२०८१ वैशाख १३ गते | 25th of April 2024

व्यवसायिक एकता नै आजको आवश्यकता–अग्रज निर्माण व्यवसायी

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ७ गते १५:२२

धुलिखेल – अग्रज निर्माण व्यवसायीहरुले व्यवसायिक एकता नै आजको आवश्यकता भएको बताएका छन् । दुई तिहाइको सरकार बनेको एक वर्ष बितिसक्दा समेत निर्माण क्षेत्रका समस्या सम्बोधन नभएको भन्दै उनीहरुले गहिरो चिन्ता समेत व्यक्त गरे । नेपाल निर्माण व्यवसायी महासंघ अन्र्तगतको एसोसिएट सदस्य समन्वय कार्य समितिको नवौं राष्ट्रिय भेलाको उद्घाटन अवसरमा उनीहरुले निर्माण क्षेत्रमा निरन्तर गम्भीर चुनौतिहरु थपिँदै गएको विश्लेषण गरे । काभ्रेको धुलिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायी एक भएमा जस्तोसुकै चुनौति पार लगाउन सकिने बताउनुभयो । विगतका तिता–मीठा सबै कुरा बिर्सदै अब एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको सिंहको भनाइ थियो । व्यवसायीहरुको समस्या अवगत गराउन लामो समयदेखि प्रधानमन्त्रीलाई भेट्ने प्रयास सफल नभएको अध्यक्ष सिंहले बताउनुभयो । महासंघ साना व्यवसायीहरुको समस्यामा निकै संवेदनशील रहेको भन्दै उहाँले रचनात्मक सुझावका लागि सबै समक्ष आग्रह गर्नुभयो । महासंघका मानार्थ सदस्य समेत रहनु भएको सांसद जीपछिरिङ लामा शेर्पाले अहिले व्यवसायीहरुका लागि प्रतिकूद अवस्था सिर्जना भएकाले सबै चनाखो हुनुपर्ने धारणा राख्नुभयो । महासंघका सल्लाहकार समेत रहनु भएका पूर्व अध्यक्षहरु रमेश शर्मा र सुकुन्तलाल हिराचनले निर्माण व्यवसायीको योगदानलाई राज्यले कदर गर्न नसकेको टिप्पणी गर्नुभयो । 

पूर्व अध्यक्ष यक्षध्वज कार्की तथा निवर्तमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले महासंघ नेतृत्वले सबै खाले व्यवसायीलाई समेट्नु पर्ने बताउनुभयो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले मुलुक निर्माणमा निर्माण व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकाले समय सापेक्ष ढंगले व्यवसायीहरुसँग सम्बन्धित् ऐन नियम परिमार्जन गर्न लागिएको जानकारी दिनुभयो । एसोसिएट सदस्य समन्वय कार्य समितिका संयोजक आङ दोर्जी लामा (ए.डी) ले महासंघका सबै गतिविधिमा आफ्नो नेतृत्वको समितिको सक्रिय सहभागिता रहने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पोण्डेले निर्माण व्यवसायीहरु भौतिक पूर्वाधार निर्माणका मेरुदण्ड भएको धारणा राख्नुभयो । कार्यक्रममा महासंघको २० औं साधारण सभा तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्य समितिका सबै पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको थियो ।

यसैबीच महासंघ एसोसिएट सदस्य समन्वय कार्य समितिको निर्विरोध चयन भएको छ । रामजी पन्त (मुकेश)सह–सहंयोजक रहेको कार्य समिति निर्विरोध चयन भएको हो । एसोसिएट सदस्य समन्वय कार्य समितिको संयोजक भने महासंघका उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) रहनु भएको छ । आङ दोर्जी लामा (ए.डी) गत असोज महिनाको पहिलो साता राजधानीमा सम्पन्न महासंघको २० औं साधारण सभा तथा ११ औ अधिवेशनमा एसोसिएट उपाध्यक्ष निर्वाचित हुनु भएको थियो । एसोसिएट सदस्य समन्वय कार्य समितिको सचिवमा नवराज श्रेष्ठ, उपसचिवमा मोहन कार्की, कोषाध्यक्षमा शिवशक्ति भट्टराई तथा सहकोषाध्यक्षमा लक्ष्मी बस्नेत निर्विरोध हुनुभएको छ । त्यस्तै सदस्यहरुमा भने खड्गबहादुर बुढाथोकी, इन्जिनियर प्रदीप कुमार खत्री, अनिल कुवँर, कृवेश श्रेष्ठ, उमेशध्वज थापा, तेण्डी शेर्पा, तुलसीराम भण्डारी, नवीनकुमार झा, गोकर्ण राउत, दिवाकर लामिछाने र केशव त्वानावासु निर्विरोध हुनु भएको छ । निर्विरोध सबैलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम दाहालले पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *