२०८१ वैशाख १४ गते | 26th of April 2024

मतदान केन्द्रको टुङ्गो दुई साताभित्रै

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २६ गते २:५९

एजेन्सी, फागुन २६ ।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन हालै प्राप्त गरेको निर्वाचन आयोगले उक्त प्रतिवेदन अनुरुप मतदान केन्द्र निर्धारणको काम आगामी चैत्रको १० गते सम्म सक्न जिल्ला कार्यालयहरुलाई पत्राचार गरेको जनाएको छ।
पुनर्संरचना प्रतिवेदन अनुरुप मतदाताको ठेगाना समेत परिवर्तन गर्नुपर्ने भएकाले सोही अनुसार मिलाउने काम पनि शुरु गरिएको आयोगका प्रवक्ताले बताए।
स्थानीय तहको निर्वाचनको तयारीमा व्यस्त आयोगले तहको संख्या कति हो र कुन हो भन्ने थाहा नभएका कारण काम गर्न अन्योल भइरहेको बताइरहँदा सरकारले राजपत्रमा प्रकाशित नहुँदै पुनर्संरचना प्रतिवेदन निर्वाचन आयोगलाई दिएको छ।
तयारी तीव्र
प्रतिवेदन आएसँगै जिल्लालाई मतदान केन्द्र निर्धारण गर्न पत्राचार गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए।
उनले भने-‘उहाँहरुले हेरेर, हिसाब गरेर प्रतिवेदन पठाउनुहुन्छ। चैत्र १० गतेभित्र मतदान केन्द्र पुनर्निर्धारण गरेको प्रतिवेदन ७५ जिल्लाबाट केन्द्रमा प्राप्त भइसक्नुपर्ने कार्यतालिका बनाएका छौं’।
पहिलेका मतदान केन्द्रहरुको अवस्था र नयाँ संरचना अनुसारको पूर्वाधारहरु हेरेर मतदान केन्द्रहरु तय गरिने बताइएको छ।
प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्ला निर्वाचन अधिकारीहरु र राजनीतिक दलका प्रतिनिधिहरु बसेर त्यसको टुङ्गो लगाउने योजना रहेको आयोगले जनाएको छ।
ठेगाना
पुनर्संरचना प्रतिवेदन आएसँगै परिवर्तित नयाँ संरचना अनुसार मतदाताको ठेगाना मिलाउनुपर्ने काम समेत आयोगलाई थपिएको छ।
उक्त काम चैत्र २० सम्म सक्ने गरी अघि बढाइएको आयोग प्रवक्ता शर्माले बताए।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बैशाख ३१ गते नै स्थानीय चुनाव गराउन आयोगले समयमै तयारी गरिसक्ने बताउँदै आएका छन्
उनले भने,-‘मतदाता नामावलीलाई अद्यावधिक गर्ने, प्रशोधन गर्ने काम अहिले भइरहेको छ। फागुन ९ गतेसम्ममा १८ वर्ष पुगिसकेका मतदाताहरुको नामावली प्रशोधन गर्ने काम भइरहेको छ।’
‘अनि केही त्रुटी भएको रहेछ भने जिल्लाबाट हामीले विवरणहरु प्राप्त गरिरहेका छौं। त्यसो गर्दा चैत्रको २० गतेसम्म मतदाता नामावली टुङ्ग्याउने हाम्रो लक्ष्य छ।’
निर्वाचन मिति आउन करिब दुई महिनामात्रै बाँकी रहंदा आएको प्रतिवेदनले कामको चाप बढाएको आयोगका पदाधिकारीहरुको भनाइ छ।
यद्यपि निर्धारित मितिमै निर्वाचन गर्ने गरी नियमावली र निर्देशिका बनाउने तथा मतपत्र छपाइको प्रक्रिया थाल्ने जस्ता महत्वपूर्ण कामहरु धमाधम भइरहेको उनीहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *