२०८१ वैशाख १४ गते | 26th of April 2024

प्रा. घनश्याम कँडेल र महेश पौड्याल सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज ११ गते १८:५६

 

असोज ११, काठमाडाँै ।
प्रा. घनश्याम कँडेल र महेश पौड्याल काठमाडाँैमा सम्मानित भएका छन् । नेपाल स्रष्टा समाजले आफ्नो बाह्रौँ साधारण सभाको अवसर पारेर उहाँहरुलाई सम्मान गरेको हो । यस वर्षको सुभद्राविश्वराज स्रष्टासम्मानबाट घनश्याम कँडेल सम्मानित भए भने प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टा सम्मान महेश पौडेललाई दिइयो । यी दुई पुरस्कारको राशी क्रमशः पन्ध्र हजार एक सय एघार र एघार हजार एक सय एघार रहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले घनश्यामका रचनाले समाजमा चेतना छर्न सहयोग गरेको बताए । उनले संस्थाले पुरस्कारका लागि उपयुक्त पात्र छनोट गरेका कारण संस्था नै सम्मानित भएको बताए । उनले नेपाल स्रष्टा समाजबाट प्रकाशन भएको स्रष्टा दर्पणको पच्चीसौँ अङ्कको विमोचन समेत गरेका थिए । समाजले नेपाली मौलिक रचनालाई विश्वबजारमा लैजाने विशिष्ट कार्य गरेको भन्दै संस्थाको प्रशंसा पनि गरे ।
संस्थाका संरक्षक पवन आलोकले भने, नेपाल स्रष्टा समाजले निरन्तर साहित्यिक गतिविधिमा संलग्न हुँदै देश भित्र र देश बाहिरका रहेका स्रष्टालाई जोड्ने पुलको काम गरेको छ । सम्मानित स्रष्टाको परिचय दिँदै गोविन्दमानसिँह कार्कीले उपयुक्त पात्र चयन भएकोमा सन्तुष्टि व्यक्त गरे ।
सम्मानित स्रष्टा महेश पौड्यालले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताए । मानिसले आफ्ना हरेक क्षणलाई कला, चिन्तन र साहित्यसँग जोड्नु पर्ने उनको भनाइ थियो । हाल नेपाली साहित्य भीडभाड, असन्तुष्टि, अस्तव्यस्तबाट शब्द टिपेर कलाको लेपन लगाउनु पर्ने अवस्थामा रहेको भन्दै दुःख व्यक्त गरे । उनले राजनीतिलाई समातेर राष्ट्रको भावना निर्माण हुन नसक्ने बरु त्यस्तो भावना कला, साहित्यले निर्माण गर्ने बताए । कार्यक्रममा बोल्दै कथाकार माया ठकुरीले युवाबाटै धेरै कुरा सिक्न सकिने बताइन् ।


उक्त कार्यक्रममा संस्थाका महासचिव पुष्पा खनालले वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् भने नबराज अवदोषीले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । सभाध्यक्षको आसनबाट बोल्दै कवि विधान आचार्यले नेपाल स्रष्टा समाजले नेपाली साहित्यलाई विश्वबजारमा लैजान बङ्गलादेश, स्वीडेन, डेनमार्क, भारत, चीन लगायतका राष्ट्रसँग सहकार्य भइरहेको बताए । उनले मातृभाषा र नेपाली भाषाका साहित्यिक रचनालाई अङ्ग्रेजी भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्ने तर्फ संस्था क्रियाशील रहेको उल्लेख गरे । उनले नेपाली सांस्कृतिक सम्पदामाथि साहित्यिक सिर्जना गरिनुपर्ने महत्वपूर्ण प्रस्ताव समेत पेश गरेका थिए ।

कार्यक्रममा श्रीओम रोदन, नरेन्द्र बहादुर श्रेष्ठ, घनश्याम राजकर्णिकार, किशोर पहाडी, रमेश शुभेच्छु, बिन्दु शर्मा, नेत्र एटम, चेतनाथ कणेल, जानु धिताल, पुष्करराज भट्ट, रश्मि रिमाल, तर्कना शर्मा, रञ्जना निरौला लगायतका कवि, लेखकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका सदस्य लेखजङ्ग खत्रीले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *