२०८१ वैशाख १४ गते | 26th of April 2024

मेरो सपनाकी ती ‘सपना’ सदैव मनकी रानी – एउटा प्रेमिल सम्झना

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ३ गते २:५७

-किशन रेग्मी

फेसबुकमा उसको नाम सर्च गरेर हेर्दा उसलाई भेटाएं । तर मलाई छोडेर जाँदै गर्दा आँशुले भिजेका उसका आँखा अत्यन्त खुशीले मुस्कुराई रहेका थिए । मैले यस्तै देखें, उसको तस्विर नियाल्दा । उ संगै उभिएको पुरुष आकृती हेरेर म खुशी पनि भईन, न त दुखी । किनकी म उसलाई चिन्दैनथें । चिन्थें त केवल उसकी श्रीमतीको परिचय बोकेकी त्यो युवती जसलाई मेरो मनले रानी संबोधन गरिरहन्छ, आज पनि ।

उसको नाम सपना थियो । सपना नाम आफैंमा राम्रो नाम हो, तर मैले उसलाई रानी किन भनें मैलाई मेसो छैन । भर्खरै कलेज गएको ठिटो म । स्कुल पढ्दैमा २- ४ जना केटीले मलाई मन पराउँछन् भन्ने थाहा पाएको रवाफ । उसमाथी अञ्चलमै पहिलो पटक खुलेको एफएममा प्रशंसक कमाएको आरजे । मैले उमेर भन्दा पहिले नै प्रेम के हो भन्ने धेर थोर मेसो पाएको थिएं, ठ्याक्कै परिभाषित गर्न नमिले पनि केटी मन पराउन सक्ने सम्मको मन रहेछ ममा । अहिले सम्झँदा यस्तै लाग्छ ।

कलेजको पहिलो दिन रानी फस्ट बेन्चमा बसेकी थि । म हल्ला गर्ने टाईपको भएर अन्तिम बेन्चमा पुगेको थिएँ । तर आँखाले त्यहि केटिलाई रोज्यो जो पहिलो बेन्चमा बसेर पढाईमा ध्यान दिईरहेकी छ । अक्सर अन्तिम बेन्च रोज्नेहरु हो हल्ला प्रेमि हुन्छन् आज पनि कति कलेजका अन्तीम बेन्चमा प्रेम फर्कदैं होला । तर मेरो प्रेम कथा म जीवनको त्यो मोडमा आएर लेखिरहेछु जहाँ यो लेख्नुको सम्म अस्तित्व छैन । किनकी जसको नाममा म कथा लेखिरहेछु उसले ९ बर्ष पहिले मैले पढाएको फेसबुकको म्यासेज आज सम्म हेरेकी सम्म छैन ।

साथीहरु भन्थें साह्रै राम्री त होईन यो केटी । तर मेरो लागि स्वर्गकै अप्सरा जस्ती लागि उ । असाध्यै कम बोल्ने र पढाईमा ध्यान दिने त्यो केटीसंग परिचय गर्ने आँट कलेजका कोहि केटासंग थिएन । यो थाहा पाउँदा म मा नजानिदो घमण्ड पलाउँथ्यो कि मैले रोजेको केटीलाई कुनै केटाले आँखा लाउने हैसियत राख्दैन । उसो त म पनि बोल्न सक्दैनथें उ संग । बाहिरी आवरणमा जस्तो देखिएपनि म भित्र एउटा यस्तो मन छ जो प्रेम नै सबथोक हो भन्ने सोच्दछु । मैले उसको नाम रानी राख्दा सम्म पनि मलाई थाहा थिएन यो केटीको नाम सपना हो भन्ने ।

स्कुल पढ्दै बाट मेरो एक जना साथी थियो समिर जो संग म आफ्ना कुरा स्पष्ट राख्न सक्थें । रानीलाई मन पराउने कुरा जति उसलाई थाहा थियो त्यति अरुलाई थाहा थिएन तर मैले माहौल यस्तो बनाईसकेको थिएँ कि सबैलाई मैले रानीलाई मन पराउँछु भन्ने थाहा थियो । तर कति मन पराउँथें त्यो न मेरो साथि समिरलाइ थाहा थियो न रानीलाई नै । किनकी जति ब्यक्त गर्थें त्यो भन्दा लाखौं गुणा बढि थियो मेरो उ प्रतिको आशक्ती ।

आजको समयमा प्रेमलाई शरिरको आशक्तीसंग जोडेर हेरिन्छ । तर रानीलाई मैले गरेको प्रेममा केवल कल्पना मात्र हुन्थें, बिबाह, सुखी जीवन, मेरा बा आमाले कति लक्षीनकी बुहारी भन्दै तारिफ गरेका वाक्यहरु बस् यति नै । समयनै चिठ्ठी लेखेर प्रेम प्रस्ताव राख्ने बेलाको हो, आज जस्तो फेसबुकको जमाना हुँदो हो त म कति कति कुरा भन्दो हुँ उसलाई । तर मेरो लागि रानी नाम एक नमेटिने ईतिहास मात्र भै जो संग म कैलेहि भेट्न पाउँदिन र सुनाउन पाउँदिन कि म उसलाई कति प्रेम गर्थें। संधै याद आईरहने एउटै वाक्य छ, बिबाहको दिन अन्मने बेलामा उसले एक्लै मलाई भेटेर भनेकी थिई ‘तिमी ठुलो मान्छे बन्नु ल, सबैले चिन्ने, नाम चलेको मान्छे बन्नु ता कि म तिमीलाई सबैतिर देख्न सकुँ सुन्न सकुँ ।’  आज सम्झन्छु जीवनरुपी खोला जताबाट जता बगेपनि अन्तिम बिसौनी सागर नै रहेछ नत्र कहाँ म आज उसको नाममा लेखिरहेको हुँन्थें होला र यि शब्दहरु ।

रानीलाई मैले मन पराउँछु भन्ने प्राय हाम्रो ग्रुपका सबैलाई थाहा थियो । थाहा नपाएकाहरुले पनि थाहा पाउन् जस्तो लाग्थ्यो, मानौं ठुलै काम गरेको हुँ मैले । आजको जत्तीको सोच्ने उमेर भै दिएको भए उसलाई एक्लै बोलाएर ‘म तिमीलाई माया गर्छु ‘ भन्थें होला तर उसको सामु उभिएर यसो भन्न नसकेको मैले मेरो प्रेम धुवाँ जसरी फैलियोस् र उसलाई आफैं थाहा होस् भन्ने सोचें । सोचें पनि के भन्नु जे जे हुँदै थियो, म दंगदास रमाईरहेको थिएँ ।

साथीहरुले रानी-रानी भनेर मलाई जिस्काउँदा खुव रमाईलो मानिरहेको थिएँ । जसलाई माया गर्छु उसैलाई पत्तो छैन हामी केटाहरुको गु्रपमा उ मेरी प्रेमिका भै सकेकी थिई । आफुलाई सिनेमाको हिरो ठानिरहेथें म ।

एकदिन कलेजको क्यान्टिनमा उ एक्लै बसेर खाजा खाईरहेको देखेपछि मैले साथिहरुलाई भन्दिएँ ‘आज जसलाई जे मन लाग्छ खाउ साथी हो रानिको नाममा म तिर्छु पैसा ।’ यो सुन्नु के थियो भएभरका साथिहरु ठुलै उत्सव जसरी -रानी-रानी’ भन्दै कराउन थाले । एक्लै खाजा खाईरहेकी रानी केहि बोलिन । फिल्मी शैलीमा प्रस्तुत भएको मेरो नसा त्यति बेला उत्रियो तव लाष्ट पिरिएड सुरु हुनु अघि रानीले मलाई ‘तिमी बाहिर हिँड त तिमीसंग कुरा गर्नुछ’ भनि । एकछिन अघिको रवाफ सबै एकैचोटी कता पुग्यो पुग्यो । तै पनि उसको पछि लागेर बाहिर निस्कीएँ ।

‘अघि के भन्दै थियौ रे क्यान्टिनमा ? मलाई थाहा छैन भन्ने सोचेको तिम्ले ? लभ गर्न आको हौ कलेज ? कि एफएममा बोल्छु भनेर आफुलाई हिरो नै सम्झेको छौ ?’ आदी आदी । उसले प्रश्नमाथी प्रश्न गर्दै हप्काईरही म हँसिलो अनुहारमा सुनि मात्र रहें । सोचेकी हुँदी हो ‘सरी अव त्यस्तो सोच्दिन सपना’ भन्नेछु मैले भनेर । तर उसका कुरा सक्किएसी मैले भनें ‘क्यान्टिनमा जे भो सरी तर म तिमीलाई एकदम मन पराउँछु, माया लाग्छ तिम्रो, मलाई लभसभ केही गर्नु नि छैन बिहे गरौं हामी । के भो त सबै कुरा मिल्छ मेरो घरमा भन्छु माग्न पठाउँछु म ।’

सुनेर उ मौन भै एकछिन र अघिको हप्काईको लवजबाट सामान्य भएर भनि ‘लभको बारेमा नसोच बरु हामी राम्रो साथी बनौं । मैले हुन्छ भनें । मन पराउन थालेको लामै समयपछि पहिलो पटक बोल्दै थिएँ, उसको साथी बन्ने अनुरोधलाई हाँसी हाँसी स्वकारें ।

अव हामी साथी भयौं, मैले रानीलाई माया गर्छु भन्दै हिड्न नि छोडें । उसको चित्त थोरै मात्र पनि दुखाउन चाहन्थीन म । निर्दोश प्रेम यस्तै हुँदो रहेछ, मैले उसमाथी प्रवाभ जमाउन तेसो गरेको थिईन, उसको भावनाको सम्मान गर्दै थियो मन । तर माया घट्नु भन्दा बढ्दो थियो उ प्रतिको । संगै हिड्न सजिलो भएको थियो साथी भएपछि। देख्ने सबैलाई रानीलाई पट्याईछाड्यो केटोले भन्ने भएको थियो तर म संधै सचेत रहन थालेको थिएँ हाम्रो नाम नजोडियोस् कलेजमा भनेर । त्यो दिन उसले हप्काएपछि अझै धेरै माया गर्न थालेको थिएँ तर उसको अगाडी मैले कहिल्यै भनिन । व्यवहारबाट देखिन्थ्यो उ पनि मलाई माया गर्छे भन्ने, म उसलाई पाउनेमा निस्चिन्त थिएँ तर धैर्य गर्न चाहन्थें, किनकी जे चलिरहेको थियो, असाध्यै मिठा पलहरु थिए कमसेकम मेरा लागि ।

हाम्रो घर उति टाढा थिएन । उसको परिवारले मलाई चिन्थ्यो, सानै उमेरमा राम्रो गरिरहेको छ यो केटाले भन्ने अरु गाउँलेलाई झैं उसको परिवारलाई पनि परेको थियो । नजिकैको गाउँ थियो हाम्रो । एकदिन उसको गाउँको साथीसंग डुल्दै म उसकै घरमा पुगें । बिदाको दिन थियो साथीले ‘जाने हो रानीको घर भन्यो ,जाउँ न त’ भनेर गएको थिएँ । आमा बुबासंग चिनिरहेकोले बेलें । उसको आमाले नानी बाबुहरुलाई चिया बनाएर ल्याउ त भनेपछि भित्रैबाट हुन्छ भनेकी उसले चिया ल्याउन अबेर गरी । निस्कदाँ उ राम्री भएर निस्की, उसको हातले बनाएको चिया मेरो लागि पहिलो र अन्तिम चिया हुनेछ मैले सोचेको थिईन । यति चाहिँ थाहा पाएको थिएँ कि उ मैलाई देखाउन राम्री भएर निस्केकी हो ।

चिया खाएर घर फर्कदैं गर्दा मैले गरेका कल्पना आज आएर सम्झँदा पनि म मुस्कुराउँछु, आँसु झर्दैन खै किन हो उसलाई याद गर्दा । पहिलो प्रेमप्रतिको सपना सबैको मेरै जस्तो त हुन्छ होला । उ मेरो हुनेछे भन्नेमा म पूर्ण विश्वस्त थिएँ । सबै भन्छन् केटीले जति माया केटाले गर्नै सक्दैन तर मलाई लाग्छ मापन नै गर्ने हो भने केटा मनले गरेको प्रेम, देखेको सपना केटिको भन्दा कता कता गहिरो हुन्छ, यति हो केटा ब्यक्त गर्न जान्दैनन् केटी कोमल जात भएकाले माया दर्साउन जान्दछन् ।

फेरी दिन सामान्य भए, फेरिएको थियो त उसको घरबाट आएपछि उ कतिपय कुरामा प्रेमिका जसरी बोलिदिन्थी, ईसारा ईसाराको प्रेम थियो । म कुर्दै थिएँ उसले अव चाहिँ भन्ने छ म पनि तिमीलाई माया गर्छु भनेर । नभन्दै त्यो दिन पनि आयो । उसले मलाई कलेजमा भनि आज तिमी र म कतै गएर कुरा गरौं, केहि भन्नु छ, कलेज भन्दा पर । मलाई थाहा भै हाल्यो उसले आज भन्नेछे कि उ मलाई माया गर्न थालेकी छ । हामी कलेजबाट केहि पर गयौं, कसैले देख्लाकी भन्ने डर पनि थियो । केटा र केटी साथी हौं भन्दै एकान्तमा गफ गर्ने समय दिएन त्यतिबेलाको । गाउँ हो, सानो कुरालाई पहाड बनादिन सक्थे ।

हामी सबैबाट जोगिएर एकान्तमा पुगेउँ जव कसैले देख्दैन भन्ने भयो उ एक्कासी मलाई छाँद हालेर रुनथाली । मैले के भयो किन राईराईछ मेसो नै पाईन बिना कुराकानी बिना प्रसंग उ नमिठो संग रोईदिई । के भयो किन रोएको भनेर १० पटक भन्दा बढि सोधेपछि उसले अंगालोबाट छुटेर भनि म पनि तिमीलाई माया गर्छु, तिमीबाहेक कसैलाई सोच्नै सक्दिन । सुनेर हाँसे म अनि के भो त राम्रै हो त हामी छिट्टै बिवाह गरौंला । रुनै पर्दैन नि तिमी भन्छौ भने म आजै मेरो घरमा कुरा गर्छु । फेरी बग्न थाले उसका आँसु म सम्झाउँदै थिएँ उसले मलाई व्यागबाट झिकेर बिबाहको कार्ड दिंदै भनि मेरो बिवाह हुने भयो । मैलाई थाहा थिएन बुवा आमाले भन्दा पनि भन्नु भएन ।

म उभिएको धरातल भासिएको थियो, केटामान्छे हुनु कति दुभाग्य रहेछ मैले डाँको छोडेर रुन पनि सकिन । जात मिल्थ्यो, मन मिल्थ्यो हैसियत मिल्थ्यो हाम्रो तर तक्दिर लेख्ने भावीले फरक रंगले लेखेछ हाम्रो साईनोको कथा, उ कतै उसकै रंगमा मिसिन जाँदै थिई, मेरो जिन्दगी कतै गएर जोडिनु रहेछ ।

उसलाई भगाएर लैजाने अवस्था थिएन उ भागेर जान तयार हुने पनि थिईन, नजिकैको गाउँ बिबाहको कार्ड छापिईसकेको थियो । एक अर्कालाई चिन्ने परिवार थियो । हामी बाध्यताको त्यो चपेटामा चेपिएका थियौं जो रुनैकै लागि पनि स्वतन्त्र थिएनौं । आजको उमेर भएको भए उ पनि आँट गरेर म अर्कै केटालाई माया गर्छु मलाई नसोधी गरिएको निर्णय म मान्दिन भनेर बिरोध जनाउँदी हो । म पनि फलानाको छोरी मन पराउँछु राम्रो संग बिबाह गरिदिनु नभए भगाएर ल्याउँछु भन्थें होला । तर हामी निहिर बनेउँ समाजको डरले, परिवारको प्रतिष्ठाको अगाडी हामीले हाम्रो प्रेमको बलिदानी दियौं ।

बिवाहको दिन जति जति नजिकीदैं थियो मेरो ह्रदयको घाउ उति नै बल्झिरहेको थियो । त्यो दिन उसले छुट्ने बेलामा भनेकी थिई बिवाहमा जसरी नी आउ ल । म तिमीलाई त्यो दिन म संगै भएको देख्न चाहन्छु । भोलीपल्टबाट उ कलेज आईन दोस्रो हप्ता उसको बिबाह थियो । उ मेरै लागि कलेज आईन आएको भए हाम्रा पिडा सबैको अगाडी तमासा बन्ने थियो ।

प्रेम यस्तै हुँदो रहेछ जो मनले गरेको हुन्छ । उसको विवाहमा जान मन थिएन । घाईते थिएँ म उसंगको विछोडले । कयौं रात मेरा आँखा भिजेका थिए उसका जसनी नै । मोवाईलको जमाना हुँदो हो त रात रात भर हामी साट्थेउँहोला पिडामा किस्साहरु, सपना र रहरहरु । उसले मलाई भेटेपछि महशुष गरेका प्रेम र आज रोईरहेको उसको मन सुनाउँदी हो । संगै म पनि शब्दै पिच्छे आँसु मिसाएर पठाउँदो हुँ जो उसलाई बाहेक म कसैलाई देखाउन सक्दैनथें यो अवस्थामा ।

विवाहको दिन आयो । त्यो आँगन जसमा म दुलाहा बनेर मेरो साथी समिरसंगै कलेजभरीका साथीलाई जन्ती बनाएर लान चाहन्थें, त्यो घर जहाँ म बेला बखत भित्र बाहिर गर्न चाहन्थें । आज म त्यहि घरमा निम्तालु भएर, रानीको कलेजको साथी भएर एक्लै जाँदैछु घरबाट निस्कदाँ हाँस्दै निस्कीएँ म, साथीको बिहे छ फलानाको छोरी, संगै पढ्ने साथी हो भनेर । मेरी सोझी आमालाई मेरो मनको घाउ देख्न दिईन मैले । जसरी सामान्य रुपमा निस्कन्थें त्यसैगरी निस्किएँ ।

उसलाई सम्झीदैं उसको घर पुगें, कलेजको सुरुको दिन, उसलाई देखेर मन पराएको पल, कलेजका साथीहरुलाई आफैंले म यो केटी मन पराउँछु भन्दै ढुन्डरी पिट्दाको समय, उसको नामै फेरेर रानी भन्दै हिँडेका बाटाहरु, क्यान्टिनमा उसको नाममा सबलाई खाजा खुवाउँदाको उल्लास, थाहा पाएर उसले हप्काएको त्यो दिन, साथी बनेर ह्रदयको प्रेमलाई बलजफती थेग्नु परेका दिनहरु । चिया बनाएर ल्याउँदा उसले लागाएको कपडा र चप्पलको रंग, उसले अन्तिम पटक छाँदा हालेर रोएको उसको अनुहार । सबै सबै आँखाभरी आईरहे चलचित्रका दृश्य जसरी ।

उसको आँगनमा पुगेपछि मैले अनुहारको उदासी लुकाईदिएँ । उसका गाउँका दाईहरु साथी थिए मेरा, सामान्य भएर प्रस्तुत भै दिएँ उनिहरुसंग पनि । जति बेला उसको नाम जोडेर साथीहरुले जिस्काउँथें म सिनेमाको हिरो सम्झन्थेंं आफुलाई आजको दिन यो कलाकारिता निभाउनकै लागि मैले हिरो हुन मन पराएको रहेछु सायद ।

म बिबाह उत्सवमा मिसिएँ काम सघाउन थालें, सबैसंग हाँस्दै बोलें, जे काम अगाडी आउँछ म गर्छु भनेर तम्सन्थें । उ भित्र हुँदी हो मैले सोधीन पनि कसैसंग । एकजना साथीले कुनबेला भित्र गएर भन्दिएछ म आएको छु र आमाहरुसंग मिलेर काम सघाईरहेछु भनेर । उसले भित्र बोलाईदेउ भनेर पठाईछ । खबर ल्याउनेसंगै म उ दुलही बनेर सिंगारिदैं गरेको कोठामा पुगें । सबैजना थिए, रुन मिल्थेन हामी । तै पनि उसले सबैलाई छलेर भनि किन यस्तो गरिरहेछौ जाउ तिमी म सक्दिन तिम्रो अगाडी कसैसंग जान । विवाहको कार्ड दिँदा जसरीनी आउ भनिथी आज जाउ भनि । यहि त थियो प्रेम, बाध्यताले उ टाढा हुँदै थिई तर मन मेरै लागि दुखाएकी थिई नत्र त म भन्दा राम्रो केटा पाएकी थिई उसले ।

सिन्दुर हाल्ने समय भन्दा पहिले पनि उसले मलाई बोलाईदिन भनि । असाध्यै राम्री देखिएकी थिई उ दुलहिको पहिरनमा । उसलाई तलबाट माथी सम्म हेरें । हातभरी चुरा थिए यहि हात हो, जसले बनाएको चिया म हरेक बिहान पिउन चाहन्थें, यहि आँखा हो जसले म साँझ तिर गाउँ डुलेर फर्कदा बाटो हेरिरहेको कल्पना गर्थें । यहि पहिरनमा उ मेरा घर भित्रीएको हेर्न चाहन्थें । तर आज उसको बिदाईका लागि म तयार थिएँ । सिन्दुर हाल्दा उ खुव रोई मलाई लाग्यो मलाई नै सम्झेर रोई, अरुलाई लाग्यो माइतीघर छुट्यो आजबाट भनेर रोई । सिन्दुर हाल्दा प्राय बेहुली नरमाईलो मानेर रुने हुँदा सबैले सामान्य लिए । केवल म बाहेक ।

अन्माउनु अघि पनि उसले मलाई बोलाउन पठाई घरी घरी हेर्न चाहिरेछन् उसका आँखा मलाई । बाहिरबाट दुलही छिटो ल्याउनु अन्माउने बेला भयो भन्दा उ मलाई भनिरहेकी थिई तिमी ठुलो मान्छे बन्नु ल, सबैले चिन्ने, नाम चलेको मान्छे बन्नु ता कि म तिमीलाई सबैतिर देख्न सकुँ सुन्न सकुँ ।

यति वाक्य बोलेर गएकी उ आज सम्म म संग भेट भएकी छैन, कुरा भएको छैन । यो १२ बर्षको अवधीमा मेरो जीवनमा पनि धेरै परिवर्तन आए, घरबारे भएँ, पति, पिता, केहि नाम ,केहि पहिचान, जीम्मेवारी आदी आदी । उसको जीवन जसरीनै मेरो जीवन पनि बदलिदैं गयो तर त्यो नाम रानी मेरो मनबाट कहिल्यै टाढा बनेन, कसैलाई नदेखाई जतनले राखेको रहेछु क्यारे उसलाई मनभित्र । १२ बर्षपछि पहिलो पटक आज मैले उसका नाममा केही लेखें । किनकी लेख्नै डराउनु पर्ने खाले प्रेम थिएन, मेरो हातले उसको आँखाको आँसु माम्म पुछेको छैन भने यो पवित्र प्रेमलाई सुनाउँदा म गर्व नै गर्छु ।

मलाई लाग्छ जुन मायामा मनमात्र सामिल भएको हुन्छ त्यो प्रेम भगवान जस्तै हुन्छ पुजा गरिहन्छ ह्रदयले । आज भ्यालेण्टाईन डे । उ कतै प्रेम दिवस मनाउँदै छ होला म पनि मनाईरहेछु । आज आएर सोच्दा यस्तो लाग्छ प्रेम यसैलाई भनिन्छ जो बेखबर रहँदा पनि याद हुन्छ, संगै हुनु नहुनुले फरक पार्दैन ।

मैले ख्याल ख्यालमा मन पराएको थिएँ रानीलाई, पाएँ भने के के न गर्छु जस्तो शैलीमा । उसले हप्काएपछि गलत रहेछु म भनेर सुध्रिन चाहें मरिहत्ते हालेर होईन, प्रेम सार्थक बनाउन । उ साथी बनेपछि उसलाई बुझ्ने मौका पाएँ, हिजोको मजाक मजाकको टिनयजर पाराको स्वभाव हटेर बिस्तारै माया के हो बुझ्दै थिएँ , उसको बिहे हुने भयो उसको बिहेमा जानु त्यो समयमा मेरो प्रेम प्रतिको आदर्श स्वभाव हावी भयो । उ गएपछि मैले उसलाई नै सम्झेर या उसले धोका दि भन्ने पनि बुझीन, परिस्थिती यस्तै भयो भाग्यमा नलेखेको रहेछ हामीलाई भनेर हास्दै स्वकारें ।

मेरो जीवनमा जो आयो रानीको यादले कत्ती पनि असर गरेन । नठाँटी भनु त याद पनि आएन रानीको । जसरी उसलाई मेरो याद आएन । आज म मायाको परिभाषा लगाउन सक्ने उमेरको भएपछि यो प्रेमबारे लेखिरहेछु ।त्यो उमेरमा म जे सोच्थें आजको उमेरमा यहि खाले प्रेम भएको भए नसोच्न पनि सक्थें । उमेरले पनि नै मान्छेको स्वभावलाई बदल्छ । मैले त्यो बेलाका गरेको जस्तो माया म जत्रै उमेरको आजको केटाले नगर्न पनि पाईन्छ । कसैलाई माया लागोस् कठैबरा भनियोस् भनेर पनि होईन । प्रेमको अर्थ यो पनि त हो भनेर लेखिदिएँ । प्राय मान्छेभित्र हुन्छ यस्तो प्रेम कथा, फरक यति हो अवस्था हेरेरे कसैले व्यक्त गर्छन् कसैले गर्दैनन् , कति कथा लेखिन्छन् कति लेखिँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *