२०८१ वैशाख ६ गते | 18th of April 2024

कास्कीमा को-को उठ्दैछन् ? (सबै तहको हेर्नुस्)

खुल्लामन्च
 प्रकाशित: २०७३ चैत ४ गते १५:२५

प्रकाश ढकाल
पोखरा, फागुन ४ ।
सरकारले स्थानीय तहको चुनावीय मिती घोषणा गरेसँगै कास्कीमा चुनाव केन्द्रित गतिविधि बढ्न थालेको छ । खुलेर उम्मेदवारहरु आफ्ना प्रचारमा नलागेपनि माउ पार्टीसँगको आन्तरिक छलफलमा ब्यस्त छन् । केही उम्मेदवारहरुले पत्रपत्रिका मार्फत आफ्नो उम्मेदवारीको घोषणा समेत गरेका छन् । यद्यपी आकांक्षीहरुको ठूलो भीडबाट एक एक जना उम्मेदवार चयन गर्न त्यति सजिलो देखिँदैन । कास्कीमा रहेका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी, संघीय समाजबादी फोरम लगाएतका दलबाट नगरपालिका र गाउँपालिका प्रमुखका लागि उम्मेदवारी दिँदैछन् । केही ठूला पार्टीहरुले पार्टीगत रुपमै उम्मेदवारी दिएपनि साना पार्टीहरु चाहीँ ठूला पार्टीसँग मिलेर चुनावमा सहभागी हुने तयारी गरिरहेका छन् ।
चुनावको मिति घोषणा पछि जिल्ला स्थित राजनीतिक दलले पनि चुनावी गतिविधी विस्तारै सुरु गर्दैछन् । सबैजसो पार्टीले चैत ५ गतेपछि चुनाव केन्द्रित कार्यक्रम गर्ने तयारी गरिरहेका छन् । काँग्रेस कास्कीका सभापति कृष्ण केसीले १० गतेपछि मात्रै उम्मेदवार छनौटको प्रक्रृया सुरु हुने बताए । नयाँ संरचना भित्र संगठनलाई ब्यवस्थित गर्ने काम भैरहेको भन्दै उनले केन्द्रिय समितिको निर्देशन आउने वित्तिकै उम्मेदवार घोषणाको काम थाल्ने जानकारी दिए । ‘केन्द्रिय समितिको बैठक १० गते बस्दैछ । समितिको निर्देशन आउने वित्तिकै हाम्रा कार्यकर्ताहरुलाई अभियान मुखी कार्यक्रम लिएर सबै तहमा खटाउँछौं, उनले भने–अहिले पनि ठाउँठाउँमा कार्यक्रम भैरहेका छन् । जनताका सामाजिक र प्रशासनिक कामहरुलाई ध्यानमा राखेर बढी भन्दा बढी परिचालित गर्ने हाम्रो आन्तरिक तयारी छ ।’ चुनावकै लागि जिल्ला समितिको बैठक ५ गते बस्दैछ । उनले संविधानको बाध्यकारी ब्यवस्था भित्र रहेर उम्मेदवार छनोट गर्ने र काँग्रेसको उम्मेदवार सबैको साझा हुने दावी गरे । ‘१९ बर्षपछि हुने चुनावमा सबैभन्दा ठूलो पार्टीमा आकांक्षी धेरै हुनु स्वभाविक हो । यसले काँग्रेसका धेरै कार्यकर्ताको क्रियाशिलता देखाउँछ, केसीले भने–यसमध्ये पनि भुगोलको सन्तुलन र समाबेशिता भित्रको समानुपातिक उम्मेदवारलाई बढी प्राथमिकता दिनेछौं ।’
नेकपा एमालेले पनि ५ गते नै जिल्ला कमिटिको विस्तारित बैठक डाकेको छ । एमाले अध्यक्ष कृष्ण थापाले हाल संगठन विस्तारको काम तिब्र रुपमा भैरहेको भन्दै भेला मार्फत स्थानीय तहको संरचना अनुसार पार्टीको संगठन तयार गर्ने जानकारी दिए । ‘पार्टी अहिले संगठन निर्माणको काममा जुटिरहेको छ, उनले भने ५ गतेको भेलाले गाउँ कमिटि र उपमहानगरपालिका तथा नगरपालिकाको कमिटी भंग गरेर नयाँ कमिटि गठन गर्छौं ।’ उनले पार्टीको आन्तरिक भोटिङबाट उत्कृष्ट भएको उम्मेदवार तहमा उठ्ने जानकारी दिए । ‘सकेसम्म सर्बसम्मत रुपमा उम्मेदवार चयन गर्ने हो । नभए  आन्तरिक कमिटीमा भोटिङ गरेर घोषणा हुन्छ, उनले भने–धेरै आकांक्षीबाट एक÷एक जना छान्नुपर्छ । त्यसका लागि गृहकार्य भैरहेको छ ।’
नेकपा माओबादी केन्द्रका अध्यक्ष दिपक कोइरालाले जोडिएको वडाहरुमा पार्टी कमिटी गठन भैरहेको जानकारी दिए । उम्मेदवार छनौट गर्नका लागि आन्तरिक छलफल भैरहेको भन्दै छिट्टै घोषणा गरिने बताए । ‘महानगरपालिकाको उम्मेदवार केन्द्रले घोषणा गर्छ । गाउँपालिकाका लागि स्थानीय तहबाटै सिफारिस हुन्छ, उनले भने–सिफारिस आएपछि जिल्लाले टुंग्याउँछ । त्यसैका लागि संगठन निर्माणको काम भैरहेको छ ।’ राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत ५ गते देशैभर चुनाव चिन्ह घोषणा गर्दैछ । सोही अनुसार कास्कीमा पनि कार्यक्रम गरिने जिल्ला अध्यक्ष जयलाल पुनले जानकारी दिए । उनका अनुसार सबै नयाँ संरचनामा पार्टी संगठन बनाउने र उम्मेदवार टुंग्याउने काम ५ गतेपछि मात्रै हुनेछ ।
नयाँ शक्ती पार्टीका जिल्ला अध्यक्ष होम बहादुर थापाले सबै तहमा अरुसँग प्रतिश्पर्धा गर्ने गरी तयारी भैरहेको बताए । उनका अनुसार नयाँ शक्ती पार्टीको जिल्ला भेला पनि ५ गते नै राखिएको छ । ‘सबैभन्दा पहिले स्थानीय तह अनुसारको पार्टी संरचना तयार गर्छौं । त्यसपछि मात्रै चुनाव केन्द्रित कार्यक्रम सुरु हुन्छ, उनले भने–आन्तरिक प्रतिश्पर्धाबाट उत्कृष्ट भएका उम्मेदवार हाम्रो तर्फबाट उम्मेदवार हुनेछ ।’ संघीय समाजबादी फोरमका अध्यक्ष दिपक तामाङले मोर्चाको माग सम्बोधन नभएसम्म चुनावी गतिविधी सञ्चालन नहुने बताए । ‘हामी सरकारको निर्णय कुरिरहेका छौं । त्यतिबेला सम्म पर्ख र हेरको स्थिती हुन्छ, उनले भने–माग सम्बोधन हुने वित्तिकै हाम्रा उम्मेदवार घोषणा गर्छौं ।’ पार्टीको जिल्ला तहमा उम्मेदवारको घोषणा भएपनि निर्देशन पछि मात्रै घोषणा गर्ने तामाङको भनाई छ ।
डेढ दशकपछि हुन लागेको चुनावमा पनि नागरिकको चासो खासै देखिँदैन । मेयरका आकांक्षीहरु समेत चुनावको प्रचार प्रसारमा लागेका छैनन् । जानेबुझेकाहरु दलगत प्रतिश्पर्धा नगरी स्वतन्त्र रुपमा स्थानीय तहको चुनाव हुनुपर्ने बताउँछन् । ‘कुनै पनि प्रजातान्त्रिक मुलुकमा दलिय निर्वाचन भएको छैन । नेपालमा पनि दलगत भन्दा स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिने उम्मेदवार बलियो हुन सक्छ, उनीहरु भन्छन्–स्थानीय इस्युमा चुनाव लड्ने मान्छे प्रमुख बन्ने हो । जनता अव सचेत भैसकेका छन् ।’ कास्कीमा स्वतन्त्र उम्मेदवारहरु पनि प्रतिश्पधी हुने चर्चा चलिरहेको छ । विश्व सिग्देल, कर्मा गुरुङ लगाएतको नाम पनि पोखराको मेयरका लागि सुनिएका नाम हुन् ।
पोखरा लेखनाथ महानगरपालिका
राजनीतिक बिश्लेषण गर्नेहरु दुई वा तीन जना मात्रै दलबाट मेयरको उम्मेदवारी बन्ने अड्कलबाजी गर्छन् । उनीहरुका अनुसार पोखरामा काँग्रेस, एमाले र माओबादीसँग अन्य दलहरु मिलेर चुनावमा सहभागी हुनेछन् । त्यसबाहेक स्वतन्त्र उम्मेदवार पनि मेयरको प्रतिष्पर्धी हुन सक्ने अड्कल गरिएको छ । हालसम्म गनिएका ठूला दल निकटबाट तीस बढी आकांक्षी छन् । मेयरका लागि नन्द प्रसाद तिवारीले पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरिसकेका छन् भने अरु दल निकटका उम्मेदवारहरु पनि मिडिया मार्फत विस्तारै सार्वजनिक भैरहेका छन् । मेयरमा काँग्रेसको तर्फबाट जिल्ला सभापति कृष्ण केसी सहित, सांसद यज्ञ बहादुर थापा, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष नरेसशंकर पालिखे, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, निवर्तमान अध्यक्ष विन्दु कुमार थापा, हेमजा गाविसका पूर्व अध्यक्ष रामचन्द्र त्रिपाठी मेयरका मूख्य आकांक्षी हुन् । सांसद थापाले सांसदबाट राजीनामा दिएरै भएपनि मेयरमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।
एमाले कास्कीका अध्यक्ष कृष्ण थापा पनि मेयरका आकांक्षी हुन् । उपमहानगर हुँदै मेयर निर्वाचित भएर काम गरिसकेका थापा पार्टी अध्यक्ष हुँदै पुनः महानगरको मेयर बनने दाउमा छन् । उनीसँगै एमालेबाट जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङ पनि दाउ खोजिरहेका छन् । एमाले बैकल्पिक केन्द्रिय सदस्य मान बहादुर जिसी, सांसद रवीन्द्र अधिकारी, युवा संघका अध्यक्ष राजीव पहारी, पिएन क्याम्पसका पूर्व स्ववियु सभापति धनराज आचार्य, जिविसका पूर्व उपसभापति श्रीनाथ बराल, नगर कमिटी अध्यक्ष तेजनारायण अधिकारी, भरत पहारी लगाएतका नेताहरुको चर्चा पनि उत्तिकै छ । माओवादी केन्द्रको तर्फबाट कास्की अध्यक्ष दीपक कोइराला मेयरको चुनावमा उम्मेदवारी दिने तयारीमा छन् । उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्व प्रकाश लामिछाने पनि मेयरका मुख्य आकांक्षी हुन् । माओवादीभित्र कोमलनाथ बराल, झलकपाणि तिवारी, रामजी बराल लगाएतको पनि चर्चा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जिल्ला अध्यक्ष जयलाल पुन, नगर कमिटी अध्यक्ष रमेश खत्री, नेता कृष्ण रेग्मी मेयरका लागि दावी गरिरहेका छन् भने नयाँ शक्तिको तर्फबाट जिल्ला अध्यक्ष किरण थापा, पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष जीतबहादुर गुरुङ लगाएतको चर्चा सुनिएको छ ।
माछापुच्छ«े गाउँपालिका
कास्कीका गाउँपालिकाहरुमा पनि अध्यक्ष को हुने भन्ने बिषय चर्किँदै गएको छ । माछापुच्छ«े गाउँपालिकामा बिशेषगरी काँग्रेस र एमालेको प्रतिश्पर्धा हुनेछ । यहाँ अध्यक्षका लागि नेपाली काँग्रेसबाट लाहाचोकका खुशीमान गुरुङ र माछापुच्छ«ेका भीम गुरुङ मुख्य दावेदार हुन् । एमालेबाट भने १० जनाको चर्चा छ । धम्पुसका पूर्व अध्यक्ष दल बहादुर गुरुङ र यदु अधिकारी, रिभानका गोपाल गिरी, घाचोकका महेश्वर पोख्रेल, माछापुच्छ«ेका कर्ण गुरुङ, ल्वाङघलेलका लाल बहादुर परियार र जगन्नाथ बास्तोला, लाहाचोकका बिष्णु प्रसाद पौडेल, धितालका बुद्धी अधिकारी र शशिधर अधिकारी अध्यक्षको लागि लविङ गरिरहेका छन् । यस्तै नयाँशक्ती पार्टीबाट घाचोकका तोयनाथ लम्साल पनि गाउँपालिकाको प्रमुख बन्ने दाउमा छन् । माओबादीबाट भने खासै चर्चामा कसैको नाम सुनिएको छैन ।
मादी गाउँपालिका
जिल्लाको उत्तर पूर्वी गाउँपालिका मादीमा कांग्रेस, एमाले र माओबादीका नेताहरु अध्यक्षका लागि आन्तरिक छलफलमा छन् । काँग्रेसबाट क्षेत्रीय सभापति बृजमान गुरुङ, जिल्ला सदस्य मिजुरेडाँडाका ओम प्रकाश गुरुङ, थुमाकोडाँडाका देवीजंग गुरुङ, अर्जुन गुरुङ र मन बहादुर गुरुङ, सैमराङका सूर्य तामाङ र प्रेम तामाङ हंसपुरका दीपेन्द्र ढकाल, कालिकाका भानु ढकाल र सरोज केसी, पार्चेका रसकुमारी गुरुङ र लेख बहादुर गुरुङ र भाचोकका सागर गुरुङ अध्यक्षका आकांक्षी हुन् । एमालेबाट एमाले उपाध्यक्ष मन बहादुर गुरुङको चर्चा छ । यद्यपी उनी पोखरा लेखनाथ महानगरपालिकाकै मेयर वा उप मेयरका लागि दाउ खोजिरहेका छन् । यसबाहेक नामार्जुङका बेदबहादुर गुरुङ (श्याम), माझठानाका पदम प्रसाद पौडेल, भाचोकका जस बहादुर गुरुङ, थुमाकोडाँडाका बुद्धीसागर सापकोटा र सिल्दुजुरेका बालकृष्ण गुरुङको चर्चा छ । नेकपा माओबादी केन्द्रबाट पनि राज्य समिति सदस्य सिल्दुजुरेका लाल बहादुर गुरुङ, केन्द्रिय सदस्यहरु मित्र गुरुङ र तोरण गुरुङ तथा कृष्णराज दाहालले अध्यक्षका लागि आकांक्षा ब्यक्त गरेका छन् ।
रुपा गाउँपालिका
पूर्वी गाउँपालिका रुपामा जिल्ला स्तरीय नेताहरु समेत अध्यक्षका लागि दावेदारी प्रश्तुत गरिरहेका छन् । यहाँ तीनवटै ठूला पार्टीबाट अध्यक्षको उम्मेदवार बन्ने आकांक्षी धेरै छन् । काँग्रेसबाट पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष प्रकाश मोहन खनाल आँफै अध्यक्ष बन्ने चाँजोपाँजो मिलाईरहेका छन् भने जिल्ला सदस्य हंसपुरका नारायण कुमार श्रेष्ठ, रुपाकोटकी गिमाया गुरुङ र साविक गाविस अध्यक्ष तुल बहादुर गुरुङ अध्यक्षका दावेदार हुन् । एमालेबाट सामुदायिक वन उपभोक्ता महासंघ कास्कीका अध्यक्ष कालिदास सुवेदीको बढी चर्चा छ । जिल्ला सदस्य नवराज ओझा, जिल्ला सल्लाहकार सदस्य हस्तकुमार श्रेष्ठको पनि निकै चर्चा सुनिन्छ । अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सरिता माल र साविक रुपाकोटका पार्टी सचिव खस बहादुर गुरुङ अध्यक्षमा दावेदारी पेस गर्ने तयारी गरिरहेका छन् । माओबादी केन्द्रकी केन्द्रिय सदस्य निर्मला सुवेदी र रुपाकोट गाविसका अध्यक्ष सूर्य गुरुङ पनि रुपा गाउँपालिकाको अध्यक्षमा उम्मेदवार दिँदैछन् ।
अन्नपूर्ण गाउँपालिका
कास्कीको उत्तर पश्चिम गाउँपालिका हो अन्नपूर्ण । यहाँ पनि विशेषगरी तीनवटै पार्टीका उम्मेदवार उठ्ने संकेत देखिन्छ । काँग्रेसबाट क्षेत्रीय सभापति पोषनाथ शर्मा, महासमिति सदस्य आई बहादुर गुरुङ, महाधिबेशन प्रतिनिधी राज बहादुर गुरुङ, जिल्ला सदस्य युवराज कुवँर, दाङसिङका पूर्व अध्यक्ष देवेन्द्र कुमार शेरचन, तरुण दलका जिल्ला अध्यक्ष मनोज गुरुङ, लुम्लेका प्रेम बहादुर गुरुङ लगाएतको चर्चा छ । यस्तै एमालेका क्षेत्रीय अध्यक्ष बिष्णु केसी, लुम्ले गाविसका अध्यक्ष भरत देवकोटा, ढिकुरपोखरी गाविसका पूर्व अध्यक्ष केदारनाथ अधिकारी, घान्द्रुकका बुद्धी बहादुर गुरुङ र सल्यानका प्रेम पौडेलको नाम सुनिएको छ । यस्तै नेकपा माओबादी केन्द्रको तर्फबाट घान्द्रुकका धर्म तमु र क्षेत्र बहादुर गुरुङ तथा ढिकुरपोखरीका माओबादी अध्यक्ष भेषराज पौडेलको नाम चर्चामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *