२०८१ वैशाख ८ गते | 20th of April 2024

चलचित्र ‘क्याप्टेन’ को क्रेज, हलहरुमा हाई-हाई अनमोल

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १९ गते १२:३०

काठमान्डौं – नेपाली फिल्मका हिट मेशिन अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ यस वर्षको दोस्रो सबैभन्दा ठूलो ओपनिङ फिल्म बनेको छ । शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास अकुपेन्सी कायम गरेको फिल्मले शनिबार भने बिहानैदेखि देशभर हाउसफुल व्यापार गरेको छ । राजधानी र मोफसलका अधिकांश सिंगल थिएटर र मल्टिप्लेक्सहरुमा फिल्मको व्यापार बम्पर छ । निर्माताले सर्वाधिक शेयर हात पार्ने मध्यम वर्गीय दर्शकको सर्वाधिक चाप रहने चावहिल स्थित गोपीकृष्णमा बिहान ११ बजे ३ वटा हल र दिउँसो २ बजेको सोजमा ५ वटा हलमा दर्शक खचाखच थिए । गोपीकृष्णका म्यानेजर प्रदीप दाहालले ‘छक्का पञ्जा ३’ पछि ठूलो ओपनिङ ‘क्याप्टेन’ ले गरेको दाबी गरेका छन् । उनले फिल्म हेरेका अधिकांश दर्शकले तारिफ गरेको पनि बताए ।

शनिबार दिउँसो साढे १ बजे हातमा राष्ट्रिय झण्डा बोक्दै अभिनेता अनमोल पनि गोपीकृष्ण हलमा प्रवेश गरेका थिए । उनलाई प्रहरीको भ्यानले स्कटिङ गरेर ल्याएको थियो । भने, ४ जना पर्सनल बडिगार्डले सुरक्षा दिएका थिए । १६ देखि २५ उमेर समुहका युवा दर्शकहरुको हलमा अत्याधिक भीड देखिएको थियो । वितरक मनोज राठीले फिल्म हेर्नेमा प्रायः युवतीहरु बढी रहेको बताए । ‘कृ’ रिलिजको एक वर्षपछि गोपीकृष्ण हलको बालकुनीमा बसेर आफ्ना ‘डाइहार्ट फ्यान’ सँग प्रत्यक्ष साक्षात्कार गरिरहेका अनमोल निकै खुसी मुद्रामा देखिन्थे । उनले कस्तो लाग्यो ‘क्याप्टेन’ ? भनेर सोध्दा ३ हजार बढी दर्शकले एकै स्वरमा ‘दाम्मी’ भन्दै जवाफ फर्काएका थिए । अनमोलले फिल्म रुचाइदिएकोमा दर्शकलाई धन्यवाद दिए । उनको साथमा पिता भुवन केसी पनि थिए ।


फिल्मका दुई अभिनेत्री प्रियंका एमभी र उपासना सिंह ठकुरी पनि अनमोलको साथमा नै गोपीकृष्ण हल पुगेका थिए । दुई अभिनेत्रीको क्रेज भने खासै देखिएन । बरु, अभिनेता प्रशान्त ताम्राकारलाई देखेपछि दर्शकहरुले हुटिङ गरेका थिए । फिल्म फुटबलको कथामा आधारित भएका कारण अनमोलले आफ्ना फ्यानलाई ५ वटा फुटबलमा हस्ताक्षर गर्दै बालकुनीबाट फ्यालेका थिए । बल आफ्नो बनाउन दर्शकबीच तझाडमझाड नै चलेको थियो । अनमोल करीब २ बजे हलबाट निस्किएपछि फिल्मीखबरसँग कुराकानी गर्दै वितरक मनोज राठीले ६ महिनापछि हलमा दर्शक उर्लिएको बताए । उनले दुई दिनमा फिल्मले अनुमानित १ करोड ६० लाख ग्रस कलेक्सन गर्ने बताए । उनले भने- ‘दुई दिनको कलेक्सन त भोली मात्र थाहा हुन्छ । तर, दुई दिनमा डेढ करोड बढीको व्यापार भने गरेको छ ।’ उनले शुक्रवार बिहान सिंगल थिएटरमा कलेक्सन राम्रो भए पनि मल्टिप्लेक्समा कमजोर रहेको स्वीकारे ।
वितरक राठी शनिबार फिल्मले देशभर आक्रामक व्यापार गरेको बताउँछन् । उनका अनुसार, राजधानीसँगै मोफसलका मेजर स्टेशनहरुमा फिल्मले सानदार व्यापार गरेको छ । बुटबल, चितवन, पोखरा, विराटनगरलगायतका शहरमा फिल्मले बम्पर व्यापार गरेको रिपोर्ट आफूलाई प्राप्त भएको उनले बताए । १ करोड ८० लाख निर्माण लागत बताइएको फिल्मले अब शिवरात्रीको विदामा बम्पर कमाई गर्ने विश्वास निर्माण टिमको छ ।  यो फिल्ममा अनमोल फुटबल खेलाडी इशानको भूमिकामा छन् । पिता (सरोज खनाल) को फुटबलबाट देशका लागि गोल्ड मेडल जित्ने सपना पूरा गर्न संघर्षरत मध्यम वर्गीय परिवारको एक युवकको कथामा फिल्म केन्द्रित छ । फिल्मबाट अभिनेत्री उपासनाले राम्रो सम्भावना देखाएकी छन् । फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गरेका हुन् भने कथा सामिप्यराज तिमल्सिनाको हो । Image result for captain nepali movie

Leave a Reply

Your email address will not be published. Required fields are marked *