२०८१ वैशाख ७ गते | 19th of April 2024

आशावादी पत्रकार किरण मरहट्ठाको पुस्तक ‘द होप’ को लोकार्पण

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ७ गते २२:५५

टेक्सास । प्रख्यात टेलिभिजन पत्रकार किरण मरहठ्ठाद्धारा लिखित पुस्तक “द होप” आइतबार टेक्सासको अश्टिनमा लोकार्पण गरिएको छ । प्रमुख अतिथि, समाजसेवी एवं हेमसरिता पाठक फाउन्डेसनका अध्यक्ष हेम पाठकले पुस्तकको लोकार्पण गरेका थिए । लोकार्पण समारोहमा पाठकले भने “द होप नेपाली समाजमा आशाको दियो बनेर आएको छ,” पाठकले भन्नुभयो, “यो एक पत्रकारले समाजका विभिन्न क्षेत्रका व्यक्ति र बिषयको गहिरो अध्ययान पश्चात लेखिएको कृती हो ।” पाठकले पत्रकार मरहठ्ठालाई गैर आवासिय नेपालीको बारेमा सबैभन्दा जानकार पत्रकारको संज्ञा दिए ।
ग्रेटर अश्टिन नेपाली समाज, अश्टिनको आयोजनामा भएको कार्यक्रममा फिल्मकर्मी एवं वरिष्ठ टेलिभिजन प्रस्तोता नारायण पुरिले पुस्तकको समिक्षा गर्दै “द होप” पत्रकारितामा नवप्रवेशीहरुको लागी मार्गदर्शक भएको बताए । उनले भने “किरण मरहठ्ठा सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा खरो उत्रिएको पत्रकार हो, नेपालको टेलिभिजन अन्तर्वाताशैली निर्माणमा उनको विशेष योगदान छ ।” टेक्सासका विभिन्न क्षेत्रका अगुवा व्यक्तित्वहरु उपस्थित कार्यक्रममा नारी साप्ताहिकका सहसम्पादक झरना नहर्कीले पत्रकार मरहठ्ठाको कलम नेपाली समाजको एैना हो भन्दै द होप पत्रकारिता जगतमा एक उत्कृष्ट कृती भएको बताइन ।
पत्रकार रविन पियाले द होपलाई खारिएको पत्रकारको परिपक्व कर्म भनेर टिप्पणि गरे भने विश्वसन्देश साप्ताहिकका सम्पादक सुरज भण्डारीले लेखक मरहठ्ठाको व्यक्तित्व र पत्रकारिता यात्राको समिक्षा गरेका थिए । ग्रेटर अश्टिन नेपाली समाजका अध्यक्ष देवराज न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा बरिष्ठ लेखक मोहन सिटौला र राजेश्वर निरौलाले पनि मन्तव्य दिएका थिए भने लेखक मरहठ्ठाले पुस्तकमा समाबेस बिषयवस्तुको बारेमा जानकारी दिएका थिए । नेपालको आर्थिक, समाजिक, राजनीतिक तथा आध्यात्मिक क्षेत्रका कारिब २५ जना अगुवाहरुको विचार समेटिएको द होपमा तत्कालीक परिस्थितिको चित्रणका साथै नेपालको अर्थराजनीतिक पाटोको विश्लेषण गरिएको छ । २२० पेजको उक्त पुस्तक डिकुरा पब्लिकेशनले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *