२०८१ वैशाख ११ गते | 23rd of April 2024

मोरङ– सुनसरी औद्योगिक करिडोरमा रु तीन अर्ब ५० करोड क्षति

खुल्लामन्च
 प्रकाशित: २०७४ भदौ ५ गते १५:४५

मोरङ ५ भदौ । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा बाढीका कारण करिब रु तीन अर्ब ५० करोडको नोक्सानी भएको छ ।
मोरङ व्यापार संघका अध्यक्ष एवम् सांसद् पवनकुमार शारडाका अनुसार करिडोर क्षेत्रका पाँच सय उद्योगमध्ये तीन सयजति उद्योग अझै बन्द छन् । मोरङको कटहरी क्षेत्रका त सबै उद्योग ठप्प छन् । कटहरीमा सानाठूला गरी ३० उद्योग सञ्चालित छन् । “क्षतिको पूर्ण विवरण आउन अझै एक हप्ता लाग्छ”, अध्यक्ष शारडाले भने, “कतिपय उद्योगमा त भर्खर पानी सुक्दैछ, त्यहाँभित्र पस्न सक्ने अवस्था छैन । त्यसैले पूर्ण विवरण प्राप्त गर्न एक हप्ता पर्खनुपर्छ । अहिले त हिलो र फोहर पन्छाउँदै फुर्सद छैन ।” सबै उद्योग पूर्ववत् सञ्चालन हुन अझै एक हप्ता लाग्ने उनले बताए ।
उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ र उद्योग संगठनमा उद्यमी–व्यवसायीले क्षतिको विवरण पेश गर्न थालेका छन् । अहिलेसम्म प्राप्त सूचनानुसार अन्नपूर्ण निटिङ इण्डष्ट्रीमा रु १६ करोड ५४ लाखको क्षति भएको छ । सोमध्ये यन्त्रतर्फ रु पाँच करोड ५० लाख, कच्चा सामग्री रु तीन करोड ५० लाख र तयारी कपडा रु चार करोड ४९ लाखको क्षति भएको छ । त्यस्तै विशाल ग्रुपको सञ्चालनमा रहेको मैनावती स्टिलमा रु छ करोडको क्षति भएको छ । मैनावतीको मिलमेसिनरीतर्फ रु एक करोड ५५ लाख, कच्चा पदार्थ रु एक करोड ७५ लाख र उत्पादित वस्तु रु दुई करोड १६ लाखको क्षति भएको छ । इटहरीस्थित रिजाल टासीमा पनि रु २२ करोडको क्षति भएको छ । सेन्चुरी फुड एन्ड स्पाइसेज उद्योगका सञ्चालक एवम् पूर्वसांसद् मोती दुगड पछुताउँदै भन्छन, “आँधी, हुरी, भूकम्प, आगजनीजस्ता दैवीप्रकोपको बीमा त गरियो तर बाढीको गरिएन । ”बाढीको बीमा नगर्दा उहाँका दुई उद्योगमा रु दुई करोडको क्षति भएको छ ।
बाढीबाट मोरङको बूढीगंगा गाउँपालिकास्थित उनको सेन्चुरी परिसरमा रहेको मसला र स्न्याक्स उद्योगमा त्यति क्षति भएको हो । “सबै क्षतिको विवरण संकलन गर्न एक हप्ता लाग्छ”, दुगडले भन्नुभयो , “दुई वटा उद्योगको क्षतिले रु दुई करोड नाघ्ने अनुमान गरिएको छ । ” उनले उद्योगमा भएको कच्चा सामग्री, तयारी सामान, प्याकेजिङ कच्चा पदार्थ केही बाँकी नरहेको बताए ।

 

दुगडले भने, “कारखानामा बाढीको पानीसँगसँगै दुर्गन्धित हिलो पनि पस्यो । पानी त बग्यो तर हिलो छाडेर गयो । अहिले मेसिन सफा गराउने काम गरिरहेका छौँ । दुर्गन्धले कारखानाभित्र पसिसक्नु छैन ।” करिडोर क्षेत्रका ठूला उद्योगीमध्येका दुगड एक हुन । उनको कुर्ररमकुरा, सेञ्चुरी मसला लगायत उद्योग सञ्चालनमा छन् ।
नेपाल इन्स्युरेन्सका विराटनगरस्थित प्रमुख मदन खतिवडाका अनुसार ठूला उद्योगी ९५ प्रतिशतले बाढीको बीमा गरेका छन् तर साना तथा मझौला उद्योगी ९५ प्रतिशतले गरेका छैनन् । बाढीको विनाशबाट अहिले सबैभन्दा बढी थिचिने र मिचिनेमा साना तथा मझौला उद्योगी छन् । कटहरी गाउँपालिकामा प्लाष्टिकका चप्पल र ग्लास उत्पादन गर्ने विजय तोदीले पनि बाढीको बीमा गर्नुभएको थिएन । उनले भने , “दुवै युनिटको गरेर क्षति रु एक करोड ५० लाख नाघ्छ होला ।”
विराटनगरमा गुटखा उद्योग रहेका गोविन्द खतिवडाको हालत पनि त्यस्तै छ । उनका अनुसार कच्चा पदार्थ र यन्त्र सबै काम नलाग्ने भएको छ । उनले आफ्नो रु तीन करोड बराबरको क्षति भएको जिकिर गरे । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *