२०८१ वैशाख १३ गते | 25th of April 2024

१० करोडको लागनीमा मन्दिर निर्माण

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २ गते ३:५४

पाल्पा, २ पुस । रामपुरमा भौतिक पूर्वाधारसहितको सुविधा सम्पन्न रामजानकी मन्दिर निर्माण कार्य हँुदैछ । रामचुलोको ऐतिहासिक तथा धार्मिक महत्वलाई जोगाई राख्न यहाँका स्थानीयवासीले रु १० करोडको लागतमा मन्दिर निर्माण कार्य शुरु गरेका हुन् ।

त्रेतायुगमा भगवान रामले वनबास जाने क्रममा रामपुर नगरपालिका– ५ को बेझाड बजार नजिकै तीन वटा ढुंगाको चुलो बनाएर खाना खाएको धार्मिक तथा पौराणिक मान्यता रहिआएकाले यस चुलोको नाम रामचुलो रहेको हो ।

ऐतिहासिक महत्वसँग जोडिएको यस रामचुलोको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले यहाँका स्थानीयवासी र सरोकार भएका निकायको सहयोगमा यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदैछ । दुई तलाको मन्दिर, सत्तल, दुई वटा भवनलगायतका सुविधा सम्पन्न विभिन्न भौतिक पूर्वाधार निर्माणका कार्य भइरहेको रामजानकी मन्दिर परिषद् संरक्षण समिति रामपुरका अध्यक्ष फणेश्वर गौतमले बताए ।

“आन्तरिक तथा बाह्य धार्मिक पर्यटन विकास गर्न, रामचुलोको ऐतिहासिक धार्मिक महत्वलाई बचाई राख्न रामचुलो परिसरमा मन्दिरसँगै विभिन्न भौतिक संरचना निर्माण गर्न लागेका हौँ”– अध्यक्ष गौतमले भने ।

स्थानीयवासीको पहलमा विसं २०७१ माघमा श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ सञ्चालन गरिएको थियो । सो महायज्ञबाट रु दुई करोड ४२ हजार नगद तथा जिन्सी रकम संकलन गरी मन्दिर निर्माण कार्य थालनी गरिएको समितिका सचिव गुरुप्रसाद रेग्मीले जानकारी दिए ।

विसं २०७२ कात्तिकबाट समितिले पञ्चवर्षीय योजना बनाएर करिब रु १० करोड बराबरको लागतमा मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ ।

पाल्पाको ऐतिहासिकतालाई मध्यनजर गर्दै छत्रशैली र गुम्बा शैली आकारमा मन्दिर निर्माण भइरहेको मन्दिरका वास्तुकार लवकुमार नेपाल बताउनुहुन्छ । उहाँले पूर्वमा जनकपुर पश्चिममा पाल्पा रामपुरलाई नमूना धार्मिक क्षेत्रका रुपमा चिनाउने खालको कलात्मक र आकर्षक शैलीमा मन्दिर निर्माण हुने बताए ।

भविष्यमा यो मन्दिर नेपालकै धार्मिक तीर्थस्थलका रुपमा प्रख्यात बन्नेछ । मन्दिर निर्माण कार्य सम्पन्न भएपछि रामपुर क्षेत्र पर्यटन विस्तारमा एउटा खम्बा बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *