२०८१ वैशाख ६ गते | 18th of April 2024

कोइरालाको पोखरा परिकल्पना

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २२ गते ३:३७

पोखरा, २१ वैशाख ।
पोखरालाई सुन्दर, स्वस्थ, सुरक्षित, सुव्यवस्थित र समृद्ध कायम राख्न लागि स्वतन्त्र रुपमा पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुख पदमा उमेद्वारी दिएको युवा उद्यमी सिरोज विजय कोइरालाले बताएका छन् । उपप्रमुखका उमेद्वार कोइरालाले भने–‘मेरो जीत नै समग्र पोखरेलीहरुको जीत हो । म दलप्रति होइन समग्र पोखरेलीहरुप्रति जिम्मेवार र जवाफदेही रहने छु ।’
कोइरालाले आफूसँग दृढ संकल्पसहितको योजनाहरु रहेको स्पष्ट पारेका छन् । उनले योजनालाई कार्यान्वयन गर्ने गराउने हैसियत र इमान्दारिता आफूसँग रहेको दावी समेत गरे । राजनीति समग्र समाज र राष्ट्रको हितका लागि गरिनु पर्छ भन्ने मान्यता बोकेका कोइरालाले समग्र समाज र राष्ट्रको हितको लागि कर्म गर्न कुनै झण्डा बोकिरहन नपर्ने जिकिर गरे । गुनासो गरेर होइन, आफ्नो भूमिका आफैँ खोजेर समाजका लागि निरन्तर लागिरहनु नै आफ्नो आजसम्मको अभ्यास र भोलिको उद्देश्य रहेको पनि उनको भनाई थियो ।
स्वतन्त्र रुपमा उमेद्वारी घोषणा गरेको दुई दिनमा नै सामाजिक सञ्जाल र महानगरपालिका भरी चर्चाको पात्र बनेका कोइरालाले स्वतन्त्र नेताले मात्र समाजको आवाज बोल्ने दृढ विश्वास व्यक्त गरे । तत्कालिन लेखनाथ नगरपालिकाको बेगनासतालमा जन्मिएका कोइराला भने पोखरामा हुर्किए । लेखनाथ र पोखरासँग उस्तै सम्बन्ध र आत्मियता बोकेका कोइरालाले समग्र महानगरपालिकाको विकासका लागि आफ्ना एजेण्डाहरु स्पष्ट रुपमा सामाजिक सञ्जालहरुमा राखिरहेका छन् ।
३८ बर्षीय कोइराला युवाहरु माझ लोकप्रिय व्यक्ति हुन् । २०५८ सालताका पोखरामा भर्खरैं एफएम रेडियोको चहलपहल शुरु हुँदा फ्रिक स्टेशन र राइजिङ युथ कार्यक्रमबाट पोखरेली युवाहरुमा कोइराला निकै लोकप्रिय थिए । उनले सामाजिक तथा राजनीतिक परिवर्तन, सामाजिक सुरक्षा, समृद्धि एवम् न्यायका लागि आमसञ्चारको महत्व बुझेर पोखराबाट हेरालो साप्ताहिक पत्रिकाको प्रकाशन गरी चर्चा बटुल्न समेत सफल भएका थिए । उनले सामाजिक विसंगति, भ्रष्टाचार एवम् गलत क्रियाकलापहरुका विरुद्धमा सधै सशक्त ढंगले आवाज उठाई रहे ।
पर्यटन व्यवसायको अनुभव भएका कारण उपमेयरका उमेद्वार कोइरालालाई पोखराको पर्यटन सम्बन्धि बृहत्तर ज्ञान समेत रहेको छ । स्वावलम्बन र स्वाभिमानी स्वभावका कोइराला एक सफल उद्यमी, व्यवसायी र आध्यात्मिक व्यक्तित्व हुन् । उनले अध्यात्मप्रतिको समर्पणका कारण ब्रह्मयोग पीठको पनि सञ्चालन गरेका छन् ।
नेपाल प्रहरी स्कुलको कठोर अनुशासनमा रहेर शैक्षिक जीवन अगाडि बढाएका कोइराला अनुशासित र इमान्दार व्यक्तित्व समेत हुन् । कोइराला परिवारको राजनीतिक पृष्ठभूमि र प्रजातान्त्रिक आन्दोलनका अगुवाहरुसँग बाल्यकालमै परिचित कोइरालाले विश्वविद्यालयको औपचारिक शिक्षा पुरा गरेका छन् । मृदुभाषी, सरल र घुलनशिल क्षमता भएका उनी स्पष्टवक्ता, तार्किक र अध्ययनशिल पनि छन् । आफ्नो सोंच, सपना र दृष्टिकोणलाई जबरजस्त स्थापित गर्ने हठी शैलीका कारण उनलाई सारा पोखरेलीहरुले उपमेयरमा जिताउनु पर्ने धारणा व्यक्त गरेका हुन् ।
उपमेयरका प्रबल दावेदार कोइराला स्वार्थका सिमारेखाबाट माथि उठेका उनी रहरलाग्दा, भरोसालाग्दा र आशालाग्दा व्यक्तित्व हुन् । उनले पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा पोखरेली जनतासमक्ष ठोस एजेन्डासहित उभिएका छन् ।
उनले आफ्नो उमेद्वारी किन भन्नेमा निम्न एजेण्डाहरु प्रस्तुत गरेका छन्

१ पिउने पानीको मुहान स्वच्छ गरी नगरवासीलाई उपचारसहितको शुद्ध पिउने पानी उपलब्ध गराउनु,
२ छरपष्ट बिजुली, टेलिफोन र केबलका तार भूमिगत गरी व्यवस्थित गर्नु
३ सेवाग्राहीका समस्याहरुलाई समयमै समाधान एवम् सम्बोधन गर्नु
४ पोखराको सुन्दरतामा सुशासन थप्नु
५ पोखराको यातायात सञ्जाललाई व्यवस्थित गर्नु्
६ पर्यटनमा योगा र ध्यानको आयाम थप्नु
७ सम्पदा संरक्षण र सांस्कृतिक पक्षको जर्गेना गर्नु
८ नगरभित्रका सरकारी विद्यालयलाई सबलीकरण एवम् सशक्तिकरण गर्नु
९ विकासका मुद्दामा पहल र पैरवी गर्नु
१० यस महानगरपालिका भित्र विदेशी कामदारलाई श्रमस्वीकृति अनिवार्य गर्नु
११ हरेक वडामा योगा र स्पोर्टस क्लब स्थापना गर्नु
१२ नगरक्षेत्रमा फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाउनु
१३ वडातहमा सामुदायिक बहुउद्देश्यीय भवन बनाउनु
१४ अध्ययन संस्कृतिलाई बढावा दिन हरेक वडामा आधुनिक पुस्तकालय स्थापना गर्नु
१५ पोखरालाई सुकुम्वासीविहिन नगरका रुपमा स्थापित गर्नु, हाल भएका सुकुम्वासीलाई व्यवस्थित बसोबासमा रुपान्तरण गर्नु
१६ वडास्तरमा युवावर्गलाई लक्षित गरी निःशुल्क सिपमूलक तालिमको आयोजना गर्नु
१७ शहरलाई सुरक्षित बनाउनु
१८ पोखरालाई बस्न व्यवस्थित, देख्न सुन्दर र हेर्न लोभलाग्दो शहर बनाउनु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *