२०८१ वैशाख ६ गते | 18th of April 2024

गीतकार खनाललाई सर्वोत्कृष्ट अवार्ड

खुल्लामन्च
 प्रकाशित: २०७६ असार ९ गते ११:३३

काठमाडौँ, असार ९ गते । हाम्रा नेपाल सम्वाददाता गीतकार पुष्पा खनाल राष्ट्रिय भावको गीततर्फ सर्वोत्कृष्ट अवार्ड पाउन सफल हुनुभएको छ । हिजो राजधानीमा आयोजित योङ माइण्ड इन्टरटेन्मेण्ट अवार्ड कार्यक्रमको दोस्रो संस्करणमा सो अवार्ड प्रदान गरिएको हो । उहाँलगायत अन्य ४९ जना व्यक्तिहरूलाई पनि आधुनिक, पप, लोक, दोहोरीलगायतका विभिन्न विधामा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको थियो । गीत सङ्गीतको क्षेत्रमा राष्ट्रिय भावको गीतको छुट्टै महत्व रहेको हुन्छ । त्यसकारण पुष्पा खनालले प्राप्त गरेको अवार्डले विशेष महत्व राख्दछ ।


योङ माइण्ड इन्टरटेन्मेण्ट प्रा. लि. ले दुई महिनाअघि अवार्डका लागि गीत सङ्गीत उपलव्ध गराउन सार्वजनिक रूपमा आह्वान गरेको थियो । प्राप्त गीत सङ्गीतलाई विभिन्न क्षेत्रबाट मूल्याङ्कन गरी गत महिना उत्कृष्ट पाँचलाई मनोनयन गरेको थियो । ७० प्रतिशत एसएमएस भोटिङ र ३० प्रतिशत निर्णायकहरूको नम्बरका आधारमा सर्वोत्कृष्ट विधा चयन गरिएको आयोजक योङ माइण्ड इन्टरटेन्मेण्ट प्रा. लि. ले जनाएको छ ।


रेडियो अडियोका निर्देशक अमितचन्द्र अधिकारी, वरिष्ट फोटो पत्रकार विदुर पाण्डे र वरिष्ठ गीतकार तथा पत्रकार लोकराज अधिकारीसहितको निर्णायक मण्डलले मनोनयनमा परेका विधाहरूको मूल्याङ्कन गरी सर्वोत्कृष्ट चयन गरेको थियो । त्यसरी चयन गरिएका सबै नतिजाहरू निर्णायकका तर्फबाट लोकराज अधिकारीले योङ माइण्ड इन्टरटेन्मेण्ट प्रा. लि. का अध्यक्ष मुनाल शिशिरलाई कार्यक्रमस्थलमा नै हस्तान्तरण गर्नुभएको थियो । त्यसपछि कार्यक्रममा अवार्ड वितरण गरिएको थियो ।


‘स्रष्टाले खोजेर होइन, स्रष्टालाई खोजेर गरिने सम्मान’ भन्ने नाराका साथ योङ माइण्ड इन्टरटेन्मेण्ट प्रा. लि. ले यो अवार्ड कार्यक्रमको आयोजना र वितरण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *