२०८१ वैशाख ६ गते | 18th of April 2024

नेवा राज्य बनाउँछु भन्थे, अहिले त गुठी नै भत्काउन थाले – प्रदीप पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७६ असार २ गते ८:३०

हेटौंडा –  नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेवा राज्य बनाउँछु भन्नेहरुले नै अहिले गुठी भत्काउन थालेको आरोप लगाएका छन् । हेटौंडामा शुक्रवार पत्रकारहरुसँगको भेटमा नेता पौडेलले विगतमा गुलिया सपना देखाउनेहरुको तितो व्यवहारबाट आम जनता आजित भएको धारणा राखे । पौडेलले गणतन्त्र ल्याउन ठूलो योगदान दिएका राजधानीका नेवार समुदायको भावनमा गम्भीर कुठाराघात गर्दे सरकारले गुठी विधेयक ल्याएको टिप्पणी गरे । गुठी विधेयकले प्राचिन संस्कृति तथा सम्पदामा गम्भीर हमला गर्ने भएकाले तत्काल फिर्ता लिन उनले ध्यानाकर्षण गराए । “गुठी विधेयक विरुद्धको आन्दोलनले सरकार ढल्ने भन्दा पनि सरकारको गलत रवैयाका कारण वर्तमान संविधानमै बुहसंख्यकको अनास्था उत्पन्न हुने चिन्ता बढेको छ” पौडेलले भने ।

गुठीलाई सामन्तवादको स्वरुप भन्ने सरकारी प्रवक्ताको अभिव्यक्तिको कडा प्रतिवाद गर्दै पौडेलले विगतका घटनाक्रम स्मरण गराउँदै सांस्कृतिक क्षेत्रमा अनावश्यक हस्तक्षेप नगर्न चुनौति दिए । बेग्लै प्रसंगमा पौडेलले दुई तिहाईको वर्तमान सरकार दिनप्रतिदिन निरिह हुँदै गएको टिप्पणी गरे । “यातायात भाडा वृद्धिको निर्णयमा पाँच घण्टा पनि टिक्न नसक्ने सरकारबाट जनताले के अपेक्षा गर्ने” पौडेलले प्रश्न गरे । राजपत्रमा प्रकाशित भइसकेको सार्वजनिक खरिद नियमावलीलाई केही हप्तामै संशोधन गरेर सरकारले आफूलाई अत्यन्त कमजोर प्रमाणित गरेको उनको भनाइ थियो । अन्यत्र कहीँ पनि एकपटक राजपत्रमा प्रकाशित भएको नियमावली यति छिटो संशोधन नभएको उदाहरण दिँदै पौडेलले सरकार चलाउनु भाँडाकुटी खेल्नु नभएको धारणा राखे । प्रेस स्वतन्त्रतामाथि यस अघि नै धावा बोलिसकेको सरकारले अभिव्यक्ति स्वतन्त्रता पनि कुण्ठित पार्न खाजेको उनको भनाइ थियो । बजेट भाषण लगत्तै सबै अत्यावश्यक वस्तुमा अचाक्ली मूल्यवृद्धि भएको भन्दै उनले “समृद्ध नेपाल सुखी नेपाली” को नारा घन्काउने सरकारले जनतालाई पाइला पाइलमा आहत पारेको आरोप लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *