२०८१ वैशाख १२ गते | 24th of April 2024

सिक्लेस सडक स्तरोन्नती हुँदै

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २६ गते ३:०६

प्रकाश ढकाल
पोखरा, फागुन २६ ।
कास्कीको काहुँखोला देखि सिक्लेस सम्मको सडकको स्तरोन्नतीका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ । अर्थ मन्त्रालयले चालू बर्षभित्रै काम सक्नेगरी बजेट निकासा गरेको हो । पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा सिक्लेस आएका बेला सिक्लेस र आसपासका नागरिकले प्राथमिकताका साथ सडक कालोपत्रे गरिदिन माग गरेका थिए । सोही मागलाई सम्बोधन गर्दै देउवा सहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिशेष पहलमा बजेट निकासा भएको बाटो समितिले जनाएको छ ।
देउवाले योजनाको मागपत्र सहित बोलाएपछि स्थानीय अगुवाहरु माग तेश्रो साता मन्त्रालयमा डेलिगेसन गएका थिए । उनीहरुको माग सम्बोधन गर्दै आगामी बर्षदेखि बहुबर्षिय योजना अन्तर्गत कालोपत्रे गर्ने गरी तत्काल स्तरोन्नतीका लागि बजेट निकासा भएको हो । सडक निर्माणका लागि यसअघि नै जिल्ला विकास समिति मार्फत विभिन्न दुई शिर्षकमा १५ लाख र स्थानीयको १० लाख गरी २५ लाख रुपैयाँको काम भैरहेको बाटो निर्माण समितिका सहसचिव देवीजंग गुरुङले बताए । उनका अनुसार यसअघिका बर्षहरुमा पनि सडक स्तरोन्नतीका लागि बजेट विनियोजन भैरहेको थियो । यद्यपी सानो बजेट भएकाले देखिने गरी काम हुन सकेको थिए ।
सडक कालोपत्रेका लागि भने आगामी बर्षदेखि बहुबर्षिय योजनाको रुपमा काम हुने नेकपा माओबादी केन्द्रका जिविस प्रतिनिधी तथा स्थानीय लाल बहादुर गुरुङले बताए । ‘नेताहरुको सिक्लेस मोहकै कारण बजेट पर्न सकेको हो । यसलाई सही सदुपयोग गर्न सकियो र केन्द्रमा दवाव पुग्यो भने बजेटको कमी हुँदैन, उनले भने–विकासमा राजनीति नगरे गाउँको मुहार फेरिन समय लाग्दैन भन्ने प्रमाणित भएको छ ।’ प्रधानमन्त्री देउवा माघ १ गते सिक्लेस क्लवको आयोजनामा भएको सिक्लेस मेला उद्घाटन गर्न सिक्लेस पुगेका थिए भने प्रधानमन्त्री प्रचण्ड यसअघि ससस्त्र द्धन्द्धको समयमा सिक्लेसबाटै सार्वजनिक भएका थिए ।
देउवाले मेलाकै अवसरमा सिक्लेस सडकको कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाएका थिए । योसँगै स्थानीयले सिक्लेसलाई पर्यटकीय गाउँ घोषणा गर्न र सिक्लेस मनाङ पदमार्ग निर्माणका लागि माग गरेका छन् । यसका लागि सहयोग गरेका छन् नेपाली जनसम्पर्क समिति मकाउका उपसभापति लेख बहादुर गुरुङले । देउवालाई सिक्लेस मेलामा पुर्याउन उनले नै पुलको काम गरेका थिए ।
यसैबीच, मन्त्रालयले दुई आर्थिक केन्द्र जोड्ने सडक निर्माणका लागि कास्कीका सात वटा ग्रामिण सडकलाई बजेट विनियोजन गरिसकेको छ । लुम्ले, सल्यान, घुम्ती, लुयरा सडक, सबि, मेलबोट पानिघाट ,मौजा ग्रामिण सडक सडक, सैमराङ, बारचोक ग्रामिण सडक, ज्याम्दु, घ्याम्राङ सडक, खिलाङ सिक्लेस सडक, चाने, कोम्चे, फुलिबाङ सडक र सिशुवा, स्याङखुदी, कँडेल गाउँ, रैकर ग्रामिण सडक निर्माण तथा स्तरोन्नतीका लागि १० लाख रुपैयाँका दरले बजेट विनियोजन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *