२०८१ वैशाख ७ गते | 19th of April 2024

कास्कीका गाउँपालिकामा ७ सय उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते ३:०५

प्रकाश ढकाल
पोखरा, १९ बैशाख ।
कास्कीका चार गाउँपालिकामा करिब ७ सय जनाले उम्मेदवारी दर्ता गराएका छन् । मादी, माछापुच्छ«े, अन्नपूर्ण र रुपामा मात्रै ६ सय ६९ जनाले उम्मेदवारी मनोनयन गराएका निर्वाचन अधिकृतहरुले जनाएका छन् । मादी गाउँपालिकामा अध्यक्षका लागि पाँच र उपाध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा नेपाली काँग्रेसका देवीजंग गुरुङ, एमालेका बेद बहादुर गुरुङ (श्याम), माओबादी केन्द्रकी राधा सापकोटा, परिवार दलकी नन्दकली भण्डारी र संघीय समाजबादी फोरम तथा नयाँ शक्तीको संयुक्त गठबन्धनबाट रामकाजी चर्माकारले उम्मेदवारी दिएका छन् । यस्तै उपाध्यक्षमा काँग्रेसबाट प्रभाश्री गुरुङ, एमालेबाट बिष्णुमाया आचार्य पौडेल र माओबादी केन्द्रबाट नन्दश्री गुरुङले उम्मेदवारी प्रश्तुत गरेका निर्वाचन अधिकृत गुरुदत्त ढकालले जानकारी दिए । मादी गाउँपालिकामा ५ वटा दल र स्वतन्त्र गरी १ सय ६९ जनाले उम्मेदवारी बुझाएका छन् । मादीको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी परेको ढकालले बताए । १२ वटा वडा रहेको मादीमा ६२ जना निर्वाचित हुनेछन् । १३ हजार ५ सय ५९ मतदाता रहेको यस गाउँपालिकामा १७ मतदान स्थल र २२ मतदान केन्द्र कायम गरिएको छ । चुनाव पछि दलित तथा अल्पसंख्यक समुदायबाट थप दुई जना चयन गरेर गाउँसभा गठन हुनेछ भने २० जनाको गाउँकार्यपालिका बन्नेछ ।
माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका खुशीमान गुरुङ, एमालेबाट कर्णबहादुर गुरुङ, माओबादी केन्द्रबाट प्रविणा अधिकारी, नयाँ शक्ती पार्टीका तोयानाथ लम्साल, राष्ट्रिय जनमोर्चाका अर्जुन कार्की, अखण्ड नेपाल पार्टीका राम बहादुर घर्ति, राप्रपाबाट पूर्ण बहादुर गुरुङ र स्वतन्त्र रुपमा भीम बहादुर गुरुङले उम्मेदवारी अध्यक्षमा उम्मेदवारी प्रश्तुत गरेका हुन् । स्वतन्त्र भनिएका गुरुङ काँग्रेसका बागी उम्मेदवार हुन् । उनी नेपाली काँग्रेसका साविक माछापुच्छ«े इकाई सभापति हुन् । यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसकी टेकनशोभा गुरुङ, एमालेकी कृष्ण कुमारी पौडेल दवाडी, माओबादी केन्द्रका टेकनाथ गौतम, राप्रपाकी कुन्ती गुरुङ, नयाँ शक्ती नेपालबाट सुजिता गुरुङ, अखण्ड नेपालकी गंगा घर्तिले उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृत गंगाप्रसाद पौडेलले जानकारी दिए । ९ वडा रहेको माछापुच्छ«ेमा अध्यक्ष र उपाध्यक्ष सहित ४७ जना निर्वाचित हुनेछन् । ४९ जनाको गाउँसभा हुने यस गाउँपालिकामा दुईजना दलित तथा अल्पसंख्यक समुदायबाट पछि निर्वाचित गराईनेछ भने १७ जनाको कार्यपालिका गठन गरिने छ । १६ हजार ३ सय १ जनाले १२ मतदान स्थल र २१ मतदान केन्द्रबाट मतदान गर्न पाउने छन् । माछापुच्छ«ेमा ७ दल र स्वतन्त्र सहित अध्यक्षमा ८, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ४०, महिला सदस्यमा ३३, दलित महिला सदस्यमा ३० र खुल्ला सदस्यमा ७२ गरी १ सय ८९ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत पौडेलले बताए ।
अन्नपूर्ण गाउँपालिकामा ७ जनाले अध्यक्ष र ५ जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका युवराज कुवँर, नेकपा एमालेका बिष्णु बहादुर केसी, माओबादी केन्द्रका धर्म गुरुङ, राप्रपाबाट तुल बहादुर गुरुङ, परिवार दलबाट बिराट सुवेदी, नयाँ शक्तीबाट कर्ण बहादुर नेपाली र गोपाल गुरुङले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । स्वतन्त्र भनिएका गोपाल नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य हुन् । उपाध्यक्षमा काँग्रेसबाट खीम कुमारी गुरुङ, एमालेबाट सगुन गुरुङ, माओबादी केन्द्रबाट हरिमाया तिमिल्सीना अधिकारी, नयाँ शक्तिबाट लक्ष्मी दाहाल र राप्रपाबाट बिनकुमारी अधिकारीको उम्मेदवारी परेको निर्वाचन अधिकृत योगनाथ ढकालले जानकारी दिए । उनका अनुसार ६ वटा राजनीतिक पार्टीबाट वडाअध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यमा १ सय ९९ जनाले उम्मेदवारी दर्ता गराए । ११ वडा रहेको अन्नपूर्णमा ५७ जना निर्वाचित हुनेछन् भने १९ जनाको कार्यपालिका बन्नेछ । १५ हजार ५ सय ६७ जना मतदाता रहेको यो गाउँपालिकामा १५ मतदान स्थल र २१ मतदान केन्द्र कायम गरिएको छ ।
रुपा गाउँपालिकामा ७ जना अध्यक्ष र ४ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका प्रकाशमोहन खनाल, एमालेका नवराज ओझा, माओबादी केन्द्रकी निर्मला सुवेदी, नयाँ शक्तीका नारायण सुवेदी, राष्ट्रिय जनमोर्चाका ऐन बहादुर बसौला, राप्रपाका इन्द्र बहादुर माल र नेपाल परिवार दलका शिवजी भट्टराईले मनोनयन दर्ता गराएका छन् । उपाध्यक्ष काँग्रेसकी गिमाया गुरुङ, एमालेकी लालसुब्बा गुरुङ, माओबादी केन्द्रका पुष्पराज खनाल र राप्रपाकी फललक्ष्मी देवी शाही उम्मेदवार बनेका छन् । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरु सहित ७ वटा राजनीतिक पार्टीबाट १ सय १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत लेखनाथ शर्माले जानकारी दिए । ११ हजार ३ सय १५ जना मतदाताले अध्यक्ष र उपाध्यक्ष सहित ३७ जनालाई मतदान गर्नेछन् । त्यसपछि दलित तथा अल्पसंख्यक समुदायबाट थप दुई जनालाई चयन गरेर गाउँसभालाई पूर्ण बनाईनेछ । ७ वडा रहेको रुपामा १७ जनाको गाउँकार्यपालिका गठन हुनेछ । यो गाउँपालिकामा ८ मतदान स्थल र १५ मतदान केन्द्र कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *