२०८१ वैशाख ८ गते | 20th of April 2024

मोहोरको गाउँ डलर कमाउँदै

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २१ गते १५:१५

प्रकाश ढकाल
पोखरा, २१ जेठ ।
कास्कीमा त्यस्तो ठाउँ छैन, जहाँ पर्यटक पुगेर नरमाएको होस् । प्रत्येक गाउँहरु आँफैमा पर्यटकीय छन् । तर सबै गाउँहरु पर्यटकसँग परिचित छैनन् । परिचय नभएकै कारण पर्यटकको पाईला ति गाउँसम्म पुग्दैनन्, जहाँ पर्यटनको प्रचुर सम्भावना छ । गोरा अनुहार नदेखेकै आधारमा कतिपय गाउँको पहिचान पर्यटनसँग जोडिएको छैन । राम्रो सम्भावना भएर पनि पर्यटकको पाइला नपुगेको अर्को एउटा गाउँ छ, दाङसिङ मोहोरिया । मोहोरियाबाट घान्द्रुक पुग्न मुश्कीलले २ घण्टा लाग्छ । टाढापानी ५ घण्टामा पुगिन्छ । सावेत २ घण्टा र बनठाँटी ६ घण्टाको दुरीमा छ । लेखिएका सबै नामहरु पर्यटनका दृष्टिले स्थापित र परिचित हुन् । सबै ठाउँहरुमा उसैबेलादेखि गोरा अनुहार भित्रिए, जतिबेला माउरिस हार्जोगले अन्नपूर्णको सफल आरोहण गरे । त्यसो त प्रचार प्रसारले पनि नेपालको पर्यटनमा ठूलै महत्व राख्छ । हार्जोगको अन्नपूर्ण आरोहण र टोनि हागनको फिरन्ते पुस्तकले नेपाल र बिशेषगरी पोखराको पर्यटन फस्टाएको नकार्न सकिँदैन । त्यसपछि बिस्तारै सुरु भयो, नयाँ गन्तब्य पहिचान र संरचना निर्माणको काम । अहिलेसम्म राम्रै फस्टाएको छ, यहाँको पदयात्रा पर्यटन । तर सडक सञ्जाल विस्तारले पदमार्ग छोटिँदै गएको र पर्यटन ब्यवसाय नै कमजोर अबस्थामा पुगेको ब्यवसायीहरु बताउँछन् । २१ दिन लाग्ने पदयात्रा पूरा गर्न अहिले सातादिन पनि लाग्दैन ।
पर्यटकको बसाई छोटिन थालेपछि पर्यटनसँग सम्बन्धित संघ संस्थाले नयाँ पयमार्गको खोजी सुरु गरेका छन् । दाङसिङको मोहोरियालाई जोडेर नयाँ पदयात्रा सुरु गर्न लागेको ट्रेकिङ एजेन्सीज् एशोसियन अफ नेपाल (टान) पश्चिमाञ्चल अध्यक्ष दिपकराज अधिकारीले बताए । संसारको उत्कृष्ट १० पदयात्रा मार्ग राउण्ड अन्नपूर्ण भित्र पर्ने यो गाउँ पदयात्राको नयाँ ट्रान्जिट हो । ‘पूराना पदमार्गहरु छोटिँदै गएका छन् । पर्यटकलाई भुलाउने ठाउँहरु बिस्तारै घट्दैछन्, उनले भने–नयाँ पदमार्ग खोजेर त्यसको प्रबद्र्धनमा सघाउने हाम्रो योजना छ ।’ पर्यटनका लागि सडक बाधक हुने उनको भनाई छ । ‘पदयात्राले सडक सहँदैन । धुलो उडाएर पर्यटक आउँदैनन्, अधिकारी भन्छन्–संस्कार जोगाएर आवश्यक्ता बेचौं । पर्यटक ओईरिन्छन् ।’
जानेबुझेकाहरु यो गाउँलाई मोहोरमा खरिद गरिएकाले मोहोरिया नाम भएको बताउँछन् । ‘पुर्खाले मोहोरमा किनेर यो ठाउँमा बस्ति बसाएका थिए । अहिले यसको नाम मोहोरिया बनेको छ, स्थानीय बुद्धी गुरुङले भने–पर्यटनको राम्रो सम्भावना छ । सुन्दरता बेचेर हामी डलर कमाउँछौं ।’ स्थानीयको जिकिरलाई स्विकार्ने हो भने उबेला मोहोर दाममा किनिएको ठाउँका बासिन्दा अहिले डलर कमाउने तयारीमा छन् । यसैका लागि टानले त्यस ठाउँमा पहिलोपटक घरबास (होमस्टे) कार्यक्रम सुरु गरेको छ । यहाँका ४६ वटै घरमा पाहुना राख्न मिल्ने संरचना छन् । गाउँको सिरानमा सूर्योदय दृश्यावलोकन र योगा, मेडिटेशनको राम्रो सम्भावना छ । त्यही बाटो भएर टाढापानीको यात्रा छिचोल्न सकिन्छ । त्यसपछि सिधै अन्नपूर्ण बेसक्याम्पको बैकल्पिक पदमार्गको रुपमा स्थापित हुन्छ ।
यसका लागि आवश्यक संरचना भने बनिसकेको छैन । ‘सामान्य गोरेटो बाटो छ । यसलाई ढुंगा बिछ्याएर स्तरोन्नती गर्न सके यात्रा पनि सजिलो हुन्छ, एक्यापकी पर्यटन अधिकृत रश्मी आचार्यले भनिन्–मोहोरिया केन्द्रित गरेर होमस्टे तालिम आयोजना गर्दैछौं । पदमार्ग सुधारका लागि पनि छुट्टै बजेटको ब्यवस्था हुन्छ ।’ अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुवँरले अन्नपूर्ण गाउँपालिकाको समृद्धी नै पर्यटन मार्फत हुने भएकाले यसको विकास र विस्तारका लागि आँफुहरु सचेत रहेको बताए । ‘पर्यटनको राजधानी पोखरा हो । त्यसको पनि राजधानी अन्नपूर्ण क्षेत्र हो, उनी भन्छन्–यहाँको सुन्दरताको ब्याख्या ब्यवसायीले गरिदिनुस् । आउने वातावरण हामी बनाउँछौं ।’ गाउँपालिकाको बजेट पनि पर्यटनको पुर्वाधार निर्माण र प्रवद्र्धनमा खर्च गर्ने कुवँरको भनाई छ । उनले आधुनिकताको नाममा शहरीया खाद्यबस्तु बोकेर गाउँ नपस्न पर्यटकलाई आग्रह गरे । ‘पानी उमालेर दिन्छौं, मिनिरल वाटर नल्याईदिनुस् । गाईभैँसी पालेर दुध मही खुवाउँछौं, कोक जुस नल्याईदिनुस्, कुवँरले भने–खानेकुरा स्थानीय प्रयोग गर्नुस्, हामी उत्पादन गर्छौं ।’
टानले योसँगै कास्की र तनहुँका विभिन्न ठाउँमा स्थानीयको सक्रियतामा घरबास कार्यक्रम थालनी गरेको छ । धम्पुसको हेमजाकोट, अस्ताम, ल्वाङघलेल, ताङतिङ, घाचोकको काभ्रे, कालाबाङ घडेरी, तनहुँको रघुगाउँ लगाएतका ठाउँमा होमस्टे कार्यक्रम पु¥याईसकेको टानका द्धितिय उपाध्यक्ष बिश्वराज अधिकारीले जानकारी दिए । प्रत्येक बर्ष अन्नपूर्ण आरोहण दिवसको अवसरमा नयाँ पदमार्ग पहिचान र घरबास कार्यक्रमको थालनी गर्दै आएको उनको भनाई छ । नयाँ पदमार्गको खोजी गरौं, ग्रामिण पर्यटनलाई प्रबद्र्धन गरौं भन्ने नाराका साथ बिगत लामो समयदेखि टानले सम्बन्धित संघ संस्थाको सहकार्यमा पर्यटकीय गतिविधी सञ्चालन गर्दै आएको छ । टानमा दर्ता भएका पोखरामा मात्रै ४० बढी एजेन्सी छन् । यसबाहेक काठमाण्डौंमा १५ सय बढी दर्ता छन् । उनीहरुले पनि अन्नपूर्ण क्षेत्रमा पर्यटक डुलाउने काम गर्छन् । नेपालमा आउने पर्यटकमध्ये ७५ प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको तथ्याकं छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *