२०८१ वैशाख ११ गते | 23rd of April 2024

नगरपालिकाका प्रमुख र उपप्रमुखले गरे टिकट काउन्टरमा तालाबन्दी

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २० गते १२:०३

बागलुङ, २० जेठ ।
पश्चिम नेपाल बस व्यवसायी समितिको बुर्तिबाङ टिकट काउन्टरका कर्मचारीलाई पुनर्वहालीको माग गर्दै ढोरपाटन नगरपालिकाका प्रमुख र उपप्रमुखले टिकट काउन्टरमा तालाबन्दी गरेका छन्। तालाबन्दीमा सहभागी भएका देवकुमार नेपाली ढोरपाटन नगरका प्रमुख हुन् भने करमती घर्ती यस नगरकी उपप्रमुख हुन्।
उनीहरुसहित वडा नम्बर–९ का अध्यक्ष हरिबहादुर घर्ती तथा एमालेका नेताहरु मोहनलाल शर्मा, टंकप्रसाद पौडेले लगायतको टोलीले शुक्रबार साँझ टिकट काउन्टरमा तालाबन्दी गरेको हो।
एमालेको भातृसंगठन युवा संघ नेपाल ढोरपाटन नगर संयोजक वीरबहादुर विश्वकर्माले आफ्नो संगठनका सदस्य समेत रहेका काउन्टरका ईन्चार्ज प्रेमबहादुर गुरुङ तामाङलाई सञ्चालक समितिले राजनितिक प्रतिसोधका आधारमा जागिरबाट हटाएका कारण तत्काल पुनर्वहालीको माग गर्दै तालाबन्दी गर्नुपरेको बताएका छन्। यता पश्चिम नेपाल बस व्यवसायी समितिका अध्यक्ष ददि खरेल अनुशासन विपरीतका काम गरेका कारण तामाङलाई निकाल्नुपरेको बताउँछन्।
सवारी धनी तथा यात्रुलाई पटक–पटक अभद्र व्यवहार गर्ने र संस्थाको नियम विपरीत जथाभावि शुल्क उठाउने गतिविधि गरेका कारण जेठ १० गते बसेको बस सञ्चालक समितिको बैठकले तामाङलाई कारबाही गरेको उनले बताए। तामाङलाई कर्मचारीबाट हटाउने कार्य नसच्याएसम्म तालाबन्दी हुने भन्दै प्रमुख देवकुमार नेपाली र उपप्रमुख घर्ती आफैं हिजो साँझ काउन्टरमा आएको काउन्टरका अर्का कर्मचारी रामप्रसाद अचार्यले बताए।
एक जना कर्मचारीको विषयलाई लिएर यातायत ठप्प पार्ने, काउन्टर बन्द गर्ने जस्ता पदीय मर्यादा विपरीतका कार्यको नेतृत्व जनप्रतिनिधिले नै गरेको भन्दै बुर्तिबाङमा रहेका ८ वटा यातायात समितिका प्रतिनिधिले दोषिलाई कारबाही गरी कमजोरी सच्याउन र काउन्टर तथा यातायात सुचारु गर्न माग गर्दै इलाका प्रशासन कार्यालय बुर्तिबामा निवेदन दिएका छन्। समस्या समाधानको लागि अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा छलफल भइरहेको धौलागिरी बस व्यवसायी समितिका कर्मचारी अशोक विश्वकर्माले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *