1

रूकुमदेखी अमेरिकासम्म, आचार्यको अविच्छिन्न पत्रकारिता यात्रा

53 पटक पढिएको

समयको क्यानभासमा पत्रकारले उतारेका हजारौं जीन्दगीको चित्र भन्दा बिलकुल अलग रहेर पनि पत्रकारका भोगाई पाठक सम्म बिरैलै पुग्ने गर्दछन् । अझ आफ्नो दैनिक जीवन र परिवारको जिम्मेवारी अर्कै पेसावाट पुरा गरेर पनि समाचार संप्रेषणका लागि निशुल्क पत्रकारिता गरिरहेका प्रवासी नेपाली पत्रकारको जीवन बाहिरबाट हेर्दा जति सजिलो हुँदैन । uskhabar.com ले बर्षको बैसाख १ गतेबाट सुरु गरेको १२ महिना १२ पत्रकारको यो अंकमा पत्रकार भोला आचार्य ।

उनको बाल्यवाल, किशोरावस्था, पत्रकारिताका सुरुवाती दिन देखी अमेरिका बसाई सम्मलाई समेटेर यूएस खबरकर्मी किशन रेग्मी र सुष्मा देवकोटाले तयार पारेको सामग्री :

आज भन्दा ३८ बर्ष पहिले रुकुम जिल्लाको चौरजहारी स्थित लामिछाने गाउँमा जन्मिएका पत्रकार भोला आचार्य यति बेला अमेरिकाको टेक्ससमा छन् । हाईस्कुल पास नगरेका उनका बुवा श्रीदलु आचार्य र प्रौढ शिक्षाबाट अक्षर चिनेकी आमा गौरीदेवी आचार्यका माईलो छोराका रुपमा जन्मेका भोला सानोमा शान्त स्वभावका थिए, आफ्नो नाम जस्तै । उनकी आमा गौरीदेवी उनलाई मायाले लाटो भनेर बोलाउँथिन् । कम बोल्ने स्वभावकै कारण लाटो भनेर बोलाईएका उनका बालशुलभ बदमासी भने रमाईला थिए ।

आज सपनाको देश अमेरिकामा बसेर जीवनका ३८ बसन्त बिताउँदै गर्दा उनि सम्झन्छन्, घरको एक तला माथी बसेको बेला उनि खुट्टाले त्यहाँ राखेका भाँडा कुँडा घिर्सादै तल खसाल्थें केटाकेटी मन पौरखै गरे जसरी रमाउँथ्यो । उनको गाउँमा त्यतीबेला चर्पी थिएन, दिसा पिसाप गर्न बारीमा जानुपथ्र्यो, उनलाई याद नभएपनि आमा बुबा आज पनि जिस्काउनु हुन्छ उनि दिसापिसा गर्न र ‘सफाईका लागि उनि परिवारका सदस्यलाई मात्र अनुमती दिन्थे रे । नाकको सिंगान फाल्न नमानेर हजुरबुवाले पैसा दिएपछि मात्र सिंगान फाल्ने चौरजहारी लामिछाने गाउँको त्यो बालकलाई आजको भोला आचार्य बनाउनका लागि उनका बुवा आमाले गरेको दुख उनि दुर देशबाट संधै सम्झीरहन्छन्  ।
आफु माथीका दाजु शिव र भाई बहिनी धर्मराज र बसन्तासंगै बाल्यकालमा बिताएका यादहरु पनि ताजा बनेर स्मृतीमा नाचिरहन्छ उनको । एक पटक बुवाले ३ वटै दाजुभाईलाई नयाँ हापपेन्ट किनेर ल्याईदिनु भएको थियो । नयाँ हापपेण्ट लगाएर उनि दाजु र भाईसंगै स्कुल गएका थिए । स्कुलबाट घर फर्कनुपूर्व नजिकैको खोलामा तेर्सिएको ठूलो ढुंगामा चिप्लेटी खेलेर बसे । बेलुका घर आउँदा ३ वटै छोरा नयाँ हापपेन्ट हिलाम्य बनाएर अझ प्वालै पारेर आएपछि उनिहरुले खुब गाली खाएका थिए । बच्पपन पार गरेर किशोरावस्था लागिपछी भने उनी चकलेटी स्वभाव देखिए । केटी साथीहरुले असाध्यै मन पराउने गरेको सम्झन्छन, केहिले छ विहे गर्ने प्रस्ताव नै गरे । तर किशोरावस्थाको त्यो भोगाई स्वाभाविक र निद्रोसता भरिएको वताउछन् ।
घरबाट १५ मिनेट हिँडेर नाखिरा प्राथमिक बिद्यालयबाट पत्रकार आचार्यले कखरा सिकेका हुन् । स्कुले जीवन पढेर भन्दा पनि खेलेरै बिताए जस्तो लाग्छ उनलाई । पढाईमा उनको उति ध्यान थिएन सानोमा ।  आज भन्दा ३८ बर्ष पहिलेको चौराजाहारी कृषक समुदायको बाहुल्यता रहेको ठाउँ थियो । बा आमालाई सघाउन सजिलो लाग्थ्यो उनलाई पढ्न भन्दा । उनका दाजु शिव पढाईमा मेधावी थिए ।

उनी कक्षा १ देखी १० सम्म नै उत्कृष्ट बिद्यार्थी थिए । यता  भोला भने कक्षा ८ मा फेल भए । फेल भएपछि घरमा सानोतिनो गाली समेत खानुपर्यो  । यद्यपी बुआ आमा परिवारका सबैले सम्झाई बुझाई गरेर पढाईको महत्व बुझाएपछि उनिमा पढाईप्रतिको रुचि बल्ल पलायो । उनि आफैंलाई पनि फेल हुनुपर्दा नराम्रो लाग्यो । त्यसैले ९ र १० कक्षामा उनले निकै मेहनत गरे ।
उनले कक्षा १० घरबाट २५ मिनेट दुरीको सितल माध्यामिक बिद्यालय चौरजहारीमा पढेका हुन् । फेल भएपछि जागेको पढाई मोहले उनले ९ र १० मा लगभग पुरै कितावहरु कन्ठ जस्तै गरे । अंग्रेजी देखी ज्यामिटीका हिसावसम्म कण्ठस्त पारेको वताउछन् ।
उनका दुईजना काकाहरु छन् । माईला काका सरुण आचार्य र कान्छा ठकेन्द्र आचार्य ।  सानो छँदाको केटाकेटी मनले काकाले आफुलाई गालि गरेको नराम्रो जस्तो मानेपनि उनि अहिले सम्झन्छन्  उनको स्कुलको पढाईमा उनका माईला काका सरुण आचार्यले ठुलो मद्दत गरेका थिए । सानैबाट पढाईमा भन्दा अन्य कुरामा ध्यान भएका पत्रकार आचार्यलाई गुच्चा, क्यारेम, तास , डन्डिबियो, भलिवल, फुटवल लगायतका गाउँमा जे जे खेल्न पाईन्थ्यो सबै खेलमा रुचि राख्थे । माईला काकासंग उनि मात्र होईन उनका दौंतरीहरु पनि डराउँथे । पढाईमा ध्यान दिनुपर्छ भनेर भनिरहने काकाको आँखा छलेर उनी साथीहरुसँग लुकेरै भएपनि खेल्न जान्थे ।
मुलबाटोमा बसेर गुच्चा खेलिरहेको बेला माईला काका परबाट आउँदै गरेको देखेपछि उनि जस्तो सुकै दाउ छोडेर लुक्न जान्थें  । उनिमात्र होईन काकासंग साथीहरुको पनि भागाभाग हुन्थ्यो । कान्छा काका ठकेन्द्र भने उनिसंग खेल्न मन गर्थे, त्यसैले साथीजस्तै लाग्थ्यो कान्छो काका  । तर माईला काका एकदमै कडा, अलिकती कपाल लामो भएपनि तँ अव गुण्डा बन्न लागिस् भनेर कपालै भुताल्न पनि बेर लगाउदैनथे । तर अहिले ती कुराको आफ्नो करिअरमा निकै ठूलो भूमिका खेलेको उनी वताउछन ।

उनका आफ्ना बुवा श्रीदलु आचार्यको संगत सो क्षेत्रका  राजनैतिक र ब्यवसायिक ब्यक्तीहरुसंग थियो । आफुले बिचैमा पढाई छोडेर जिम्मेबारीको पहाड काँधमा बोकेका श्रीदलुमा सन्तानलाई पढाउनु पर्छ भन्ने संस्कार थियो । त्यसैले उनले छोरा छोरीलाई पढाउन जग्गा नै बेचेका थिए । पत्रकार भोला आचार्यलाई यि सबै कुरा सम्झँदा आज आफु उभिएको धरातल तिनै बुवाको बेचिएको जग्गाले दिलाएको महशुष हुन्छ ।
प्रवेशिका परिक्षा (एसएसली) पास गरेपछि उनि उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए । उनका दाजु शिव काठमाडौंमा नै बसेर पढ्ने भएकाले उनका लागि काठमाडौंका यात्रा सहज बन्यो । आफु काठमाडौंमा बसेर पढेकाले बुवा आमासंग सर सल्लाह गरेर दाईले उनलाई बोलाएका थिए ।

गाउँको परिभेषबाट एकाएक राजधानी आएका पत्रकार आचार्यलाई उच्च शिक्षा अध्ययनमा  दाईको ठुलो योगदान रहेको महशुष संधै हुन्छ । राजधानिबाट धेरै परको जिल्ला रुकुमबाट राजधानि आएका किशोरबयका उनलाई यो ठाउँमात्र नौलो थिएन । प्रविणता प्रमाणपत्र तह आई ए मा कतिवटा बिषय मेजर बिषय हुन्छ भन्ने पनि थाहा थिएन । गाउँको स्कुलका शिक्षकहरुमा समेत अड्कल थिएन भने उनलाई के थाहा होस् । अहिलेको जस्तो ब्रिज कोषको सुविधा त्यो बेला थिएन र पनि यस प्रकारको जानकारी हुने दाजु बाहेक कोहि थिएन ।

काठमाडौं आएपछि उनले दाईलाई आफुलाई पत्रकारिता बिषयमा रुचि भएको बताए । दाईले उनको ईच्छा अनुरुप नै प्रदर्शनीमार्ग स्थित रत्न रात्य आर आर क्याम्पसमा भर्ना गरिदिए । त्यो बेला राजधानिका दुईवटा क्याम्पसमा मात्र पत्रकारिता पढाई हुन्थ्यो । एउटा आर आर क्याम्पस र अर्को पिलल्स क्याम्पस । पिपल्स क्याम्पसमा भने आई ए तहमामात्र पत्रकारिता बिषय राखिएको थियो । त्यसैले उनि आर आर क्याम्पसका बिद्यार्थी बने । जुन क्याम्पस आज पनि पत्रकारिता बिषय अध्ययनका लागि बिद्यार्थीको पहिलो रोझाई जस्तै छ । उनले प्रविणता प्रमाणपत्र तहमा पत्रकारिता, अंग्रेजी र अर्थशास्त्र पढेका हुन् भने स्नातक र स्नातकोत्तर तह मेजर पत्रकारिता र अंग्रेजी दुवै बिषय लिएर अध्ययन गरे ।
प्रविणता प्रमाणपत्र तहको दुई बर्षे पढाई सकेर बिचमा उनि आफ्नै जिल्ला फर्किए । यो २ बर्षको पढाई र उनको पत्रकारिता रुचिले उनि राम्रो संवाददाता बन्न सके । उनलाई आफ्नै जिल्लामा बसेर पत्रकारिता गर्न मन लाग्यो । हिमालय टाईम्स दैनिकमा संवाददाताको नियुक्ती पाएका उनि जिल्ला सदरमुकाम मुसिकोट बसेर पत्रकारिता गर्न थाले । उनको गाउँबाट मुसिकोट सम्म पुग्न त्यो बेला गाडिको सुविधा थिएन । १ दिनका पैदल यात्रा पछि बल्ल सदरमुकाम पुगिन्थ्यो । त्यसैले उनि आउ जाउको असुबिधाले सदर मुकाममा नै बस्न थाले । सुचनाको स्रोतका निकाय सबै सदरमुकाममा नै भएकाले त्यहि बस्नु पर्ने बाध्यता  पनि थियो । आजको जस्तो हात हातमा मोवाईल र ईन्टरनेटको सुविधा कहाँ थियो र । उनि पत्रकारिता सुरु गर्दाका दिनलाई सम्झदैं भन्छन् । सुरु सुरुमा आफुले लेखेका समाचार पत्रिकामा छापिएर आएपछि पढ्दा आफैं दंग परिन्थ्यो ।
पत्रकारिताका सुरुवाती दिनलाई सम्झँदै उनि भन्छन् सदरमुकाममा नै औंलामा गनिने पत्रकारहरु भएको त्यो समयमा मेरो गाउँ एरियामा म मात्र एक जना पत्रकार थिएँ । यता उता हिँड्दा पनि मेरो नामले बोलाउनु भन्दा उ पत्रकार आयो भनेर चिन्थे ।
मेरो गाउँबाट आफ्नो जिल्ला सदरमुकाम भन्दा जाजरकोर सदरमुकाम नजिक पथ्र्यो । जाजरकोट सदरमुकममा काम गर्ने हरिहर सिंह राठोरसंग परिचय थियो । पत्रकार राठौर त्यतीबेला कान्तिपुरका जिल्ला संवाददाता थिए । माओवादी दन्दको बेला उनिहरुको फोटो सार्वजनिक गर्ने राठौर पहिलो पत्रकार हुन । पछि माओवादीले पत्रकार राठौरलाई हत्याको प्रयास गर्न खोजेको भन्ने पनि सुन्नमा आएको थियो । निडर र चलाख पत्रकार थिए राठौर । राठौरसंगको निकटता सम्झदैं भोला भन्छन् उनि एकदिन म भएको ठाउँ चौरजहारी आउने योजनामा थिए तर पछि कामले अर्कैवाटोतिर लागेछन । यसले उनको दुर्घटना टरेको पछि उनले वताए । ज्यान जोगाउन सफल भएको बताएका थिए । सायद उनि मेरो तिर आएको भए यसै भन्न सक्ने अवस्था थिएन तत्कालिन समयमा ।  मैले पत्रकारिता पढ्दा पत्रकार संधै चतुर,  र परिश्रमी हुनुपर्छ भनेर पढेको कुरा उनलाई देखेपछि पत्याएको थिएँ । स्मृतीमा आईरहने पत्रकार राठौरसंग भने भोलाको अहिले खाषै अपडेट रैनछ ।
भोला आचार्यले पत्रकारितम सुरु गर्दा देशमा चरम द्वन्द थियो । माओवादी र राज्य पक्षको लडाईका कारण पत्रकारहरुलाई काम गर्न सजिलो थिएन । उसमाथी थोरै संख्यामा रहेका जिल्लामा रहेका पत्रकार सोझो निसानामा पर्ने खतरा रहन्थ्यो । उनि स्वयं पनि सदरमुकामबाट एक दिन भर जंगलको बाटो भएर घर पुगेका धेरै रातहरु छन् । ज्यान जाने डरले कहिले काहीँ मुसीकोटबाट नेपालगञ्ज भएर पनि घर आउ जाउ गरेका थिए कयौं पटक उनले । चौरजहारी एरपोर्ट उनको घर नजिकै थियो, सुरुक्षाका लागि अलिक सहज भएकाले पनि कहिले चौरजहारी र कहिले सदरमुकाम मुसीकोट बसेर उनले पत्रकारिताका अभ्यासहरु गरेका हुन् सुरुवाती दिनमा । यसैक्रममा एकदिन सिभिलमा रहेका सुरक्षाकर्मीहरुको अपमानजनक भाषा वेहोर्न नसकेर डेढ घण्टासम्म जिल्ला प्रहरी कार्यालयमा थुनेको उनले सुनाए, “वेलुकीको समय थियो ।दुईजनासाथीहरुसँग जिल्ला प्रहरी कार्यालयबाटो गरेर इभिनिड वाक गर्ने क्रममा सिभिल पोशाकमा आएको असईसहितको एक टोलीले वाटोमा रोक्यो । तेरो नाम केहो भन्दै अपमानजनक शैलीमा एकपछि अर्को जनालाई रोध्ने क्रममा उनले प्रतिक्रिया जनाए । यसैक्रममा मलाई उनीहरुले जिल्लाप्रहरी कार्यालयतिर लिएर गए । तत्कालिन डिएसपीसँग समाचार संकलनको क्रममा थियो । प्रहरीको व्यवहार सुधार्नुपर्ने उनीसँग माग गर्दै म त्यहाँबाट वाहिरिए ।  भोलीपल्ट सवैतिर प्रहरीले उनलाई दुव्र्यावहार गरेको समाचार छापियो ।” केहि सुरक्षाकर्मीहरुको वोल्ने शैलीले पनि जनमानसमा नराम्रो छाप परेको थियो । सुरक्षाकर्मीका यसप्रकारका वोल्नेशैली कमजोरी थाहा पाएका  मावोवादीले भने सवैसँग कम्तिमा तपाई भनेर सम्वाद गर्दर्थे तर भेटाएसम्म कसैलाई छोड्दैनथे ।
समयले मानिसलाई जहाँ बाट जहाँ पुर्याएपनि सम्झनाको दपर्णमा झुक्कीरहन्छ जीन्दगीको खाष समय बेला बखत सायद त्यसैले होला पत्रकार आचार्य ती दिनहरुलाई सम्झँदा एक किसिमको खुसी ब्यक्त गर्दछन् । त्यो समय जिल्लामा बसेर उनिसंगै अप्ठेरोमा बिचबाटै समाचार तयार पार्ने साथीहरुमा कान्तिपुरका लागि रुद्र खड्का, समाचारपत्रका लागि नरेन्द्र केसी, रेडियो नेपालका लागि लक्ष्मण केसी थिए । अरु साथीसंग उति अपडेट हुन नसकेपनि रुद्र खड्कासंग फेसबुकमै भएपनि हाईहेल्लो हुन्छ उनको ।  पत्रकार द्धय नरेन्द्र र लक्ष्मणका बारेमा उनि जानकारी राख्न सकेका छैनन् ।

जतिबेला उनिहरुले पत्रकारिता गरे त्यो समय फेसबुक त परको कुरा ईमेल सम्म थिएन । पिसियोमा पुगेर फोनबाट काठमाडौंम समाचार टिपाउने गर्थे उनिहरु । कहिले काहिँ फ्याक्स सुविधा भने थियो । रमाईलो त के हुन्थ्यो भने जिल्लाका पत्रकारले पिसियोबाट फोन गरेर समाचार टिपाउँदा समाचार छापिनु पहिले नै पिसियोवालाई के समाचार आउँदैछ थाहा भै सक्थ्यो । पत्रकारको खडेरीको समयमा द्वन्दकालिन अवस्थाले समाचार संकलन र प्रकाशन दुवै सजिलो थिएन ।

भोला आचार्य जिल्ला जाँदा हिमालय टाईम्स संगै गोरखापत्र दैनिकको पनि नियुक्तीपत्र बोकेर गएकाले दुवै समाचार गृहका लागि समाचार संकलन गर्नुपथ्यो । समाचारको हेडलाईन परिवर्तन गरेर लगभग एउटै समाचार दुवै मिडियालाई पठाउनु पर्ने बाध्यता थियो । पत्रकारिता नै पढेर काम गरेकाले समकक्षी साथीहरु उनीप्रति भरोसा गर्दथे ।

हिमालय टाईम्स र गोरखापत्रको संवादताका रुपमा करिव २ बर्ष जिल्लामा बिताएपछि उनि फेरी संधैका लागि काठमाडौं फर्किए । स्नातकको पढाई बाँकी नै थियो । संयोग जस्तै भयो छिमेकी जिल्ला रोल्पाको रातामाटा टावरमा माओवादीले क्षती पुर्याएपछि पत्रकार आचार्य लगायतका अन्य मिडियामा साथीहरु पनि अलि सुगम जिल्ला या राजधानी काठमाडौं फर्कर्नु पर्ने भयो । टावरमा क्षती पुगेपछि समाचार पठाउने टेलिफोन र फ्याक्स सुविधा अवरुद्ध भयो । उनि लगायत साथीहरुको जिल्लामा बसेर गर्दै आएको पत्रकारिता केही समयलाई पूर्णविराम नै लाग्यो । अरुका लागि के कस्तो असुविधा भयो तर उनका लागि भने बिचमै छोडेर गएको स्नातकको अध्ययनका लागि बाटो खुलेको जस्तो पनि भयो उनि काठमाडौं फर्किएर पुन रत्न राज्य लक्ष्मीमा स्नातकमा भर्ना भएर मेजर पत्रकारिता र अंग्रेजी बिषय लिएर पढ्न थाले ।

पत्रकार आचार्यले पत्रकारिता सुरु गर्दाको समय समाचारलाई लम्बाई चौडाई नापेर पारिश्रमिक दिईन्थ्यो । जिल्लालाई क ख ग घ बर्ग छुट्याएर न्युनतम तलव तोकिएको हुन्थ्यो । त्यो बेलाको तलव एक हजार देखी ३ हजार सम्म बुझेको याद छ उनलाई ।

उनि आफ्नै रुचिका कारण पत्रकारिता पेसासंग जोडिएका थिए अल्लारे उमेरमा । उनको परिवारले समेत पत्रकारिता पेसालाई प्रतिष्ठाको रुपमा लिएकाले उनलाई पत्रकारिता पेसा पारिवारिक सहयोगका दृष्टीले सहज बन्यो । सबैले चिन्थे, उच्च अधिकारीहरुसंग पनि समाचारको शिलशिलामा चिनजान हुन्थ्यो । आत्म सन्तुष्टीको बिषय पनि भएकाले निकै रमाएका थिए उनि आफ्नो पेसाप्रति ।

मुसीकोटबाट फर्केपछि पढाईसंगै केही मिडियामा काम गरेका भोला आचार्यले ग्लोवल मिडिया नेटवर्क नामक मिडिया हाउस खोलेर टेलिभिजन कार्यक्रमहरु बनाउन थाले । त्यो समय उनि नेपाल टेलिभिजन संवद्ध भएर काम गरे । नेपाल टेलिभिजनका लागि उनले खोज, परामर्ष र अन्वेषण नामक कार्यक्रमहरु निर्माण गरेका थिए । दुई तिन बर्ष यो काम गरेपछि उनको मनले बृत्तचित्र निर्माणको योजना बनायो ।

पत्रकारिताको नशा बोकेर राजधानि छोडेर जिल्लामा बिताएका बर्षहरुका अनुभव र  फर्किएपछि नेपाल टेलिभिजनका लागि उत्पादित कार्यक्रमहरुका शिलशिलामा देखेका र भोगेका समस्या र यथार्थ जीवनका दृश्यहरुले उनलाई बृत्तचित्र बनाउने रहर जाग्यो । उनले भोगेको जीवन भन्दा फरक थिए मान्छेका बास्तविकता ।  जसका कथाले संवेदनाका गहिरा घाउहरु बोकेका हुन्थें । उनलाई यिनै कथाहरुले भावुक बनाएर बृत्तचित्र निर्माणको रहर जागेको थियो र उनको पत्रकारिता सिकाईले उनलाई यो कथा बाहिर ल्याउनु आफ्नो कर्तब्य पनि हो भन्ने बोध गराएको थियो  । त्यसैले उनले डान्सबार मसाज सेन्टर, क्याविनमा काम गर्नेहरुका कथा देखी कर्णाली राजमार्ग, कर्णाली उज्यालो लगायतका दर्जनौं बृत्तचित्र बनाए ।

आफुले पत्रकारिता सुरु गर्दा मनमा छोएको बिषय माओवादी बिद्रोह सम्बन्धी पछिल्लो पटक उनले बनाएको टियर्स अफ वार अर्थात नओभाएका आँखा नामक बृत्तचित्रले चर्चा पायो । यसै बृत्तचित्रले उनलाई अमेरिका भित्राएको हो । न्युयोर्कको अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा छानिएर अवार्ड हात पार्न सफल उक्त डकुमेण्ट्रीले उनलाई अन्तराष्ट्रिय स्तरमा चिनिन मौका प्रदान गर्यो । मायोवादी युद्धमा सरकार र बिद्रोही पक्षबाट घटित केही मुख्य घटनाहरुलाई समेटेर तयार पारिएको डकुमेण्ट्री टियर्स अफ वार अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएपछि उनि यसकै शिलशिलामा न्युयोर्क आएका थिए । यो बृत्तचित्रले अवार्ड मात्र हात पारेन फ्रान्सको प्रतिष्ठीत केनन फेष्टिवलमा समेत प्रदर्शनका लागि छनौट भयो । अमेरिकाका बिभिन्न राज्यहरुमा समेत प्रदर्शनको माग भएपछि फ्रान्सबाट अमेरिका फर्केर उनलाई बृत्तचित्र प्रदर्शनीका क्रममा बिभिन्न राज्यहरु भ्रमण गर्ने मौका पनि जुर्यो ।
क्यालिफोर्नियाका लस एन्जलस, सानफ्रान्सिस्को हुँदै टेक्सास, कोलोराडो, न्युयोर्क, डिसीमा यो बृत्तचित्र प्रदर्शन भयो । अन्तराष्ट्रिय समुदायसंगै युद्धको बेला नेपाल बाहिर रहेका नेपालीहरुलाई यो बिषयमा जानकारी दिनु प्रदर्शनीको मुख्य उदेश्य थियो ।

यसरी देशको अवस्था देखाउन अमेरिका आएका पत्रकार आचार्यका   अमेरिका प्रवेशका सुरुवाती समयमा अन्य नेपालीलाई जस्तै यो देश नौलो थियो । अमेरिका बस्न थालेपछि उनि संग पनि अन्य नेपाली पत्रकारलाई जस्तै जीवन धान्नका लागि अरु नै काममा लाग्नु पर्ने बाध्यता थियो ।  कक्षा ४ बाट मात्र एविसिडी पढेका उनि क्याम्पस तहको पढाई सक्दा र काम समेत गरिसक्दा सम्म अंग्रेजीमा राम्रै भएपनि यताका अमेरिकीहरु संग बोल्न उति सजिलो लागेन उनलाई सुरु सुरुमा  । काम खोज्नु थियो, यहि क्रममा उनले  ग्याँस स्टेसनमा काम पाए । ग्याँस स्टेसनमा आउने बिदेशी ग्राहकले बोकेको समेत बुझ्न कठिन पर्यो सुरुमा उनलाई । बोली नै नबुझेपछि कसरी काम गर्ने होला भन्ने नि लाग्थ्यो । हाउभाउले काम चलाउँदै बिस्तारै बुझ्दै गएको अंग्रेजी सुधार्नै पर्ने लागेपछि उनले पढेर पो बुझीने हो की भनेर केही समय कलेज र भाषा तालिम समेत लिएका थिए ।

न्युयोर्कको वेष्टचेष्टरमा बस्दाको रमाईलो प्रशंग पनि छ । उनि बसेको वेष्टचेष्टर पुग्न न्युयोर्क सिटीबाट ट्रेनमा एक घण्टा जति लाग्थ्यो । नयाँ नयाँ अमेरिका बसाई । छुट्टी भएपछि नेपालीहरु भेट्न मन लाग्ने । उनी अमेरिका आउँदा संगै आएका एक जना साथी जनक भण्डारी पनि हुन् । जनक भण्डारी न्यूयोर्क सिटी बस्थे । छुट्टीको बेला उनलाई भेट्न वेष्टचेष्टरबाट ट्रेन चढेर आउनु पर्थे । उनलाई पनि ट्रेन चढ्न एकदमै असजिलो लाग्ने । त्यो हुँदा उनि पहिले नै जनकलाई स्टेसनमा लिन आउने र फर्कदा स्टेसनमै पुर्याउन जानुपर्ने सर्त राखेर भेट्न आउँथे । जनक उनलाई लिन पुर्याउन नै स्टेसन जानुपथ्र्यो ।

यो प्रसंगमा उनि अहिले पनि हाँस्दै भन्छन् खाषमा मलाई ट्रेन चढ्न आउँदैनथ्यो । म अमेरिका आउँदाताका गाडी पनि थिएन । पछि म २ बर्ष न्युयोर्क सिटी बसें । त्यो बेला गाडी चल्न थालिसकेको थियो र मलाई सजिलो भयो । कहिले काहिँ त स्थायी नियोग र महा वाणिज्य दुतावासको मेनहाटनमा आयोजना हुने कार्यक्रममा पुग्दा पनि गाडी पार्किङ पाईएन भने कार्यक्रम नै छोडेर फकिन्थें । यति हुँदा पनि ट्रेन चढ्न नसिक्नु मेरो कमजोरी नै रर्यो ।

दिन बित्दै थियो, न्युयोर्कको वेष्टचेष्टरमा ६ महिना बिताएपछि भोला आचार्य भर्जिनिया पुगे । भर्जिनियामा उनका एकजना साथी थिए बसन्त लम्साल । लम्साल त्यो समय ईण्डियन रेष्टुरेन्टमा म्यानेजरका रुपमा कार्यरत थिए । उनैले आचार्यलाई भर्जिनिया बोलाएका थिए । भर्जिनिया गएपछि उनले साथी बसन्तले काम गर्ने रेष्टुरेण्टमा नै काम गर्न थाले । पहिले नै कामको छिनोफानो गरेर गएकाले भर्जिनिया पुगेको भोलीपल्टै उनी काममा लागे । उनि बसन्त लम्सालकै घरमा बसेर काममा जाने आउने गर्थे । पछि बसन्तकै अनुरोधमा उनि नर्थ क्यारोलिना पुगे र नर्थ क्यारोलिनाको बसाईको केही समय पछि कोलोराडो पनि पुगे ।

चौरजहारीको लामिछाने गाउँबाट राजधानि, फेरी मुसीकोट र ति ठाउँ भन्दा कोशौं परको देश अमेरिकाबसाईले धेरै कुरा सिकायो उनलाई तर पत्रकारिता पेसा भुल्न सिकाएन । पत्रकारिता उनको नशा र आदत थियो ।
जीवन एक नदि हो, बग्दै जाँदा उठ्ने ज्वारभाटहरु, चट्टान र भंगलाहरुले उसको यात्रा रोक्न सक्दैन । सायद त्यसैले होला पत्रकार भोला आचार्य फेरी जोडिए नेपाली पत्रकारितासंग । रियल खबर डटकममार्फत उनका समाचार र बिचारहरु छापिन थाले । उनि भन्छन् केही समय अमेरिकाको नौलो परिवेषले मेरो कलममा बिश्राम लागेको हो नत्र त कहिले अलग भयो र पत्रकारिता म संग । यो मेरो किशोर मनले रोजेको नशा थियो, जसको आदत मबाट कहिल्यै हट्न सक्दैन । यति हो चर्चामा आउने काम धेरै गरिएन परिस्थीती आजको जस्तो पनि थिएन त्यो बेला ।

अमेरिका बसाईका क्रममा बिस्तारै उनले यहाँ रहेका धेरै नेपाली पत्रकारको बारेमा थाहा पाए । केही सहकर्मी साथीहरु भेटिन थाले । यसै क्रममा उनका नेपाल छँदा ताकाका पत्रकार ज्योती देवकोटासंग पनि उनको भेट भयो । पत्रकार देवकोटासंगको भेटले उनमा फेरी उहि उत्साहका साथ काम गर्ने जाँगर जन्मायो । त्यो समय पत्रकार देवकोटा सेतोपाटी ग्लोवल संस्करण सञ्चालनको तयारीमा थिए । जसमा पत्रकार आचार्य पनि जोडिए ।
त्यहि सहकार्यले आज पनि पत्रकार ज्योती र उनी संगै छन् । न्युयोर्क बसाईका क्रममा केही समाचार र फिचर स्टोरीहरु तयार गर्न भ्याएका उनले पछिल्लो समय सेतोपाटीबाट बिश्राम लिए । यतिबेला ज्योती देवकोटा र उनी बे्रकएण्डलिंक्स अनलाईन पत्रिकामासंगै छन् । यस अर्थमा  उनि न हिजो पत्रकारिताबाट अलग थिए न आज नै ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को निवर्तमान सभापति समेत रहेका भोला आचार्यका नजरमा अमेरिकामा रहेका नेपाली मिडियाको अवस्था र उनले भोगेका अनुभवमा उनि भन्छन्  अमेरिकामा रहेका प्राय सबै नै मिडिया नेपाली समुदायमा मात्र सिमित भएकाले यसका पाठक, स्रोता, दर्शकपनि यहाँ रहेका नेपाली समुदाय नै हुन् । यसो हुँदा यसको ब्यवसायिक पक्ष कमजोर छ । पत्रकारिताबाट नै आत्मनिर्भर हुने अवस्था यहाँ रहेका हामीहरुमा नभएकाले धेरै मिडिया सोखका रुपमा चलेका छन् । जसमध्ये एकाध मिडिया नेपालमा पत्रकारिता गरेका अनुभवी पत्रकारहरुले सञ्चालनमा ल्याएका छन् । तिनले पनि व्यवसायिक रुपमा खासै गती दिन सकेका छैनन् । कति पत्रकारिताको नशा र कति पत्रकारीताको सोखले चलेका यहाँका मिडियाको प्रभाव पनि चित्त बुझ्दो देखिंदैन । यति चाहिँ हो यहाँका नेपाली समुदायका खबर नेपाल सम्म पुर्याउने सेतुका रुपमा यिनै मिडिया रहेका छन् । अझ मुख्यकुरो नेपाली भाषा कला संस्कृतिमा मिडियाको उल्लेखनिय भूमिका छ । अमेरिकाबाट सञ्चालित नेपाली मिडिया नेपाल र अमेरिकी मुलधारको पत्रकारिता जस्तो ब्यवसायिक र प्रभावकारी नभएतापनि आफ्नै समाजभित्रका खबर र बिचारहरु संप्रेषण गरेर समुदायलाई आफ्नोपनको आभाष दिलाउने र नेपाली समुदायलाई जोड्ने काम सम्म गरिरहेका छन् । समुदाय भित्रकै सानो घेरामा पनि निष्पक्ष र विश्वसनियतामा समस्या मात्र होईन । सस्तो प्रचार प्रसारमा अभ्यास भै रहेका गुनासाहरु पनि बेला बेलामा सुन्नमा आउँछन् ।

धेरैजसो मिडियामा पत्रकारहरुको अभावले पनि यो बिषयमा सामान्य रुचि भएको र समाजमा आफ्नो परिचय स्थापित गर्न मिडियालाई माध्यम बनाइएको पाईन्छ । जसले पत्रकारिताको खाष अभ्यास भन्दा पनि मिसरेप्रिजेन्टेसनको काम भैरहेको छ ।  पत्रिका संचालक देखी हकरसम्मको काम एकै जनाले गर्ने यताको अभ्यासलाई पत्रकारिताको अभ्यास त्यति न्यायोचित छैन ।

नेजामा गैर पत्रकारहरु धेरै छन् भन्ने सुनिन्छ हो यसका बारेमा तपाँईको धारणा के छ र नेजा प्रवेशको मापदण्ड के भन्ने हाम्रो पश्नमा पत्रकार आचार्य भन्छन् —अमेरिकामा आइपुगेपछि पत्रकारितामा आफुलाई अपडेट गर्ने अनलाईन पत्रिकामा संलग्न भैरहँदा  थाहा भयो कि यहाँ पत्रकारहरुको ठुलै जमात रहेछ । नेपालमा पत्रकारिता पढेका विद्यार्थीदेखी लामो समय काम गरेकाहरु पनि रहेछन् र उनिहरुलाई उनिहरुलाई प्रतिनिधित्व गर्ने नेपाल अमेरिका पत्रकार संघ (नेजा) नामक संस्था रहेछ । म कोलोराडोबाट न्युर्योक पुगेपछि केहि पत्रकार साथीहरु र संस्थाका पदाधिकारी साथिहरुसंग पनि परिचय भयो ।

नेजा मार्फत सन् २००७ देखी नेपाली मूलका पत्रकारहरु संगठित भएका रहेछन् । म पनि २०१४ वाट जोडिएँ  । जोडिए लगत्तै संस्थाको महासचिवको जिम्मेवारी सम्हाल्ने मौका साथीहरुले दिनुभयो । दुईबर्षे कार्यकालमा मैले संस्थामा दिएको योगदानका कारणले  नेजाको नेतृत्वको जिम्मेवारीको अवसर उहाँहरुले मलाई दिनुभयो । संस्था मार्फत मैले यहाँ रहेका पत्रकारहरुलाई नेपालसम्म अपडेट गर्ने भरपुर प्रयास गरें । नयाँ पुराना साथीहलाई संस्थामा जोड्दै पत्रकारिता पेसालाई अमेरिकी नेपाली समुदाय माझ स्थापित गर्ने काममा मेरो पहल संधै रहयो ।

यहाँ यो पेसाबाट नै जिविकोपार्जन नभएपनि पेसाकर्मीहरुको पेसाप्रतिको भावनालाई आदान प्रदान गर्ने कार्यक्रमहरु गरियो । नेपालबाट आएका पेसाकर्मी र यहाँ रहेका पेसाकर्मीबीच भेटघाट र संवाद संचालन गरि यहाँको समाजलाई नेपालसंग जोड्ने काममा कार्यक्रमहरु पनि प्रस्तुत गरियो । सबै भन्दा बढि नेपाली पत्रकारहरुको सम्मान र पत्रकारिताको योगदानको लागि संस्थामार्फत पुरस्कार र सहयोगलाई प्रभावकारी बनाउने काममा संस्थाभित्रै बसेर काम गर्दा आत्मसन्तुष्टि भयो ।

पत्रकारिता पेसालाई निरन्तरता दिन नसकेपनि पेसाकर्मीहरु बिचको भाईचारा र मेलमिलापमा संस्थाले महत्वपूर्ण भुमिक खेल्न सक्छ । पत्रकारितामा लागेका केही साथीहरुको पत्रकारिता अनुभवको अभाव र व्यवसायिकताको जग नबसेकाले यसको असर संस्था सम्म पुग्न सक्छ । संस्थाले पेसालाई नियन्त्रण गर्ने भन्दा पनि आचारसंहिताको भूमिका खेल्न सक्ने सम्भावना रहन्छ । तर स्वयं पेसाकर्मीहको स्वविवेकमा भर पर्दछ कि पेसा र संगठनहरुलाई कसरी बुझ्ने भनेर ।

पत्रकार भोला आचार्यका अनुभवमा नेजा नेपाली मूलका पत्रकारहरुको साझा संस्था हो । क्यानडा लगायत उत्तर अमेरिकामा बस्ने नेपाली पत्रकारहरु यसमा आवद्ध छन् । यसमा सदस्यहुनेहरु नेपाल या अमेरिकामा बसेर पत्रकारिता गरेका पत्रकारहरु हुन् तर अधिकांस निष्कृय छन् र उनिहरुको हिजोको योगदानको कदर गरेर संगठित गर्न खोजिएको मात्र हो । पेसा आफैं सर्भाईभ पोजिसनमा नभएकाले संगठनमा आवद्ध सबैजना सक्रिय हुने अवस्था अहिले छैन । तर पेसागत प्रतिष्ठालाई सम्मान गर्दै संगठनले काम गर्नुपर्दछ ।

यसको संचालनको प्रकृयामा साथीहरुमाझ कहिले काहिँ मन मुटाव बढेर समाजमा समुदायमा संगठनप्रतिको नकारात्मक सन्देस गएको पाईन्छ । तर संगठनलाई पेसाकर्मीहरुबाट टाढा बनाएर राख्नु भने हुँदैन । मेरो बिचारमा असल पत्रकारले मात्र पत्रकारहरुको संगठनको बिषयमा काम गर्न सक्छ भन्ने लाग्छ तर थोरै उदाहरणहरुले कहिलेकाहिँ पेसामा राम्रो परिचय बनाएकाहरुबाट पनि संगठनप्रति दुराग्रह राखेको पाईन्छ । नेजामा आवद्ध हुनको लागि स्वयं ब्यक्ती आफु पत्रकारको नाताले आउनु पर्दछ भन्ने लाग्छ । रुचि हुँदैमा पेसालाई न्याय दिन र पत्रकार बन्न सकिंदैन भन्ने मेरो धारणा हो ।

त्यसैले संस्थामा भित्रदैंमा न्यायसंगत भित्रनु पर्यो । सम्बन्धित पेसामा आफ्नो अनुभव र कर्म नगरेको ब्यक्ती यसमा आउनु भएन ।

पत्रकारिता समाजको दपर्ण हो । यसले समाजलाई कस्तो आकार दिने भन्ने महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर यसको उपयोग हामीले जसरी गरेका हुन्छौं पत्रकारिताको प्रभाव पनि सोहि अनुरुप पर्दछ ।  पत्रकारिताले बाटो देखाईदिने हो । समाजले त्यसको अनुसरण गर्नुपर्दछ । यसले ठुलो परिवर्तनमा सहयोग गर्न सक्दछ । यसको महत्व समाज र स्वयं पेसाकर्मीले निर्माण गर्नुपर्दछ । यि सबै कुराको निक्र्यौल, निष्पक्ष, स्वतन्त्र र जवाफदेहि पत्रकारिताले गर्न सक्दछ ।
बर्तमान पत्रकारिता नियन्त्रणमा गै सकेको छ । यो शक्ती केन्द्रको नियन्त्रणमा छ । ब्यापारी, राजनितिकर्मी लगायत शक्तीकेन्द्रहरुले यसलाई दुरुपयोग गरिरहेका छन् । मिडियाको बिकास र यसको प्रभाव थाहा भै सकेपछि हरेक ब्यक्तीले यसलाई आफ्नो बसमा राख्न खोजिहरेको हुन्छ । पेसामा अनुभव नभएको ब्यक्तीको भूमिका मिडियामा छ, जसले यसको सदुपयोग भन्दा दुरुपयोग बढि देखिन्छ ।

अमेरिकामा नेपाली मिडियाको अभ्यास हेर्दा स्तुति गानको काम मिडियाले गरिरहेको पाईन्छ । सम्बन्ध र संरक्षणको लागि पेसागत मर्यादा भूलेर काम गरिरहेका यस्तै मिडिया र पत्रकारका कारण पत्रकारिता पेसा मर्यादित हुन सकिरहेको छैन । यसमा पत्रकार स्वयंको दोष छ । सहि सुचना जानकारी संप्रेषण गर्न सके पत्रकारिताले समाजको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ भन्ने मलाई लाग्छ । कम्तिमा पत्रकारिता पेसामा मिसरेप्रिजेन्टेसन हुनुहुँदैन ।

तपाईको प्रतिक्रिया

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज.. ...

अमेरिका -  ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी.. ...

काठमान्डौं - एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...