२०८१ वैशाख १२ गते | 24th of April 2024

को बन्दैछन् गृह र अर्थमन्त्री

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २० गते १०:३५

काठमाडौं, २० जेठ ।
प्रमुख विपक्षी दल नेकपा एमाले कुनै अवरोध गरेन भने भोलि आइतबार व्यवस्थापिका संसदले नयाँ प्रधानमन्त्री चुन्नेछ । तर, भरतपुरमा पुनः मतगणना सुचारु गर्ने निर्णय नआए सदन चल्न नदिने एमालेको अडान यथावत छ ।
संसद अवरुद्ध रहे पनि प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु भइसकेको छ र प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र फोरम लोकतान्त्रिकसहित केही साना दलको समर्थन पाएका देउवाको पक्षमा अहिले प्रष्ट बहुमत देखिइसकेको छ ।
कांग्रेस नेताहरुका अनुसार सुरुमा ५ देखि ७ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी छ । कांग्रेस र माओवादी नेताहरु अब मन्त्री छनोटका लागि गृहकार्यमा जुटिसकेका छन् ।
अर्थ मन्त्रालय कांग्रेस र गृह मन्त्रालय प्रमुख सत्तारुढ घटक माओवादीले लिने सहमति भइसकेको छ । यो प्रचण्ड सरकार गठनका क्रममा नै भएको सहमति हो । दुबै दल अहिले पनि यसमा प्रतिवद्ध छन् ।
यसअर्थमा देउवा सरकारमा अर्थमन्त्री कांग्रेसबाट र गृहमन्त्री माओवादी केन्द्रबाट हुनेछन् ।
अर्थमन्त्री र गृहमन्त्री को ?
कांग्रेसले अहिलेसम्म अर्थमन्त्री कसलाई बनाउने भन्ने औपचारिक निर्णय गरिसकेको छैन । तर, दुईवटा नाम छलफलमा छन् ।
अर्थमन्त्रीका प्रमुख दाबेदार हुन् महेश आचार्य । प्रधानमन्त्री बन्ने तयारीमा रहेका देउवाले पनि आचार्यलाई नै अर्थमन्त्री बनाउन चाहेका छन् । तर, देउवा समूहले आचार्यलाई स्वीकार गर्छन् कि गर्दैनन् अहिले नै भन्न सकिने अवस्था छैन ।
देउवा समूहमा सम्भावित अर्थमन्त्रीका रुपमा ज्ञानेन्द्रबहादुर कार्कीको नामसमेत चर्चामा छ । वर्तमान परराष्ट्रमन्त्री डा। प्रकाशशरण महतले पनि अर्थमन्त्री बन्ने इच्छा देखाएका छन् । तर, महत दोहोरिने सम्भावना निकै कम रहेको नेताहरुले बताएका छन् ।
गृहमन्त्रालय पाएको दल माओवादी केन्द्र पनि कुनै औपचारिक निर्णय गरिसकेको छैन । वर्तमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्ड गृहमा जनार्दन शर्मालाई पठाउन चाहेका छन् । उर्जामन्त्री शर्मा प्रचण्ड सरकारका सफल मन्त्रीमा पर्छन् र, उनले पनि देउवा सरकारमा पार्टीको नेतृत्व आफूले गर्ने दाबी पेश गरेका छन् ।
तर, प्रचण्डकै टिमका केही नेताहरुले शर्मालाई चाहेका छैनन् । यो समूहको मत वर्तमान उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई उपप्रधानमन्त्रीसहित गृहमा पठाउनुपर्छ भन्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *