२०८१ वैशाख १७ गते | 29th of April 2024

देउवाले भने, ‘लोकतन्त्रमा मात्र जनता मालिक हुन्छन’

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १५ गते १५:०५

धनगढी, १५ मंसिर । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र जनता मालिक हुने भएकाले लोकतान्त्रिक शक्ति काँग्रेसलाई चुनावमा सघाउन आग्रह गर्नु भएको छ ।

नेपाली काँग्रेसले आज डोटी र अछामका चार ठाउँमा आयोजना गरेको छुट्टाछुट्टै चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “लोकतन्त्रमा मात्र जनता देशका मालिक हुन्छन्, जनतालाई मालिक बनाउने पार्टी नै काँग्रेस हो ।”

जनताको ठूलो त्याग र बलिदानबाट बनेको समावेशी संविधानलाई कार्यान्वयन हुन नदिने षडयन्त्र भइरहेको जिकिर गर्दै प्रधानमन्त्रीले वाम गठबन्धनले एक दलीय तानाशाही व्यवस्था ल्याउने प्रयास गरेको आरोप लगाए ।

उनले भने, “एक दलीय तानाशाही व्यवस्थामा जनताको हक अधिकार नहुने मात्र नभई डर त्रासमुक्त समाज हुन सक्दैन ।” उनले सुदूरपश्चिमबाट आफू प्रधानमन्त्री भएमा यस क्षेत्रका बासिन्दाले विकासका लागि आफुसँग झगडा गर्ने हक अधिकार रहेको उल्लेख गरे ।

संविधानको सफल कार्यान्वयन, विकास र समृद्धिका लागि पनि काँग्रेसले चुनावमा जित्नु पर्ने उनको भनाइ थियो । ७ नं प्रदेशको विकासमा ठूलो महत्व राख्ने पश्चिम सेती परियोजना निर्माणका लागि चीनको एक कम्पनीसँग सम्झौता भइसकेको उल्लेख गर्दै उनले खप्तडलाई पर्यटकीय क्षेत्र बनाउन र यस क्षेत्रमा सडक र कृषि क्षेत्रको विकासका लागि आफूले पहल गर्ने बताए ।

प्रधानमन्त्रीले आज डोटीको बोगटान र सायल तथा अछामको मंगलसेन र साँफेबगरमा भएका छुट्टाछुट्टै चुनावीसभालाई सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *