२०८१ वैशाख ७ गते | 19th of April 2024

कोटामै सीमित महिला उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते ३:१४

प्रकाश ढकाल
पोखरा, २० बैशाख ।
महिला अधिकारका बिषयमा सचेत मानिएका ठूला राजनीतिक पार्टीबाटै महिला उम्मेदवार अगाडी सार्न कञ्जुस्याँई भएको छ । एक महानगर र ४ गाउँपालिका रहेको कास्कीमा बाध्यात्मक बाहेक ५१ जना महिलाले मात्रै खुल्ला रुपमा उम्मेदवारी दिएका छन् । ३ सय ७० निर्वाचित जनप्रतिनिधी मध्ये महिलाका लागि १ सय ४४ जनाको कोटा छ । त्यस बाहेक पनि सबै स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एक जना महिला उम्मेदवार अनिवार्य हुनुपर्ने सबै राजनीतिक दललाई बाध्यता छ । यद्यपी सबै स्थानीय तहको प्रमुख उपप्रमुखमा महिला उम्मेदवारले जित्ने पक्का भने छैन । सबैभन्दा धेरै पोखरा लेखनाथ महानगरपालिकामा २७ जना छन् भने सबैभन्दा कम मादीमा ३ जना मात्रै खुल्लातर्फ महिला उम्मेदवार छन् । रुपामा ६, अन्नपूर्णमा ८ र माछापुच्छ«ेमा ७ जना महिलाले मात्रै कोटा बाहेकका पदमा उम्मेवदारी दिएका छन् । देशकै सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथ महानगरपालिकामा मुश्कीलले एकजना महिलालाई प्रमुखको उम्मेदवार बनाईएको छ । कास्कीको चौंथो ठूलो दल मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले गीता गुरुङलाई प्रमुखको उम्मेदवार बनाएर महिला उपस्थिती कामय राखेपनि अरु दलहरुले महिलालाई विश्वास गर्न सकेनन् । यद्यपी पोखरामा महिलाहरुले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएनन् । ३३ वडा रहेको महानगरमा १४ जना महिला मात्रै वडाध्यक्षको उम्मेदवार बन्न पाए । १४ जना महिला वडाध्यक्षमध्ये पनि चारजना स्वतन्त्र उम्मेदवार छन् । अन्य १० जना पनि साना पार्टीबाट प्रतिनिधित्व गर्ने उम्मेदवार बढी छन् ।
३३ वडाको महानगरमा काँग्रेस र एमालेले एक÷एक जना उम्मेदवार मात्रै वडाअध्यक्षमा प्रश्तुत गरेका छन् । काँग्रेसले वडा नम्बर ८ मा शारदा गिरी र एमालेले वडा नम्बर १ मा शारदा कुमारी पराजुलीलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ । तुलनात्मक रुपमा माओबादी केन्द्रले अरु पार्टीभन्दा बढी वडाध्यक्षमा महिलालाई अघि सारेको छ । ९ मा यमुना गुरुङ, २५ नम्बर वडामा आरती अधिकारी सापकोटा, २९ मा चिजकुमारी सुनार र ३० मा संगीता पुन माओबादीको तर्फबाट अध्यक्षको उम्मेदवार हुन् । २ नम्बर वडामा परिवार दलबाट कल्पना गौतम, २५ मा संघीय समाजबादी फोरमले सविना थापामगर, जनमोर्चाको तर्फबाट २७ मा प्रभामिलन घिमिरे र ३० मा पार्वती ढकाल वडाध्यक्षका लागि मनोनयन दर्ता गराएका थिए । महानगरको ९ नम्बरमा लक्ष्मी अधिकारी, १४ मा देवी थापा र कुमारी तामाङ तथा २६ मा विमाया विकले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दलहरुले बाध्यकारी बाहेकका पदमा महिलालाई अघि सारेका छैनन् । खुल्ला सदस्यमा ५ नम्बरका लागि राप्रपाबाट तारा थापामगर, परिवार दलबाट बिष्णुमाया गौतम, १४ मा माओबादी केन्द्रबाट शंकरदेवी पौडेल, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट नरमति लिम्बु र जनमोर्चाबाट देवीकला तुलाचन खुल्ला सदस्यका उम्मेदवार हुन् । यस्तै १७ मा माओबादीकी मनुमाया खत्री, एमालेकी  शान्तादेवी गुरुङ, १९ मा राप्रपाकी तिलादेवी गौतम र तिल कुमारी कार्की, २८ मा सुनिता ढकाल, ३० मा काँग्रेसकी सीता पौडेल, अखण्डकी बिष्णुमाया पन्थी तथा ३१ म जनमोर्चाकी सावित्री भुजेल पनि खुल्ला सदस्यकै उम्मेदवार हुन् । महानगरमा महिला र दलित महिला गरी ६६ जना महिला निर्वाचित हुनेछन् । यसका लागि महिला सदस्यतर्फ १ सय ५९ जनाले उम्मेदवारी दिएका छन् भने दलित महिला सदस्यतर्फ १ सय ४४ जनाको उम्मेदवारी परेको मूख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अन्नपूर्ण गाउँपालिकामा माओबादी केन्द्रले मात्रै वडाध्यक्षको रुपमा महिला उम्मेदवारलाई टिकट दिएको छ । ६ नम्बरमा लिला अधिकारी र १० नम्बरमा बिद्या विक वडाध्यक्षका उम्मेदवार हुन् भने ४ मा पार्वतिदेवी पौडेल खुल्ला सदस्यको उम्मेदवार हुन् । काँग्रेसले खुल्ला सदस्यमा समेत महिला उम्मेदावर बनाएको छैन भने एमालेबाट १० नम्बर वडामा मिना कुमारी राना खुल्ला सदस्यकी उम्मेदवार हुन् । राप्रपाबाट १ नम्बरमा देवकी अधिकारी र हरिमाया अधिकारी र ४ मा गुमा शर्मा उम्मेदवार बनेकी छिन् । १० नम्बर वडामै धनमाया कामीले नयाँ शक्तीबाट खुल्ला सदस्यको टिकट पाएकी छिन् । यस गाउँपालिकामा कम्तिमा २२ जना महिला सदस्य निर्वाचित हुनेछन् । ११ जना महिला सदस्यका लागि ३७ जनाको उम्मेदवारी छ भने ११ जना नै दलित महिला सदस्यका लागि ३६ जनाले दावेदारी प्रश्तुत गरेका छन् ।
मादीमा खुल्लातर्फ तीनजना मात्रै महिला उम्मेदवार छन् । माओबादी केन्द्रले गाउँपालिका अध्यक्षमा राधा सापकोटालाई उम्मेदवार बनाएको छ । काँग्रेसले ४ नम्बर वडामा तारा पौडेल र एमालेले ३ नम्बरमा धनकुमारी रानाभाटलाई खुल्ला सदस्यमा उम्मेदवार बनाएका छन् भने वडाध्यक्षमा महिला उम्मेदवारी शून्य छ । १२ वडा रहेको मादीमा अरु पार्टीले पनि महिलालाई उम्मेदवारीका लागि अघि सार्न सकेनन् । महिला र दलित महिला गरी २४ जना मादीमा निर्वाचित हुनेछन् । १२\१२ जना महिला र दलित महिला सदस्यका लागि ३०÷३० जनाको उम्मेदवारी परेको निर्वाचत अधिकृतको कार्यालयले जनाएको छ ।
माछापुच्छ«े गाउँपालिकामा पनि माओबादी केन्द्रले गाउँपालिकाको अध्यक्षका रुपमा महिला उम्मेदवारलाई टिकट दिएको छ । प्रविणा अधिकारी अध्यक्षको उम्मेदवार हुन् । काँग्रेसबाट खुल्ला तर्फ महिला उम्मेदवार निल छन् भने एमालेले २ नम्बरमा खुल्ला सदस्य महिलालाई बनाएको छ । एमालेबाट बिष्णुमाया मगर र ३ मा माओबादी केन्द्रबाट सीता पोख्रेलले महिला खुल्ला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । राप्रपा र अखण्डले भने वडाध्यक्ष पनि महिला बनाएको छ । ४ नम्बरमा अखण्डकी जुना कुमारी केसी र ६ मा राप्रपाकी कमला पौडेल वडाध्यक्षको उम्मेदवार हुन् । अखण्डले ४ नम्बर वडामै धनकुमारी शाही र ३ मा राधीका केसीलाई खुल्ला सदस्यमा उम्मेदवार बनाएको छ । ९ वडा रहेको यो गाउँपालिकामा १८ जना महिला सदस्य निर्वाचित हुनेछन् । ९ जना महिला सदस्यका लागि ३३ र ९ दलित महिला सदस्यका लागि ३० जनाले मनोनयन दर्ता गरेका छन् ।
रुपामा माओबादी केन्द्रबाट गाउँपालिका प्रमुख निर्मला सुवेदीले उम्मेदवारी दिएकी छिन् । राप्रपा बाहेक वडा तहमा कसैले पनि महिला उम्मेदवारलाई अध्यक्षको उम्मेदवार बनाएका छैनन् । राप्रपाले ३ नम्बर वडामा तीर्थकुमारी कुमाललाई वडाध्यक्षको उम्मेदवारी दर्ता गराएको छ । काँग्रेसले ५ नम्बरमा अप्सरा श्रेष्ठ, एमालेले ४ मा मधुमाया शाही र ३ मा भगतवी शाही तथा माओबादी केन्द्रले ४ नम्बर वडामा माया रानालाई खुल्ला सदस्यमा उम्मेदवारको टिकट दिएको छ । रुपा कास्कीको सबैभन्दा सानो (७ वडा) स्थानीय तह हो । रुपामा ७ जना महिला सदस्य र सातै जना दलित महिला सदस्य निर्वाचित हुनेछन् । ७ जना महिला सदस्यका लागि २१ र ७ जना दलित महिला सदस्यका लागि १७ जना दावेदार छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *