२०८१ वैशाख ६ गते | 18th of April 2024

चौतर्फी सेवाभावले तामागं सम्मेलन ऐतिहासिक हुनेछ – लकेन लामा, सदस्य सचिव

खुल्लामन्च
 प्रकाशित: २०७४ पुष २ गते ९:३७

प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन आयोजना हुन लाग्दा कस्तो अनुभव भइरहेको छ ?
उत्तर अमेरिकामा यतिको ठुलो संगठन बनाउन लाग्दा सबैतिरबाट हामीलाई पाएको साथ र सहयोगले निकै सुखद अनुभुति र ऐतिहासिक सम्मेलन हुने अपेक्षा राखेका छौ ।
अमेरिकाभरको तामाङको सहयोग र यो उत्साहले भविष्यमा गर्ने हरेक योजनाहरु सजिलै सफल हुन्छ भन्ने विश्वास लिएको छु ।

सम्मेलन तोकिएकै मितिमा किन हुन नसकेको ?
बास्तवमा हामीले सम्मेलन तोकेकै मितिमा गर्न नसकेर दुई पटक सारेकै हो । पछि सार्नुको कारण सवैलाई समेट्न नसकिएकोले हो । हाम्रो उद्देश्य भनेको जहाँ जहाँ तामाङको जनघनत्व छ त्यहाबाट सबैलाई प्रतिनिधित्व गराउने भन्ने थियो त्यही अनुसार त्यतिखेर भने जस्तो सबैलाई समेट्न सकेको थिएन । अहिले सबैलाई समेटेर संस्थालाई फाइदा पुगेको छ ।

सम्मेलनमा सहभागिता कस्तो होला ?
यो सम्मेलनमा हामीले एक संस्थाबाट १० जना प्रतिनिधि आउन पाउने व्यवस्था गरेका छौ । संस्थागत रुपमा अमेरिकामा भएको तामाङको सबै संस्थालाई सहभागी गराउने भएकोले सोचेभन्दा बढी सहभागिता होला भन्ने आशा गरेका छौ ।

प्रतिनिधिका लागि केकस्ता व्यवस्था छन् ?
तदर्थ समितिमा रहेकोलाई प्रति व्यक्ति २ सय डलर र बाहिरबाट आउने प्रतिनिधिहरुलाई १ सय डलर शुल्क राखेका छौ । यो शुल्कले दुई दिनको खानाको व्यवस्था र ६० डलर पर्ने डम्फु साँझको टिकट पनि निशुल्क दिने व्यवस्था गरेका छौ ।

कठिनाइ कतिको भइरहेको छ ?
ठुलो राज्य भएकोले फरक समयको कारणले कतिपय प्रतिनिधि संस्थाहरुलाई सम्पर्क गर्न अप्ठयारो भएकै हो । तैपनि तदर्थ समितिमा रहेका सबैले स्वतस्फुर्त रुपमा लागीरहेकोले खासै कठिनाइ भएको छैन ।

सम्मेलनमा कस्ता व्यक्तित्वको सहाभागीता होला जस्तो छ ?
तामाङ समुदायको भाषा संस्कृतिको क्षेत्रमा लामो समयदेखि अध्ययन गर्दै आएका तामाङ विद्हरु अमृत योञ्जन र तामाङको इतिहासको बारेमा डा मुक्तासिंह लामा सम्मेलनमा सहाभागी हुने सम्भावना रहेको छ ।

सम्मेलनको लागि खर्चहरु कसरी जुटाउनु भएको छ ?
सम्मेलनका लागि आर्थिक कमिटि बनेको छ । म आफ्नै संयोजकत्वमा बनेको आर्थिक समितिले अमेरिकामा रहेका तामाङहरुबाट आर्थिक सहयोग संकलन भइरहेको छ र हरेक राज्यबाट राम्रो साथ सहयोग पनि जुटिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *