२०८१ वैशाख ८ गते | 20th of April 2024

निर्माण व्यवसायी संघका अध्यक्ष गौचन हत्याका मुख्य योजनाकार पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ मंसिर १७ गते १६:२८

काठमाडौं, १७ मंसिर । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार रहेको भन्दै प्रहरीले समिरमानसिंह बस्नेतलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले बस्नेतलाई चितवनबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
प्रहरीले यसअघि गौचनको हत्यामा सलंग्न सार्प सुटरसहित ७ जनालाई पक्राउ गरेको थियो । निर्माण व्यवसायी गौचनको गएको असोज २३ गते काठमाडौंकोे शान्तिनगर खरिबोट नजिकैको प्रयागमार्गमा गोली हानी हत्या भएको थियो । मागेको जति पैसा नदिँदा बस्नेतले गौचनको हत्या गरेको स्वीकार गरेको सिआइबीका प्रमुख पुष्कर कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पक्राउ परेका बस्नेत गएको पुष ४ गते एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याका पनि मुख्य योजनाकार रहेका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । यस्तै गएको चैत २९ गते काठमाडौँ गुह्वेश्वरीको दिव्या पार्टी प्यालेस अगाडि गुन्डा नाइके दावा लामामाथि भएको गोली प्रहारमा पनि बस्नेत नै मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको बाफल घर भएका समीरमानसिंह बस्नेत दुई वर्ष अघि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ घैँटेका मुख्य सहयोगी थिए । घैँटे मारिएपछि फरार रहेका बस्नेतले भारतमा बसेर व्यवसायीलाई फोनमा धम्काउँदै रकम माग्ने र नदिएपछि हत्या गर्ने गरेको प्रहरीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *