२०८१ वैशाख ८ गते | 20th of April 2024

अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन शुरु

खुल्लामन्च
 प्रकाशित: २०७६ जेठ २३ गते ३:५६

काठमाडौं – त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागको समन्वय र प्रदेश न.३ सरकारको उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा अन्तर्राष्ट्रिय (सार्क) युवा वैज्ञानिक सम्मेलन ललितपुरमा शुरु भएको छ । उद्योग, पर्यटन, वन, वातावरण साथै जलवायु परिवर्तन, प्राकृतिक प्रकोप लगायतका महत्वपूर्ण बैज्ञानिक विषयहरुमा अन्तराष्ट्रिय वैज्ञानिकहरुका अनुभव साटासाट गर्ने एवम् युवा वैज्ञानिकहरुको सञ्जाल निर्माण गर्ने उद्देश्यले आयोजित सम्मेलनको उद्घाटन पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गर्नुभयो ।

पूर्व प्रधानमन्त्री नेपालले जलवायु परिवर्तन क्षेत्रमा देखिएको विविधताको वारेमा खोजमुलक अध्ययन गरी जलवायु परिवर्तन र विश्वव्यापी उष्णताका कारणले उत्पन्न समस्याको समधान गर्न युवा वैज्ञानिक सम्मेलनले महत्वपूर्ण योगदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।  युवा बैज्ञानिक पलायन रोकी देशभित्रै युवाहरुले अनुसन्धान गर्ने र राज्यले वैज्ञानिक अनुसन्धानको कार्यान्वयन गर्ने वातावरण निर्माण गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं.३ का सभामुख सानुकुमार श्रेष्ठले युवा बैज्ञानिक सम्मेलनले बैज्ञानिक क्षेत्रमा भएका महत्वपूर्ण उपलब्धीका वारेमा छलफल गरी सरकारलाई ठोस नीति निर्माण गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । प्रदेश नं.३ का पर्यटन,उद्योग बन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले अन्तर्राष्ट्रिय (सार्क) युवा सम्मेलनले प्रदेश सरकारलाई पर्यटन उद्योग तथा बैज्ञानिक क्षेत्रमा नीति निर्माण गर्न मार्ग निर्देशन गर्ने धारणा व्यक्त गर्नुभयो ।

सम्मेलनलाई सम्वोधन गर्नुहुदै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले अन्तर्राष्ट्रिय युवा सम्मेलन विश्वमा देखापरेका नवीनतम चुनौतिहरुको सामना गर्ने रचनात्मक उपायका वारेमा केन्द्रीत हुने विश्वास व्यक्त गर्नुभयो । जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख प्रा. डा. दिपक अर्यालले सम्मेलनमा प्रस्तुत हुने कार्यपत्रका वारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । साथै उहाँले युवा वैज्ञानिकहरुको अन्तराष्ट्रिय नेटवर्क निर्माण गरी सार्क क्षेत्रमा देखिएका विद्यमान समस्यालाई सम्वोधन गर्न वैज्ञानिक क्षेत्रमा सहकार्य र समन्वय गर्ने उद्देश्यले अन्तराष्र्टिय युवा सम्मेलनको आयोजना गरिएको बताउनुभयो । सम्मेलनमा सार्क क्षेत्रका नेपाल वाहेकका १७ युवा वैज्ञानिकहरु उपस्थिति रहेको छ । साथै सार्क वाहेका जर्मनी,फिनल्याण्ड, चीन र वेलायत समेतवाट युवा वैज्ञानिकहरुको सहभागिता रहेको छ । २ दिन सम्म सञ्चालन हुने सम्मेलनमा प्रस्तुत ५१ वटा कार्यपत्रमा उद्योग पर्यटन, वन, वातवरण लगायत वैज्ञानिक क्षेत्रमा देखिएका विविध विषयहरु समेटिएको अन्तराष्ट्रिय (सार्क) युवा बैज्ञानिक सम्मेलनका सम्पर्क व्यक्ति एवम जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह प्राध्यापक डा. विनोद दवाडीले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *