२०८१ वैशाख ११ गते | 23rd of April 2024

छोराहरु प्रतिनिधी बनाएको एनआरएनए अमेरिका

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज २० गते १:२४

गोकुल ढकाल

केही हरफहरु लेखिरहंदा आफु एनआरएनए अमेरिकाको प्रतिनिधी नबनेको झोंक फेरेको आरोप लाग्नेछ । कुरा सत्य हो । एनआरएनए अमेरिकाको गतिबिधीमा नजिक रहेदेखी बहुतै नजिक रहेका मेरा सुनील साहले मलाई लात हाने : भाई-भतिजाहरुलाई प्रतिनिधी बनाए । सुनील साह एनआरएनए अमेरिकामा सकृय रहेदेखी सहयोग गरेको मलाई प्रतिनिधी बनाएनन । उनको स्वार्थ जे होला, म पारीईन वा परिन ।

तर म खुशी छु । सुनील साहको सुचीमा एउटा धुरन्धर सहयोगी परेन त के भयो ? साहले चुनाव जितिहाले, दुई बर्षको लागि । उनको कार्यकाल सकुन्जेलसम्मा बजारमा धेरै बेलहरु बिकिसकेका हुन्छन । त्यसैले साहले सोचे, ‘दुई बर्षलाई बालै मतलब ! जो होगा, देखाजायगा !’

आधुनिक एनआरएनए अमेरिका बनाउने प्रण गरेर ‘चुनाव जितेका’ साहलाई सबैभन्दा ठुलो समस्या नै ग्लोबल सम्मेलनको लागि प्रतिनिधी छान्नु थियो । आफ्नो हातमा पावर हुंदा पनि साहले प्रतिनिधी छनौट समितिका संयोजक डा. अर्जुन बन्जाडे र एनआरएनएका महासचिव पशुपती पाण्डेलाई मात्र प्रतिनिधी छान्ने अधिकार भएको हौवा फिंजाए । साहको पारिवारिक सदस्य जस्तो रहेको मैले ‘दाजु नेपाल जाने रहर छ’ भन्दा आफुसंग अधिकार नरहेकोले बन्जाडे र पाण्डेलाई फोन गर्ने जवाफ दिन्थे ।

परिबन्दले वरिष्ठ बनेका डा. बन्जाडेले हाम्रा कुरा सुन्ने नै भएनन । एनआरएनए चुनावमा सानो पदमा होईन महासचिवमा उठ्ने भनेका र केही कारणहरुले जितेका पाण्डेले हाम्रा कुरा सुन्ने त भएनन नै । न नेपाल जान बन्जाडेलाई भनियो न त पाण्डेको प्रवक्ता बनियो । आफुलाई सुनिल साहको किचेन क्याबिनेट सम्झीईयो र चुप लागियो ।

समय ढल्कीईसक्दा पनि एनआरएनए अमेरिका प्रतिनिधी छान्न ढिला गर्दै थियो । फरक धारमा रहेर एनआरएनए अमेरिकाको चुनावमा पनि सम्झौताको चाबी बोकेका अमेरिकाज क्षेत्रका आरसी गौरीराज जोशीलाई खुशी पार्नुपर्ने बाध्यता साहलाई छदैंथियो नै । तर चुनावमा सहयोग गरेका ‘पारिवारीक भित्रीया’हरुलाई खुशी पार्नुपर्ने कसम पनि तोड्न भएन, साहले ।

फलस्वरुप ‘कोठामा बसेर निर्णय गर्ने एउटा जमात’ लाई साहले प्रतिनिधीको छनौटका लागि नामका नाममा घांटी काट्ने र जोड्ने गर्ने ठेक्का दिए । म (सुनिल साहलाई सहयोग गर्ने केही) बाहेक साहले चुनावताका फेसबुकका ग्रुप बनाएर प्रचार गराउने, ब्यानर बनाउने र राज्य-राज्यमा जांदा गाडीमा घुमाउनेहरुलाई आफ्ना सुचीमा राखे । एनआरएनएमा काम गरेका आफ्न विश्वाशपात्र र सिफारिशवालाहरुलाई सुचीमा सहभागी गराए । ४०० जनाको आवेदनमा १६८ जना छान्नुपर्ने बाध्यतामा कुन कुन राज्यमा भोली आफु जांदा कालोमोसो दलिनबाट बचिन्छ भन्ने पात्रहरुलाई धमाधम सुची भर्ती गराए ।

बिगतका भन्दा बढी सकृय र एनआरएनए अमेरिकामा चलायमान बनेका आरसी जोशीले आफ्नो शक्ती बिस्तार गरेका छन । आईसीसीमा दरिलो सदस्यको ओज राखेका छन, जोशीले । मेहनत, ब्यापार र भाग्यले साथ पाएका आरसी जोशी दिनानुदिन चम्कदैंछन । एनआरएनएका सल्लाहकार तथा अमेरिकी नेपाली समुदायका परिचित नाम हरिबोल भन्डारीको साथले पनि जोशीलाई शक्तिशाली बनाउंदै लगेको छ । कम बोल्ने तर चतुर जोशीले अड्को हाल्देको भए, एनआरएनए अमेरिकाको गत चुनाव पनि खै के पो हो हुन्थ्यो । एनआरएनए अमेरिकामा सभापतीका सम्भावित उम्मेद्वार कृष्णजिवी पन्थहरुको हातले पनि गौरीका जोशिला लौरीहरु थपिंदैछन ।

हरिबोलहरुको सल्लाह, आईसिसिका वर्तमान कार्यसमितिका पदाधिकारीहरुसंगको दर्हो सम्बन्ध र शक्तिशाली अमेरिकाज क्षेत्रीय संयोजक पदको शक्ती सन्तुलन गरेका जोशीसंग सुनील साहले नेपालमा भाग लिने प्रतिनिधी छनौटमा कती सल्लाह गरे त्य्प पनि भगवान जानुन । तर जोशीसंग साहलाई डर नभएको भए आफु दुबई उडेको स्टाटस हालेर नेपाल जाने अवस्था हुन्थेन ।

आईसीसीको सचिव पदका सम्भावित विजेता जोशीसंग सम्भवत: सुनील साहको वर्तमान कार्यसमितीको बहुमत सदस्यहरु छन । त्यसैले त साह दुबई नपुग्दै साह कार्यसमितिको बहुमत सदस्यहरुले साहले छानेका सदस्यहरुको सुची नमान्ने निर्णय गराए ।

बिवाद मिलाउन आरसी जोशीले प्रकाश सापकोटाको संयोजकत्वमा प्रतिनिधी छानबिन समिती बनाए । चौविस घण्टामा सापकोटाले आफ्नो काम फत्ते गेरेर ६१ जनाको आवेदन परेको सुची आरसी जोशीलाई बुझाए । सुनिन आएको छ, जोशीले आईसीसीमा पठाएका ती ६१ जनाको नाम आईसिसीले ‘एप्रुभ’ गरेको छ । र, साहको कार्यसमितिले पठाएको सुची विचारमग्न छ ।

लाग्दछ, नेपालमा यसपाली पनि लफाडा पर्नेछ ।

प्रतिनिधी छनौट समितिका संयोजक नाम मात्रका अर्जुन उनै बन्जाडेले आफ्न भाई भार्दार राखे । डा. यादव पन्डितले भनेका मान्छेहरु हुले । सानो पद मन नपर्ने र ठुलो पदमा महासचिव भएका पाण्डेले उनको गाउंमा सम्पन्न भएको नेजाको अधिवेशनमा आफ्नो नाम उल्लेख नगर्नेहरु छन भन्ने आरोप लगाउनेहरुलाई समाबेश गराएर आफ्नो सुची तयार गरे । सुची लम्बिदै गयो । छनौट समितिमा रहेका क्षेत्रीय उपाध्यक्ष मध्य सर्वज्ञ वाग्लेले आफुले भर्खरै खरिद गरेको अनलाईनका सहयोगी बाबुहरुको नाम हाले । लस एन्जलस आउंदा यती भए बचिंन्छ भनेर नाम थपे । समाबेश गरिएका अन्य नामहरु कटौती गर्न रातोदिन लागिपरे ।

सबैभन्दा ठुलो कुरो त एनआरएनएमा लामो समयसम्म काम गरेका कती छन, तिनका नाम काटेर गत निर्वाचनमा ‘धेरै चुनावी खर्च लगानी गरेका क्षेत्रीय उपाध्यक्ष बुद्धी सुवेदीले आफ्न दुई छोराहरुलाई प्रतिनिधी बनाए । साह टीमको चुनावी खर्च बेहोरेर आगामी एनआरएनए अमेरिकाको अध्यक्ष लड्ने भनिएका सुवेदी आफ्ना दुई राजकुमारहरुलाई प्रतिनिधी बनाएर भोली चुनाव ताका सबैभन्दा बढी अपजस र गाली खाने पात्र बनेका छन ।

अमेरिका जाने नेपाली प्रतिनिधीहरु छान्न आरसी जोशीसंग डालसमा बिभिन्न भेटवार्ता गरेका एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले अब उनका गुरु डा. केशब पौडेललाई अबका दिनमा बिर्सनेछन । प्रतिनिधी छनौटमा निवर्तमान अध्यक्ष डा. पौडेलको कुरा कती सुने साहले भगवान जानुन तर अब डा. पौडेललाई साहले टेर्दैनन । डा. पौडेल महासचिव जिते भनेपनी साहको अबको लक्ष्य एक कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष वा आईसीसीमा रहने हो ।

रसिया पुगेर रातारात धनाढ्य बनेका उपेन्द्र महतोका अनुयायी सुनील साहको अबको लाईन उपेन्द्र महतो हो । महतो जुन पार्टीका हुन, जुन जातका होउन, साह अब महतोका सबैभन्दा ठुला अनुयायी हुनेछन । यो सम्बन्धले साहलाई आईसिसीका ठुला ठुला सपना पर्नेछ र महतोको आशिर्वादको आशा जाग्नेछ र हुनेछ पनि त्यही ।

त्यसैले उनका गुरु डा. पौडेललाई साहले अब भुल्नेछन । डा. पौडेलले उनलाई लगाएका गुन बिर्सनेछन । भेट्दा हात मिलाए पनि पछाडी धारे हात लाउनेछन । यती चलाख छन – सुनील साह, लामो संगतले मैले बुझेको-पढेको छु । उपेन्द्र महतोलाई खुशी देखाउन पनि साहले यसपाली मनपरी प्रतिनिधीहरु नेपाल लागेका छन ।

दुई दुई कार्यकाल एनआरएनए अमेरिकाको अध्यक्ष रहेका र आगामी ग्लोबल सम्मेलनमा महासचिव पदका उम्मेदवार डा. पौडेललाई पनि साहले प्रतिनिधी मार्फत त्यती खुशी परेका छैनन । छन भने राम जाने । म त साहले छानेका ६५ प्रतिशत मान्छे चिन्दिन ।

समयमा ननिस्केको प्रतिनिधी सुची कहिले बिष्णु सुवेदीको कोठामा गएर थन्कियो त, कहिले डा. यादब पन्डितको फोनको घन्टी कुरेर बस्यो । जनसंपर्क र एनआरएनएको नाममा कोठाबाट पास गरिने सुची र फोनको घन्टीले मन नपरेका पात्रहरु बढार्न प्रयोग हुने कुची प्रथा बन्द नभएसम्म न यहाँ काम बन्छ, न त संस्था बन्छ ।

फेसबुकमा ग्रुप बनाउने भाईहरु परेका छन, प्रतिनिधीमा । देवानागिरीमा एनआरएनए लेख्न नजान्ने डेढ बर्ष अमेरिका छिरेकाहरु प्रतिनिधी बनेका छन । चुनाव हारेपछी संस्थालाई सत्तो सराप गर्नेहरु नेपाल उडेका छन । कोठामा नानी बाबु खेलाएर फेसबुकमा लाइक ठोक्ने भाईहरु सुनील साहका प्रतिनिधी बनेका छन, बिचरा जसलाई नेपाल गएर भोट हाल्न आउंदैन ।

अझ रोचक त, दुई यस्ता परिचित् अनुहार छन । जो गत एनआरएनए अमेरिकाको निर्वाचनमा भोट हाल्न सदस्य पनि बनेका थिएनन । एउटा पात्र जो डेढ बर्षदेखी नेपालमा छन, जो न चुनावमा यहाँ थिए र तिनले भोली एनआरएनए अमेरिकाका उम्मेद्वारहरुलाई भोट् हाल्न भट्टीबाट बाहिर निस्कन्छन ।

प्रतिनिधी बिषयमा आईसीसीलाई प्रकाश सापकोटाले आरसी जोशीलाई बुझाएका ६१ जनाको सुची ‘वर्गिकरण र समावेशिता मिलेकाले’ पास भएको छ । मतलब, जोशीले आईसीसीमा बुझाएका ६१ जनाको सुचीमा रहेका साधारण सदस्य ? वा ईच्छुकहरुको सुचीलाई आईसीसीले बैधानिकता दिएको छ ।

त्यसो त अब, साहको सुची जोशी मार्फत आईसीसी नपुगेको खबर छ । जसले गर्दा साहले अन्धाधुन्ध पारामा बन्जाडे र पाण्डेले बनाएको र साहले लालमोहोर लगाएको सुची आईसीसीले फेरिफाई गर्नेछ । जोशीका ६१ जनाको सुची पास भएको हो भने अब साहले बुझाएका १०८ जनाको नाम मात्र पर्नेछ । यहाँ धेरै कुरा हुंदैछ । नेपालमा धेरै फोकटमा पुगेका हुनेछन ।

सुची छपाउन लगाएर मोबाईल अफ गरेर दुबई पुगेर फेसबुक खोलेका साहको निर्णय उनकै कार्यसमितिले उल्टाएको अवस्थामा अब के होला, त्यो समयले बताउला । प्रतिनिधी विवादमा यस् भन्दा अगाडी पनि काठमान्डौंमा झांको झारिएका साहको एनआरएनए अमेरिकाको बाटो त्यत्ती सहज छैन । म व हामी प्रतिनिधी नपरेर होईन ।

पशुपतिको जात्रा अर्जुनको ब्यापार प्रकृतिको प्रतिनिधी छनौट बिषयले एनआरएनएमा कित्ताकाट त गरेको छ नै । दुई धार पनि निर्माण गरेको छ । अर्को धार आईसिसी चुनावको नतिजाले बताउनेछ ।

अन्तमा, म प्रतिनिधी नपरेर होईन । त्यस्ता सयौं नाम छन जो साहको हाडीमा बन्जाडे, पाण्डे र वाग्लेले भुटेका छन, ठेट्ना सम्झेर ।

बुद्धी सुवेदीका दुई छोराहरुलाई उपाध्यक्ष बाउको हातको दसैंंको टिको नेपालमै लगाउन प्रतिनिधी चुन्ने एनआरएनए अमेरिकाका अर्जुन बन्जाडे, पशुपती पाण्डे, सर्वज्ञ वाग्ले र बुद्दी सुवेदीहरुलाई एनआरएनए अमेरिकाको कुन चाँहीं गर्विलो मन्च मिल्दोरहेछ, हामी पनि हेरुम्ला ।

अहिले मान्छेहरुलाई पछुतो होला, किन हराईएछ गांठे बाला घिमिरेलाई भनेर !

बिजया दशमीको मंगलमय शुभकामना !!!

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *