस्तै लाग्छ नि ! हजुर यस्तै हुनुहुन्थ्यो र त मैले विवाह गरेकी । मलाई हजुरका यिनै कुराहरू मन परेर त हजुरसँग आएकी ।” तर पनि उहाँ घरी घरी तिनै कुराहरू दोहोर्याई रहनुहुन्छ । मानौ ममा ती कुनै गुणहरू छैनन्, उहाँमा मात्र छन् । मानौ म चाहिं चरित्रहीन हुँ । मानौ म चाहीं जाँडरक्सी खाएर चोकमा अल्लारिएर हिंड्छु । मानौ म चाहीं केही काम नलाग्ने छु ।”

बोल्दा बोल्दै दिदी रोकिनु भयो र भन्नुभयो -“ तँलाई पनि त लाग्दो हो तेरा भिनाजु संसारका असल र राम्रा मान्छे हुन्, तर म के भनू ! “म नाजवाफ भएको थिएँ | मैले यसरी कहिल्यै सोचेको पनि थिएन | व्यक्तिको आफ्नो राम्रो पक्ष अहम्मा बदलियो भने कसरी उसैको निम्ति घातक बनिरहेको हुँदोरहेछ ! मानौ उहाँले ती सारा कुराहरू दिदीको निम्ति गरिदिनु भएको हो र त्यसको एक एक भुक्तानी दिदीले गरिदिनु पर्नेछ ! मानौं आफ्ना निम्ति त उहाँ खराब भएर पनि बाँच्न सक्नुहुन्थ्यो !

ती चीर परिचित दिदीसंग सम्पर्क नभएको बर्षौं भयो, तर यो कुरा आज सम्झना भएर आयो | दिदी तपाईं जहाँ रहेपनि सुखी रहनु होला | बिद्रोह नै सही, तपाईंले आफ्नो पीडा भिनाजुलाई राख्नु आबश्यक ठान्छु म, न कि चुचाप सहनु ! धेरै समय पछि मेरो उत्तर यहीं हो हजुरलाई । एकबारको जुनी इन्साफमा बाँच्नुहोला !

सुनेकोछु – अन्याय सहनु पनि एक अपराध हो | र मलाई थाहा भएसम्म तपाईंको केही अपराध छैन, नखाको बिष नलागोस् । शुभकामना !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *